PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

होम आइसोलेसनमै ज्यान जाने जोखिम ! व्यवस्थित नहुँदा डढेलो झै सल्किँदै संक्रमण



पी बी खड्का

होम आइसोलेसनमै ज्यान जाने जोखिम ! व्यवस्थित नहुँदा डढेलो झै सल्किँदै संक्रमण

सुर्खेत : सल्यानको सिद्धकुमाख गाउँपालिका–२ की ४१ वर्षीया महिलामा वैशाख तेस्रो साता कोरोना भाइरस संक्रमण पुष्टि भयो। संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेकी उनमा सामान्य लक्षण देखिएको थियो। स्वास्थ्य संस्थाहरुमा लक्षणसहितको जटिल प्रकृतिको विरामीबाहेक अन्य विरामीलाई भर्ना नलिने भएकाले उनी घरमै बस्न बाध्य थिइन्। घरमा बसिरहेकी ती महिलामा अचानक श्वासप्रश्वासमा समस्या देखियो। घरपरिवारका सदस्यले फेरि स्वास्थ्य संस्था पुर्‍याउने तयारीमा लाग्दालाग्दै ओछ्यानमै श्वासप्रश्वास रोकियो। घरमै मृत्यु भयो उनको।

‌‌‌+++

गुर्भाकोट नगरपालिका–६ का ४३ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भयो। संक्रमण पुष्टि भएपछि एक हप्ता होम आइसोलेसनमा बसेका उनको विस्तारै स्वास्थ्य अवस्था बिग्रिँदै गयो। नजिकै रहेको सरकारी हस्पिटलमा पुगे उनी। तर, अवस्था गम्भीर भएको भन्दै प्रदेश अस्पताल सुर्खेतमा रेफर गरियो। प्रदेश अस्पताल पुगेर सामान्य उपचार सुरु नहुँदै उनको पनि मृत्यु भयो।

‌‌‌+++

वीरेन्द्रनगर–६ स्थित एक शिक्षिकालाई संक्रमण पुष्टि भयो। संक्रमण पुष्टि भएदेखि उनी सावधानी अपनाउँदै होम आइसोलेसनमा बसिन्। १८ दिनको होम आइसोलेसनपछि जेनतेन उनी संक्रमण मुक्त त बनिन्। तर, घरका सबै सदस्यमा संक्रमण भएको पुष्टि भयो। उनको पाँच जनाको परिवार अहिले सबै होम आइसोलेसनमा छन्। ‘१८ दिन होम आइसोलेसन बसेर आफू निस्किएँ,’ ती शिक्षिका भन्छिन्, ‘अहिले फेरि सबै परिवारमा संक्रमण देखिएको छ, सबै घरमै होम आइसोलसनमा बस्नु भएको छ।’

‌‌‌+++

यी हुन् कर्णालीमा भइरहेका प्रतिनिधिमूलक घटना। परीक्षण गराएर कोरोना रिपोर्ट पोजिटिभ आएकाहरुमध्ये कर्णालीका गम्भीर बिरामीबाहेक प्रायः होम आइसोलेसनमा छन्। उनीहरुबाटै घरका अन्य सदस्य र समुदायमा कोरोना भाइरस संक्रमण बढ्दो छ। होम आइसोलेसनमा बस्नेहरुबाट जोखिम मात्रै बढेको छैन, मृत्युसम्मका घटना हुन पुगेका छन्।

सरकारी तवरबाट आइसोलेसन निर्माण नगरेपछि संक्रमण पुष्टि भएकामध्ये अधिकांश गरिब विपन्न र घर भाडामा बस्नेहरु मर्कामा छन्। पर्याप्त ठाउँको अभाव, पानी तथा शौचालयको छुट्टै व्यवस्था नभएका कारण एकै परिवारका अन्य सदस्य वा छरछिमेकमा भाइरस सर्ने क्रम बढिरहेको छ। होम आइसोलेसनमै बसेकाहरुको अवस्था एकाएक जटिल बन्ने हुँदा कतिपयको मृत्यु भइरहेको छ। होम आइसोलेसन वा घरभाडामा बस्नेहरुबाटै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नहुँदा परिवारका सदस्य र छरछिमेकमा संक्रमणको जोखिम बढेको छ।

‘होम आइसोलेसनमा बस्ने व्यक्तिबाट स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नहुनु, त्यो भनेको सबैको घरमा पर्याप्त ठाउँ, संक्रमितले प्रयोग गर्ने अलग्गै पानी तथा शौचालय नहुनु लगायतका समस्या छन्,’ प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्का भन्छन्, ‘अनुशासन पालन हुन नसक्दा नै घरपरिवार र छरछिमेकमा संक्रमण बढ्ने त भइहाल्यो, जसले स्वास्थ्यको ख्याल गरेन भने मृत्युका अप्रिय घटना पनि हुनसक्छन्।’

संक्रमण बढ्दै गइरहेकाले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नुपर्ने र सावधानी अपनाउनुपर्ने उनको सुझाव छ।

अझै पनि प्रदेशमा पाँच हजार दुई सय बढी संक्रमित होम आइसोलेसनमा बसिरहेका छन्। जटिल र गम्भीर प्रकृतिका विरामी मात्रै अस्पतालमा उपचारका लागि भर्ना गरिन्छन् भने बाँकी होम आइसोलेसनमै बस्न बाध्य छन्। अस्पताल भर्ना भएका अधिकांश विरामी आईसीयूमा राख्नुपर्ने अवस्था छ।

‘पुष्टि भएका सबैलाई छुट्टै आइसोलेसनमा राख्ने व्यवस्था गर्न सके संक्रमण फैलिन पाउने थिएन, अहिले त घरपरिवार, छरछिमेक सबैतिर आउजाउ गर्ने भइरहेको यसले गर्दा पनि थप संक्रमण फैलिएको छ,’ डाक्टर खड्काले भने, ‘अस्पतालमा सिरियस विरामीलाई राख्ने ठाउँ नहुने अवस्था भइसक्यो, त्यसैले स्वयं संक्रमितले र अन्य नागरिकले पनि विशेष ख्याल गर्नुपर्छ। कोरोनासँग मिल्दो जुल्दो लक्षण देखियो भने बेलैमा परीक्षण गराएर सुरक्षित हुनुको विकल्प छैन।’

अस्पतालमा अक्सिजन र शय्या नपाउने अवस्था सिर्जना भइरहेको छ भने संक्रमणसँगै मृत्युदर बढिरहेको छ। वैशाखमा मात्रै सय जना भन्दा बढीको मृत्यु भएकोमा हालसम्म कर्णालीमा एक सय ७० जना बढीको मृत्यु भइसकेको छ।

होम आइसोलेसनमा बस्नेहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णतः पालना गरे परिवारका अन्य सदस्य र समुदायमा संक्रमण फैलिन नसक्ने र संक्रमण पुष्टि भएर होम आइसोलेसनमा बसेका विरामीहरु स्वास्थ्य बिग्रिँदै गए तत्काल चिकित्सकको सल्लाह परामर्श लिनुपर्ने खड्का बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell