PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

किन बढिरहेको छ केही दिनयता उपत्यकाका सडकमा सवारीको चाप?



पहिलोपोस्ट

किन बढिरहेको छ केही दिनयता उपत्यकाका सडकमा सवारीको चाप?

काठमाडौं : काठमाडौं उपत्यकाभित्र संक्रमित थपिने दर बढ्दो छ। स्थानीय प्रशासनले कोरोना नियन्त्रणका लागि भन्दै निषेधाज्ञा गरेको १७ दिन बढी भइसकेको छ। काठमाडौं उपत्यकाभित्र निषेधाज्ञाको सुरुका दिनमा केही खाली देखिएका सडकमा पछिल्ला दिन भने सवारीको चाप बढ्न थालेको छ।

काठमाडौं उपत्यकाभित्र महानगरीय ट्राफिक प्रहरी महाशाखाले ६५ भन्दा बढी स्थानमा चेक प्वाइन्ट राखेर सवारी चेक गरिरहेको छ। त्यस्तै महानगरी प्रहरी परिसरको टोलीले पनि चेकिङ गरिरहेको हुन्छ। तर, पनि पछिल्लो केही दिनमा सवारीको चाप बढेको देखिन्छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले गरेको कारबाहीको सङ्ख्याले पनि केही दिनयता अनावश्यकरुपमा हिँड्ने सङ्ख्या बढेको देखिन्छ।

सोमबार दिनभर प्रहरीले २ हजार १ सय ६० वटा सवारी नियन्त्रणमा लिएको थियो। जसमा ६६८ वटा चार पाङ्ग्रे र बाँकी  १ हजार ४ सय ९२ वटा दुई पाङ्ग्रे थिए। आइतवार भने कारबाहीमा पर्ने सवारीको सङ्ख्या १ हजार ५ सय १ वटा मात्र थियो।

त्यस्तै, शनिवार १ हजार ७ सय ४० वटा सवारी नियन्त्रणमा लिइएको थियो। सरकारले आइतवार विभिन्न स्थानमा कोरोना संक्रमण विरुद्धको खोप लगाइरहेको छ। त्यसले गर्दा पनि सडकमा मानिसको चाप देखिएको हुनसक्ने प्रहरीको अनुमान छ।

'हाम्रो टोली सक्रिय भएर नै चेक गरिरहेको छ। कतिपय अवस्थामा मानिसको आवश्यक काममा निस्किएको हो वा होइन भन्ने छुट्याउन समेत हामीलाई गाह्रो हुन्छ,' महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनकराज भट्टराईले भने।

मानिसको मृत्यु भएपछि काजक्रियामा हिँडेको, कोरोना संक्रमण भएर चेक गर्न निस्किएको, बिरामी भएर उपचार गर्न हिँडेको भन्दै जवाफ दिनेहरूको केसमा सुरक्षाकर्मीलाई छुटाउन ग्राहो भएको देखिएको छ। धेरै जसो मानिस यस्ता काम परेर निस्किए पनि केही मानिस बहाना देखाएर हिँड्ने समेत गरेको भेटिएको प्रहरीले जानकारी दिएको छ।

'हामीले नियन्त्रणमा लिएका धेरै सवारी साधनका चालक अनावश्यक रूपमा नै हिँडेको देखिएपछि सवारी नियन्त्रणमा लिने गरेका हौँ,' एसएसपी भट्टराइले भने।

त्यस्तै, प्रहरीले सवारी लिएर मात्र होइन अनावश्यक रूपमा हिँड्ने मानिसलाई समेत नियन्त्रणमा लिने गरेको छ। काठमाडौं उपत्यकाबाट दैनिक १५ सय भन्दा बढी मानिसलाई प्रहरीले नियन्त्रणमा लिने गरेको छ। काठमाडौं उपत्यकाभित्र संक्रमण फैलिने दर अन्य जिल्लाहरूको तुलनामा बढी छ। त्यसैले पनि यहाँ सुरक्षा सावधानी अपनाउन पनि उतिकै जरुरी देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell