काठमाडौं : निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ। वाग्मती प्रदेशबाट प्रतिनिधित्वका लागि भोलि हुने राष्ट्रियसभा उपनिर्वाचनको मौन अवधि सुरु भइसक्दा पनि आचारसंहिता उल्लंघन भइरहेका बेला आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले विज्ञप्ति जारी गरेर आचारसंहिता विपरीत वक्तव्य दिने, विज्ञप्ति निकाल्नेको अभिलेख राखेर कारवाही गरिने जनाएका हुन्।
निर्वाचनमा नेकपा एमालेका तर्फबाट रामबहादुर थापा बादल उम्मेदवार छन् भने विपक्षी गठबन्धनबाट डा खिमलाल देवकोटा उम्मेदवार छन्।एमालेको माधव नेपाल समूहले आफैले विपक्षी गठबन्धनको उम्मेदवार बनाएकाले एमाले उम्मेदवार बादललाई मत दिन नसक्ने जनाएको छ।
यसैक्रममा उम्मेदवार बादलले मंगलवार नेता नेपाललाई कोटेश्वरस्थित निवासमै गएर भेटे भने आज प्रधानमन्त्री केपी शर्मा ओलीले चेतावनीमूलक भाषामा विज्ञप्ति जारी गरे। विपक्षमा उभिएर मत खसाउने कार्य क्षम्य नहुने चेतावनी दिए। प्रधानमन्त्रीले मौन अवधिमा आचारसंहिता उल्लंघन गरेर विज्ञप्ति निकालेको भन्दै आलोचना भइरहेका बेला आयोगको प्रतिक्रिया आएको हो।
ओलीको विज्ञप्ति ।
‘निर्वाचन आचार संहिता विपरितका कार्य गर्ने व्यक्ति वा संस्थालाई आयोगले कानून बमोजिम कारवाही गर्न सक्ने कुरा प्रष्ट गर्दै यसरी आचार संहिता विपरीत कार्य गर्नेको अभिलेख राख्ने व्यहोरा समेत जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ। आयोगले आचारसंहिता एक कानूनी आधार र नैतिक बन्धन पनि भएकोले सोको पालना गरी निर्वाचनलाई निष्पक्ष ढंगबाट सञ्चालन गर्ने कार्यमा सहयोग गर्न पनि अपिल गरेको छ।
आयोगले उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको र निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय ढंगबाट सम्पन्न गर्न प्रतिबद्ध पनि जनाएको छ।
निर्वाचनमा मतदाता कति?
आयोगका प्रवक्ता श्रेष्ठका अनुसार उपनिर्वाचनमा वाग्मती प्रदेश सभा सदस्य ११० जना र वाग्मती प्रदेश अन्तर्गतका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख र उपप्रमुख २३८ गरी ३४८ जना मतदाता रहेको निर्वाचक मण्डलबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम निर्वाचन हुँदैछ।
निर्वाचक मण्डलका सबै मतदाताहरुलाई भोलि बिहान ९ बजेदेखि ३ बजेसम्म हुने मतदानमा सहभागी हुन आयोगले अनुरोध गरेको छ।
हिजोदेखि नै सुरु भयो मौन अवधि
आयोगले निर्वाचन आचारसंहिता अनुसार यहीँ जेठ ३ गते राति १२ बजेपछि निर्वाचनको मौन अवधि सुरु भइसकेको पनि जनाएको छ। मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत् मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने, उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने भएको हुँदा यस्ता आचरणहरु पालना गर्न गराउन पनि आयोगले अनुरोध गरेको छ।
सञ्चार माध्यमप्रति गुनासो
आयोगले केही व्यक्तिहरुले आचारसंहिता विपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने र केही सञ्चार माध्यमहरुले उम्मेदवारको जीत हारको पूर्वानुमानका सामग्रीहरु प्रसार गर्ने तथा विभिन्न व्यक्तिहरुको अन्तर्वार्ता लिनेजस्ता गतिविधिहरु गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
‘निर्वाचनको सिलसिलामा राजनीतिक दल, सार्वजनिक निकाय तथा सञ्चार माध्यम लगायतले पालना गर्नुपर्ने आचार संहिता समेत लागू भइसकेको सन्दर्भमा आचार संहिता विपरीतका यस्ता क्रियाकलापले निर्वाचनको स्वच्छता र विश्वसनीयताप्रति नै आघात पार्ने कुरा स्पष्ट नै छ,’ आयोगले भनेको छ।
एकातर्फ आयोगले निर्वाचन आचार संहिता कडाइका साथ लागू गर्न नसक्ने भनी आलोचना पनि गर्ने र अर्कोतर्फ आफै आचारसंहिता विपरीतका गतिविधिमा संलग्न हुनु कुनै पनि दृष्टिकोणबाट स्वीकार्य नहुने भन्दै सञ्चारमाध्यम र सम्बन्धित पक्षमाथि प्रश्न समेत उठाएको छ।
