PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

वीरगंजमा चार जिल्लाका थप ७ जना कोरोना संक्रमितको मृत्यु



पहिलोपोस्ट

वीरगंजमा चार जिल्लाका थप ७ जना कोरोना संक्रमितको मृत्यु

वीरगंज : वीरगंजमा थप ७ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साका २, बाराका ३, रौतहटका १ र सर्लाहीका १ जना गरी ७ जना रहेका छन्। जसमध्ये ४ जनाको नारायणीमा, २ जनाको भवानी अस्पतालमा र एक जनाको वीरगंज हेल्थकेयरमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ।

३ जना महिला र ४ जना पुरुषको मृत्यु भएको हो। उनीहरुको उमेर ४१ वर्षदेखि ७० वर्षसम्म रहेको विभिन्न अस्पतालको तथ्यांकहरुले देखाएको छ। सबैको मृत्यु कोभिड निमोनियको कारण दुवै फोक्सो खराब भएर श्वासप्रश्वासमा समस्या आउँदा भएको चिकित्सकहरुले जनाएका छन्।

वीरगंजको भवानी अस्पताल लिंकराडमा सोमवार ७० वर्षीय वृद्धको र मंगलवार ५२ वर्षीय महिलाको मृत्यु भएको छ। पर्साको सुखवाप्रसौनी गाउँपालिकाका ७० वर्षीय वृद्धलाई ३० बैशाखमा अस्पताल भर्ना गरी २ जेठमा पीसीआर विधिबाट कोरोना संक्रमण पुष्टि भएको थियो भने वीरगंज-१५ की ५२ वर्षीया महिलालाई १७ गते अस्पताल भर्ना गरी एन्टिजिन विधिबाट कोरोना संक्रमण पुष्टि भएको थियो।

त्यसैगरी, वीरगंज हेल्थकेयर अस्पतालमा सोमवार साँझ कोल्हभी-११ का ५८ वर्षीय पुरुषको मृत्यु भएको थियो। उनलाई २६ गते अस्पताल भर्ना गरी सोही दिन एन्टिजिन विधिबाट कोरोना संक्रमण पुष्टि भएको थियो। नारायणी अस्पतालमा १ जेठमा अस्पताल भर्ना भई २ गते पीसीआर पोजेटिभ अएकी सर्लाहीको लालबन्दी ४ की ४४ वर्षीया संक्रमित महिलाको सोमवार मृत्यु भएको थियो।

त्यस्तै, बाराको कलैया-२४ की ५५ वर्षीया महिलाको सोमवार साँझ मृत्यु भएको थियो भने उनलाई सोमवार नै अस्पताल भर्ना गरी एन्टिजिनबाट पोजेटिभ देखिएकी थिइन्। बैशाख २० गते नारायणीमा भर्ना भई सोही दिन एन्टिजिनबाट पोजेटिभ देखिएका बाराको प्रसौनी गाउँपालिका-२ का ४१ वर्षीय पुरुषको मंगलवार बिहान मृत्यु भएको छ।

त्यस्तै, २८ बैशाखमा नारायणीमा भर्ना भई सोही दिन एन्टिजिनबाट कोरोना संक्रमण पुष्टि भएका रौतहटको राजपुर नगरपालिका-१ बहुअर्वाका ६० वर्षीय वृद्धको मंगलवार बिहान मृत्यु भएको नारायणी अस्पतालका कोभिड फोकल पर्सन डा सरोजरोशन दासले जानकारी दिए।

संक्रमण घट्यो

वीरगंजमा पछिल्लो समय कोरोना संक्रमणको ग्राफ घट्दो क्रममा गइरहेको छ। दैनिक ७० प्रतिशतभन्दा बढिमा कोरोना संक्रमण पुष्टि हुने वीरगंजमा सोमवार गरिएको परीक्षणमा ३३ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएकोले राहत दिएको चिकित्सकहरुले बताएका छन्।

नारायणी अस्पताल पीसीआर प्रयोगशालाका अनुसार २८८ जनाको नमुना परीक्षणबाट ९५ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ। १४ देखि ८३ वर्ष उमेर समूहका ६७ पुरुष र २८ पुरुष गरी कुल ९५ जनामा पर्साका ५८, बाराका २१, रौतहटका ९ र सर्लाहीका ७ गरी कुल ९५ जना रहेको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell