PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

अन्तत: फुटबाट जोगियो जसपा, महन्थ र उपेन्द्रको संयुक्त विज्ञप्ति, सरकारमा सहभागी नहुने तर पाए नेतृत्व गर्न तयार



पहिलोपोस्ट

अन्तत: फुटबाट जोगियो जसपा, महन्थ र उपेन्द्रको संयुक्त विज्ञप्ति, सरकारमा सहभागी नहुने तर पाए नेतृत्व गर्न तयार

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटबाट जोगिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मत, लुम्बिनी प्रदेशमा सांसद कारवाही, संसदीय दलको नेता चयन प्रकरणले विभाजनउन्मुख जसपामा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव बिच भएका पछिल्ला वार्तामा पार्टीलाई एकतावद्ध बनाउने सहमति भएको हो।

जसपामा दुई समूह बिच धुव्रिकरण भने प्रतिनिधिसभा विघटनपछि नै देखिएको थियो। करिब ६ महिनापछि ठाकुर र यादव एक ठाउँमा उभिएका हुन्। 

सहमति जुटेसँगै मंगलवार ठाकुर र यादवले संयुक्त विज्ञप्ति जारी गरेका छन्। विज्ञप्तिमा पार्टीभित्रका गतिविधिहरू पार्टीको विधान, विधि, प्रक्रिया र संगठनात्मक कार्य प्रणाली अनुरूप हुने गरी गर्ने उल्लेख छ।

त्यसैगरी, दुई अध्यक्षले पार्टी तत्काल सरकारमा सहभागी नहुने र प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने, पार्टीको नीति र निर्णय यथावत कायम रहने सहमति गरेका छन्। तर, राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृतवमा सरकार बन्ने अवसर प्राप्त हुनासक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिने दुई अध्यक्षको निष्कर्ष छ।

दुई अध्यक्ष बिच समायोजन हुन नसकेका विभिन्न स्तरका पार्टी संगठन, भातृ संगठन लगायत संगठनहरूको समायोजन सम्बन्धी कार्यलाई पार्टी विधान, समायोजन सम्बन्धी निर्देशिका र पार्टीले गरेको निर्णयहरूको आधारमा यथाशिघ्र सम्पन्न गर्दै एकतावद्ध, अनुशासित एवम् सदृढ़ पार्टी संगठन निर्माण गर्ने सहमति पनि भएको छ।

पार्टीमा उत्पन्न भएका समस्याहरूलाई आफू संगठित रहेको पार्टी संगठनभित्र छलफल गरी पार्टी विधान अन्तरगत रहेर नै समस्याहरूको समाधान गर्ने सहमति पनि भएको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा दुई अध्यक्षले आफ्नो पार्टीलाई संघीयता, लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, धर्मनिरपेक्षता, जातीय, वर्गीय, लैङ्गिक विभेद र असमानतालाई अन्त्य गरी समानता, स्वतन्त्रता, सामाजिक न्याय र समाजवाद सहितको लक्ष्य प्राप्तिका लागि मुलुकमा नयाँ बैकल्पिक लोकतान्त्रिक राजनीतिक शक्तिको रुपमा चित्रित गरेका छन्।

साथै गुट-उपगुट खडा गर्ने, पार्टीभित्र गुटबन्दी गरी अराजक क्रियाकलाप गर्दै आ-आफ्नो पक्ष खडा गरी सञ्चार माध्ययममा गैर-राजनीतिक, गैर-जिम्मेवार अभिव्यक्तिहरू लगायत पार्टी एकता, अनुशासन, आचार संहिता एवम् पार्टी कार्यपद्धतिका प्रतिकुल रहेका कार्य, अभिव्यक्ति एवम् गतिविधिलाई तुरुन्त बन्द गर्नुपर्ने निष्कर्ष निकालेका छन्।

‘पार्टीभित्र कसैले व्यक्तिगत स्वार्थ सिद्ध गर्नका लागि गुटबन्दी गर्ने, गुट-उपगुट खडा गर्ने, पार्टी नेताहरूका विरुद्ध अनेकौं भ्रम फैलाउने, विखण्डन र विभाजनकारी भूमिका खेल्न खोज्ने कियाकलाप, विचार प्रकृतिहरूलाई अन्त्य गरी पार्टीलाई एकताबद्ध राख्नु पर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

त्यसैगरी, दुई अध्यक्षले पार्टी एकतालाई अझ सुदृढ गरी यसलाई बलियो बनाउन सम्पूर्ण पार्टी नेतृत्व वर्ग, पार्टी सदस्यहरू, शुभचिन्तक एवम् शुभेच्छुकहरूमा संयुक्त अनुरोध समेत गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell