PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सधैँ हसाउने सन्दीप क्षेत्री किन रोए? किन रुवाए?



लक्ष्मी बलायर

सधैँ हसाउने सन्दीप क्षेत्री किन रोए? किन रुवाए?

एक मानिस बिरामी कुरुवा हुन्छन्। उनकी श्रीमतीलाई कोरोना भाइरसको संक्रमण भएको हुन्छ। तिनै श्रीमतीलाई अस्पतालको चिसो भुँइमा राखेर उपचार गरेकोदेखि अक्सिजन अभावसम्मका कुरा। कुरैकुरामा दर्शन्छ उनीहरूबिचको प्रेम। ती पुरुष भावुक हुँदै सुनाउँछन्, श्रीमतीलाई ठीक भएपछि धरहरा घुमाउने इच्छा। सँगै प्रश्न पनि गर्छन् - धरहरा र रानीपोखरी कति राम्रो बनाउन सक्ने सरकारले अस्पताल किन राम्रो बनाउन सकेन?

यी दृश्य र संवादसहितको भिडियो अहिले भाइरल छ। भिडियोमा देखिएका छन् सन्दीप क्षेत्री। अन्य प्रसङ्गको भिडियो होइन यो। क्षेत्रीकै हाँस्य कार्यक्रम 'ह्वाट् द फ्लपको' हो। अन्य समय हँसाउने कार्यक्रमकमार्फत् यस पटक आफू रोए र अरुलाई पनि रुवाए सन्दीपले। किनकि यो कार्यक्रमको एउटा अंशको विषयवस्तु होइन, हाल समग्र नेपालीले भोगिरहेको अवस्था हो।

आम मानिसले महसुस गरे र त उक्त क्लिप सामाजिक सञ्जालदेखि टिकटकमा छाएको छ। सधैँ अरुलाई हसाउने सन्दीप क्षेत्री यो पटक किन रोजे त आँशु?

अहिलेको समसामयिक विषय र यथार्थ घटनालाई टिपेर उक्त भिडियो बनाएको बताउँछन् उनी। कोरोनाको कारण नजिकका साथीभाइ र आफन्त गुमाउनुको पीडा। डाक्टर साथीहरूले गरेको, अक्सिजन पाए अझै धेरै बिरामी बचाउन सकिने कुरा। सामाजिक सञ्जाल र सञ्चार माध्यममा देखिएका अभाव र चित्कार, घर छेउछाउमा भएका घटनाहरूले मन पोलेछ उनको। त्यसैले आफू प्रतिनिधि बनेर बोले अभाव र पीडाबाट गुज्रिरहेका हजारौंको भाषा।

सरकारलाई प्रश्न र आम मानिसमा जनचेतना फैलियोस् भन्ने उद्देश्यले भिडियो बनाएको सुनाउँछन्। 'अहिलेको अवस्थालाई सरकारसँग सम्बन्धित गरेर भिडियो बनाएको हुँ। हँसाउन र रुवाउन पनि मन छुनुपर्छ। समय सान्दर्भिक अवस्था भएर यसले धेरैको मन छोएको हो। खासमा सरकारलाई पनि यो अवस्था छ है भनेर हेर्नुहोस् भन्न खोजेको हुँ,' उनले बताए।

अक्सिजन अभावमा एउटा बिरामीले ज्यान गुमाउन बाध्य हुनुलाई लाजमर्दो अवस्थाको संज्ञा दिन्छन् उनी।

आफू पनि यो महामारीबाट निकै प्रभावित भएको सुनाउँछन् उनी। आइतवार मात्रै उनको मिल्ने साथीले श्रीमती गुमाउनु पर्‍यो। कोरोना भाइरस संक्रमणकै कारण। यतिबेला उनलाई एउटा कलाकारभन्दा पर मान्छेको हिसाबले दुखेको रहेछ।

त्यसैले उनलाई यस पीडाबाट बाहिर निस्किएर मान्छेलाई हँसाउन गाह्रो भइरहेको छ। तर पनि उनी सामान्य दैनिकीमा फर्कन कोसिस गरिरहेका छन्। 'अहिले हाँसो निकै जरुरी छ। सबैभन्दा ठुलो हिम्मत र आँट हो भनेर सबैलाई भन्नु जरुरी छ। तर, यथार्थबाट भाग्ने स्थिति छैन,' उनले भने,'तर अहिले अवस्था निकै संवेदनशील छ। ज्यानसँग सम्बन्धित छ। हाँसो गर्दा पनि धेरै चिज विचार गर्नुपर्छ।'

यो खराब समय एकदिन सकिएर जाने भएकाले सबैले धेर्यधारण गर्न आवश्यक रहेको उनी बताउँछन्। मन परेको मान्छेसँग गफ गर्नु, परिवारसँग समय बिताउनु र आफूलाई व्यस्त राख्नु उचित उपाय हुने सुझाउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell