PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

महन्थ र उपेन्द्रबिच सहमति भएको १० घण्टा नवित्दै जसपामा राजेन्द्र महतोलाई लिएर फेरि लफडा



पहिलोपोस्ट

महन्थ र उपेन्द्रबिच सहमति भएको १० घण्टा नवित्दै जसपामा राजेन्द्र महतोलाई लिएर फेरि लफडा

काठमाडौं: अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबिच सहमति भएको १० घण्टा नवित्‍दै जनता समाजवादी पार्टी (जसपा) नेपालमा लफडा सुरु भएको छ। संसदीय दलको नेता (राजेन्द्र महतो) चयनको विषयलाई लिएर दुबै अध्यक्ष एक अर्काको काउन्टरमा उत्रिएका छन्। 

अध्यक्ष ठाकुरको हस्ताक्षर रहेको पत्र संघीय संसद सचिवालयमा दर्ता भई सार्वजनिक भएपछि अध्यक्ष यादवले पनि सचिवालयमा पत्र पठाएर  कसैलाई पनि संसदीय दलको नेता नचुनेको भन्दै काउन्टर दिएका छन्। 

संघीय संसद सचिवालयलाई पत्र पठाउँदै अध्यक्ष यादवले दलको नेता चुनेको भनि दिएका जानकारीलाई मान्यता नदिन अनुरोध गरेका छन्।

अध्यक्ष महन्थ ठाकुरले वरिष्ठ नेता राजेन्द्र महतोलाई दलको नेता चुनेको जानकारी सचिवालयलाई दिएर सचिवालयले मान्यतासमेत दिइसकेका बेला उपेन्द्रले संसद सचिवालयका महासचिवलाई लेखेको पत्र सार्वजनिक भएको हो।

पत्रमा जेठ २ को मिति छ। पत्र कहिले पठाएको भन्ने खुलेको छैन। तर अध्यक्ष यादवले विभिन्न सञ्चारमाध्यमसँगको कुराकानी महन्थको पत्र आधिकारिक होइन भने सचिवालयमा पत्र पठाएको प्रतिक्रिया दिएका छन्। महन्थको पत्रमा भने जेठ ४ अर्थात आजकै मिति उल्लेख छ।

उपेन्द्रको पत्रमा पार्टीको अन्तरिम विधान-२०७७ को धारा २८ को उपधारा (२) अनुसार हालसम्म पार्टीको संसदीय दलको विधान नबनेको र केन्द्रीय कार्यकारिणी समितिबाट अनुमोदन पनि नभएकाले दलको नेता चयन हुनैनसक्ने उल्लेख गरिएको छ।

‘तसर्थः हाम्रो पार्टीको संघीय संसदीय दलको बैठक बसी नेता चयन भएको भनी केही सन्चार माध्ययमहरूमा भमपूर्ण प्रचार भएकाले संसदीय दलको विधान समेत पारित नभएको अवस्थामा कसैले संसदीय दलको नेता चयन भएको भनी सचिवालयमा जानकारी दिएको भए त्यस्ता अवैधानिक कार्यलाई मान्यता प्रदान नगर्न हुन अनुरोध गर्दछौं,’ पत्रमा भनिएको छ।

यसअघि अध्यक्ष ठाकुरले पनि संसद सचिवालयका महासचिवलाई पठाएको पत्रमा वैशाख ३० गतेको संसदीय दलको बैठकले महतोलाई दलको नेता नियुक्त गरेको जानकारी गराएका छन्। महन्थ-राजेन्द्र समूहको बैठकले महतोलाई दलको नेता नियुक्त गरेको थियो। 

संसद सचिवालयमा १३७९ नम्बरमा दर्ता भएको पत्रमा भनिएको छ, ‘वैशाख ३० गते बसेको जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठकले संघीय संसदीय दलको विधान-२०७७ अनुसार संसदीय दलको नेतामा मा. राजेन्द्र महतोलाई निर्वाचित गरेको व्यहोरा जानकारी गराइन्छ।’ पत्रसँगै संसदीय दलको विधान, संसदीय दलको बैठकको माइन्युटको प्रतिलिपि पनि सचिवालयलाई उपलब्ध गराइएको थियो।

१० घण्टा नवित्दै लफडा सुरु

यसअघि दुई अध्यक्षबिच सहमति भई आज विहानमात्रै दुबैले हस्ताक्षर गरेर संयुक्त विज्ञप्ति जारी गरेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मत, लुम्बिनी प्रदेशमा सांसद कारवाही, संसदीय दलको नेता चयन प्रकरणले फुटको संघारमा पुगेको जसपामा अध्यक्षद्वय ठाकुर र यादव बिच पार्टीलाई एकतावद्ध बनाउने सहमति भएर संयुक्त विज्ञप्ति जारी गरेका हुन्। यसले कार्यकर्ता आशा पलाएको थियो। तर संसदीय दलको नेता चयनको विषयलाई लिएर फेरि विवाद चर्किएको छ। 

अब यसको छिनोफानो जेठ ८/९ गते बोलाइएको केन्द्रीय कार्यकारिणी समिति बैठकमा हुने बताइएको छ। नेताहरुका अनुसार गत वर्ष राजपा र समाजवादी एकता हुँदा महतोलाई संसदीय दलको नेता बनाउने भद्र सहमति भएको थियो। तर संयुक्त दलको बैठक बस्न नसकेर चयन हुसन नसकेका बेला महन्थ पक्षले बहुमतको बलमा नियुक्त गरेपछि विवाद बढेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell