PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कोरोना संक्रमितको उपचारमा सहयोगका लागि जुटे नेपाली कलाकार



लक्ष्मी बलायर

कोरोना संक्रमितको उपचारमा सहयोगका लागि जुटे नेपाली कलाकार

काठमाडौं : कोरोनाको दोस्रो लहर आएसँगै नेपालमा कोरोना संक्रमितको संख्या दिनहुँ बढिरहेको छ। कोरोना संक्रमितको संख्या बढ्न थालेपछि काठमाडौं उपत्यकालगायत देशका अधिकांश जिल्लामा निषेधाज्ञा समेत लगाइएको छ।

स्वास्थ्य सामग्रीको अभाव हुँदा कोरोना संक्रमितले अस्पतालको चिसो भुईमै उपचार गर्नु पर्ने बाध्यता। अर्कोतिर अक्सिजनको अभावले संक्रमितले मृत्युवरण गर्नुपरेको तितो यर्थाथ। यो अवस्थामा थुप्रै मानिसहरुले सहयोगी हात अगाडि बढाउन थालेका छन्। नेपाली कलाकारहरुले पनि कोरोना संक्रमित बिरामीको लागि स्वास्थ्य सामग्री अभाव नहोस् भनि सहयोग गर्न थालेका छन्।

यसै क्रममा हाँस्य कलाकार सीताराम कट्टेल (धुर्मुस) अक्सिजनका सिलिन्डर बोकेर अस्पताल पुगेका छन्। उनले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सञ्चालित कोभिड केन्द्रका लागि ५० वटा अक्सिजन सिलिन्डर सहयोग गरे। धुर्मुस-सुन्तली फाउन्डेसनमार्फत ५० वटा सिलिन्डर सहयोग गरेको उनले पहिलोपोष्टसँगको कुराकानीमा बताए।

महामारीमा सकेको सहायता र उपस्थिति जनाउँदै आइरहेको उनी बताउँछन्। महामारीको शुरुवाती दिनदेखि नै चितवनका सक्रिय युवाको संलग्नतामा उनले आपतकालिन हेल्प डेक्स स्थापना गरी सहयोग गर्दैँ आइरहेका छन्।

उनको टिमले नि:शुल्क एम्बुलेन्स सेवा, रगतको व्यवस्था गर्नेदेखि मेडिकल काउन्सिलिङसम्मको सेवा दिँदै आइरहेको छ। जसले ८ सय भन्दा बढिलाई सहयोग गरिसकेको छ। भरतपुर अस्पताल लगायत क्यान्सर अस्पतालमा सञ्चालित कोभिड केन्द्रका लागि अक्सिजन सिलिन्डर सहयोग गर्ने काम गरिरहेको कट्टेलले जानकारी दिए।

उनी सहयोगमा जुटिरहेका छन् भने उनकी श्रीमती कुञ्जना घिमिरे (सुन्तली) भने रंगशालाको काम सम्हाल्दै छिन्। सम्पूर्ण स्वास्थ्य मापदण्ड पूरा गरेर काम सञ्चालनमै रहेको कट्टेलले बताए। रंगशालाको काम थिएन भने अझै सक्रिय भएर लाग्ने उनी बताउँछन्। आफू पनि जोगिनुपर्ने भएकाले सतर्कता अपनाएर सहयोग गरिरहेको उनले बताए।

‘मानविय धर्म निर्वाह गर्न सकेको जति हामी सहयोगका लागि अगाडि बढेका छौँ। हाम्रो टिमले कसैसँग सहयोगको लागि अपिल गरेको छैन। तर, स्वेच्छाले सहयोग गर्नेहरु भने जोडिरहनु भएको छ,’ उनले सुनाए।

त्यसैगरि, हालै अभिनेता पुष्प खड्काले पनि गृहजिल्ला कैलालीलगायत सुदूरपश्चिमबासीका लागि पचास अक्सिजन सिलिन्डर सहयोग गरेका छन्। यस्तो महामारीको बेला केही गर्नुपर्छ भनेर अक्सिजनको कमी भइरहेको बेला आफूले सक्ने जति व्यक्तिगत रुपमा सहयोग गरेको उनले जानकारी दिए।

