PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

पूर्व प्रहरी महानिरीक्षक खड्गजीत बरालको मृत्यु, सीमा सुरक्षामा थियो योगदान



पहिलोपोस्ट

पूर्व प्रहरी महानिरीक्षक खड्गजीत बरालको मृत्यु, सीमा सुरक्षामा थियो योगदान

काठमाडौं : पूर्व प्रहरी महानिरीक्षक खड्गजीत बरालको निधन भएको छ। प्रहरी संगठनको लगातार ६ वर्ष नेतृत्व सम्हालेका उनको आज बिहान आफ्नै निवासमा निधन भएको हो।

४४ वर्षकै उमेरमा प्रहरी महानिरीक्षक बनेका उनलाई स्नातकोत्तर तह उत्तीर्ण गर्ने पहिलो प्रहरी अधिकृत मानिन्छ। सुरक्षामात्र होइन नेपालको खेलकुद क्षेत्रमा पनि उनको योगदान छ। उनले नेपालमा जुडो खेल भित्र्याएका हुन्। जापानबाट प्रशिक्षक झिकाएर नेपालमा यो खेललाई जोड्ने भूमिका उनकै थियो हकी खेलमा पनि उनले योगदान दिएका थिए।

उनी म्यानमारका लागि नेपाली राजदूतका रुपमा पनि जिम्मेवारी सम्हालिसकेका व्यक्ति हुन्। 

नेपालमा पर्वतारोहण र सीमा सुरक्षाको जग बसाल्न बरालको अग्रणी भूमिका थियो। नेपालीहरू विदेशी पर्वतारोहीका भरियामा मात्र सीमित नभई आफैँ पनि आरोहणमा संलग्न हुनुपर्ने उनको चाहना थियो। त्यसैले आईजीपी रहँदा बरालकै अग्रसरतामा नेपाल प्रहरी पर्वतारोही प्रतिष्ठान (नेपाल पुलिस माउन्टेनियरिङ्ग एण्ड एड्भेन्चर फाउन्डेशन) स्थापना भएको थियो। २०३३ सालमा ६ हजार ९ सय २० मिटरको टुकुचे हिमाल र २०३४/३५ सालमा ७ हजार १ सय २ मिटर उचाइको पाबिल हिमाल प्रतिष्ठानकै टोलीद्वारा आरोहण भएको थियो।

नेपालको सीमा दक्षिणतर्फमात्र नभएर उत्तरतर्फ चीनसँग पनि जोडिएको छ भन्ने यथार्थ सरोकारवाला पक्षलाई बारम्बार स्मरण गराउनुका अतिरिक्त नेपालको हिमाली भागमा कानूनको प्रत्याभूति दिलाउने भूमिका समेत उक्त प्रतिष्ठानले खेलेको थियो।

२०२५-२७ सालमा बराल नेपालगन्जमा डीआईजी छँदा उनको अग्रसरतामा नेपाल-भारत सीमामा पहिलो पटक सीमा प्रहरी चौकी स्थापना भएको थियो। २०२९ सालमा उनी प्रहरी प्रमुखमा नियुक्त भएपछि ‘१६ वर्षीय सीमा सुरक्षा प्रहरी चौकी’ को योजना बनाइएको थियो। त्यस योजना अन्तर्गत उनले २०३५ सालको प्रारम्भमा प्रहरीबाट अवकाश पाउनुअघि सम्म नेपाल-चीन सीमामा ताप्लेजुङस्थित ओलाङचुङगोला, संखुवासभाको किमाथांका, सोलुखुम्बुको थ्याङ्गबोचे, गोरखास्थित छेकम्पार, मनाङस्थित हुम्दे, मुस्ताङको लोमान्थाङ, हुम्लाका मुचू र यारी, डोल्पाको तिन्जे र मुगुमा सीमा प्रहरी चौकीहरू स्थापना भएका थिए।

त्यस्तै, नेपाल-भारत सीमामा दार्चुलाको दत्तु, डोटीको साँगडी, महोत्तरीको कट्टीकटैया, सर्लाहीको संग्रामपुर, कपिलवस्तुको कृष्णनगर, झापाको काँकडभिट्टा, इलामका पशुपतिनगर र मानेभञ्ज्याङ (दार्जिलिङ नजिक), भैरहवाको बेलहिया र दुवै नेपाल-भारत र नेपाल-चीन सीमा हेर्ने दार्चुलाको तिङकर सहित २० ठाउँमा सीमा प्रहरी चौकीहरू स्थापना भएका थिए।

२०३० सालमा उनले प्रहरीमा राशनको व्यवस्था लागू गरेका थिए। २०३३ सालमा नेपाल प्रहरीका लागि नि:शुल्क पोशाकको व्यवस्था उनकै नेतृत्वमा भएको थियो। नेपाल प्रहरीमा गाँस (राशन), बास (भवन) र कपास (पोशाक) को व्यवस्थालाई उनले स्थापित गरेका थिए। 

प्रहरीमा उनको योगदान बुझेकाहरु उनलाई 'प्रहरीका पिता' भनेर सम्बोधन गर्छन्। मधेशका नागरिकलाई प्रहरीमा भर्ती उनकै कार्यकालमा सुरु भएको हो।

म्यानमारमा राजदूतका रुपमा २०३६ सालदेखि २०४२ सालसम्म कार्यरत रहँदा नेपाली भाषा र संस्कृति प्रवर्द्धनमा उनको योगदान थियो। म्यानमारमा भानु जयन्ती मनाउने परम्परा उनैले बसाएको मानिन्छ।

९३ वर्षका बरालको आजै अन्त्यष्टि हुने परिवारले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell