कैलाली : कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मंगलवार ३ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ५ सय ९ नमुना परीक्षण गर्दा ३ सय ३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार धनगढीका १ सय १ जना तथा धनगढीबाहेक कैलालीका ८१ जना र अन्य जिल्लाका ३७ जनामा संक्रमण पुष्टि भएको हो। हाल अस्पतालमा १ सय २२ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए।
जसमध्ये १६ जना आइसीयूमा, १ सय १ जना अक्सिजन सपोर्टमा उपचाररत छन् भने ५ जनाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट ६ जना कोरोनामुक्त भएका छन् भने थप ८ जना अस्पतालमा भर्ना भएका छन्।
यस्तै, पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ। ४ जना कैलालीका तथा कञ्चनपुर र डोटीका १/१ जनाको मृत्यु भएको श्रेष्ठले बताए।