‘मैनादेवी फाउन्डेसनका केपी खनालको नेतृत्वमा महामारीमा समस्यामा परेकाहरुलाई सहयोग वितरण भइरहेको देखेपछि मैले उहाँमार्फत ५० सिलिन्डर अक्सिजन बराबरको सहयोग गरेको हुँ,’ उनले सुनाए।

यस्तो बेला आफूले सक्ने जति सहयोग गर्नु पर्ने र बाँच्नुजेल सबैले एकअर्कालाई सहयोग गर्नुपर्ने उनको तर्क छ।

अभिनेता नाजिर हुसेनले पनि कोरोना संक्रमितलाई अक्सिजन जुटाउन १ लाख सहयोग गरेका छन्। उनले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई मंगलवार एक लाख रुपैयाँ सहयोग गरेका हुन्। केन्द्रले कोरोना संक्रमितका लागि अक्सिजन सिलिन्डर सहयोग गरिरहेको छ।

उनी भन्छन्, ‘यस्तो बेला सहयोग गर्न खटिएका सम्पूर्णलाई मेरो निकै सम्मान छ। तीनचोटि निमोनिया भएका कारण बाहिर गएर सहयोग गर्ने अवस्था छैन। तर, आफूले गर्न सक्ने सहयोग गर्न म सधैँ तत्पर छु। कलाकार नभएर एउटा जिम्मेवार नागरिकको हिसाबले आफ्नो कर्तव्य पूरा गरेको हुँ।’

महामारीबीच सबैले आफ्नो ठाउँबाट सकेको जति सहयोग गर्नुपर्ने कुरामा उनले जोड दिए। यो समयमा मानिसहरु मानसिक रुपमा निकै कमजोर हुने भएकाले सोसल मिडियामा अरुलाई गाह्रो बनाउने समाचारहरु सेयर नगर्न समेत उनी आग्रह गर्छन्। साथै, आफूले आफूलाई सम्हाल्नु पर्ने समेत उनले सुनाए।

केहि समयअघि सर्वसाधारणको सेवाका लागि भन्दै हाँस्य कलाकार केदारप्रसाद घिमिरे (माग्ने बुढा) टिमले पनि अक्सिजन सहितको निःशुल्क एम्बुलेन्स सेवा शुरु गरेका हुन्।

जसमा नायक निखिल उप्रेती, क्याप्टेन तथा कलाकार विजय लामा, अभियन्ता ज्ञानेन्द्र शाही, पूर्व आईजीपी सर्वेन्द्र खनाल, सुवास घिमिरे, कर्णबहादुर शाही, अधिवक्ता सन्जयराज अधिकारी, रामहरि शर्मा, देवेन्द्र प्रधानलगायत संलग्न छन्।

त्यसैगरि, अभिनेता पल शाहले पनि कोरोना संक्रमित बिरामीका लागि सहयोगी हात अगाडि बढाएका छन्। शाहले निषेधाज्ञा लागू भएसँगै अक्सिन सिलिन्डरको अभाव कम गर्नका लागि अभियान शुरू गरे।

पलले ‘हाम्रो टिम नेपाल’मार्फत विभिन्न ठाउँमा अक्सिजन वितरण गरिरहेका छन्। जितपुर-सिमरा, बारा, दाङदेखि काठमाडौंका अस्पतालहरुमा समेत उनको टिमले अक्सिजन वितरण गरिसकेको छ। यसअघि लकडाउनमा पनि पल सक्रिय रुपमा सहयोग गर्न सडकमा ओर्लिएका थिए।

अभिनेता दिलिप रायमाझी पनि (इन्ट्रा फाउन्डेसन अफ अमेरिका)मार्फत राहत बाडेर सहयोग गरिरहेका छन्। माक्स, सेनिटाइजर र पीपीईहरु बाडेका छन्। झापाको भुटानी शणनार्थी शिविरमा राहतको सामग्रीहरु बाँडेको उनले बताए।

कलाकार जयकिसन बस्नेत पनि राहत बाँड्न धादिङको तामाङ बस्ती पुगेका छन्। उनले तामाङ बस्तीमा गएर सहयोग गरेको भनि फेसबुकमार्फत जानकारी दिएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell