PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

भारतबाट आउन थाल्यो लिक्विड अक्सिजनः वीरगंज, भैरहवा र नेपालगंज नाकाबाट भित्रिए लिक्विड अक्सिजन बोकेको बुलेट



राधेश्याम पटेल

भारतबाट आउन थाल्यो लिक्विड अक्सिजनः वीरगंज, भैरहवा र नेपालगंज नाकाबाट भित्रिए लिक्विड अक्सिजन बोकेको बुलेट

वीरगंजः भारतबाट लिक्विड अक्सिजनको बुलेट नेपाल भित्रिएको छ। शंकर ग्यास उद्योगले भारतको झारखण्ड प्रान्तको जमशेदपुरबाट लिक्विड अक्सिजन ल्याएको हो।

यो उद्योगले मात्रै लिक्विड अक्सिजन ल्याएर अस्पताललाई दिने गर्छ। उद्योगसँग दुई वटा मात्रै लिक्विड अक्सिजन बोक्ने बुलेट छ। लिक्विड अक्सिजनको ट्यांक उपत्यकामा ट्रमा सेन्टर र टेकु अस्पतालमा मात्रै छ। बुलेटमा ल्याएको अक्सिजन ट्यांकमा खन्याउन मिल्छ।

वीरगंज नाकाबाट एक साता अघिदेखि लिक्विड अक्सिजनसहितको बुलेट आएको हो। अहिले भैरहवा र नेपालगंज नाकाबाट समेत बुलेट आइरहेको छ।

वीरगंज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलका अनुसार रक्सौल-वीरगंज नाका भएर हालसम्म एउटा सानो र चार वटा ठूलो बुलेट भित्रिएको जानकारी दिए। सानोमा ६ हजार घनमिटर र ठूलोमा साढे १० देखि साढे ११ हजार घनमिटर अक्सिजन हुन्छ।

सानो बुलेटले ५ सयभन्दा बढी ४० लिटरको सिलिन्डर भर्न सकिन्छ भने ठूलो बुलेटबाट ४० लिटरको १५ सय सिलिन्डर भर्न सकिने छ।

एक घनमिटरको मूल्य भारु १६ रुपैयाँ दरमा अक्सिजन खरिद गरी नेपाल ल्याइएको पौडेलले जानकारी दिए। सरकारले हाल नेपालको अवस्थालाई मध्यनजर गर्दै अक्सिजन बुलेट आयातमा भन्सार शुल्क शून्य बनाएको छ।

एउटा बुलेट भित्रिदा जम्मा प्रवेश शुल्क ५६५ रुपैयाँ मात्र लाग्छ। वीरगंज र रक्सौल भन्सारका अधिकारीहरुले सहमति गरेर वीरगंजको पुरानो भन्सार शंकराचार्य नाकाबाट अक्सिजन बुलेटलाई बिना झन्झट आउने बितिकै काठमाडौं पठाउने गरिएको छ। एउटा बुलेट जमशेदपुरबाट काठमाडौं आएर फर्किन करिब पाँच दिन लाग्छ।

देशभर कोरोना संक्रमित थपिएसँगै अहिले अस्पतालमा अक्सिजनको अभाव देखिएको छ। सरकारले चीन, भारत तथा अन्य देशसँग अक्सिजन ल्याउन पहल गरिरहेको छ। त्यस्तै केही निजी क्षेत्रले पनि अक्सिजन सिलिन्डर ल्याइरहेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell