PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

राष्ट्रियसभाको उपनिर्वाचनको तयारी पूरा, गृहमन्त्री बादल भन्छन्, ‘म एमालेको आधिकारीक उम्मेद्वार’



निशा गुरुङ

राष्ट्रियसभाको उपनिर्वाचनको तयारी पूरा, गृहमन्त्री बादल भन्छन्, ‘म एमालेको आधिकारीक उम्मेद्वार’

हेटौँडा : वाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्य पदको लागि भोलि जेठ ६ गते हुने निर्वाचनको तयारी पूरा भएको निर्वाचन आयोगको कार्यालयले जनाएको छ। उपनिर्वाचनका सबै कार्यक्रम निर्वाचन आयोगले हेटौँडामा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयबाट भएको र निर्वाचनको तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको हो। हेटौँडा-४ मा रहेको भुटनदेवि स्कुलको चौरमा भोलि बिहान ९ बजे देखि ३ बजेसम्म मतदान हुने र भोलि साँझसम्म मतगणना सक्ने गरी तयारी गरिएको मुख्य निर्वाचन अधिकृत डिल्ली रत्न श्रेष्ठले बताए।

वाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि गृहमन्त्री राम बहादुर थापा बादलले उम्मेद्वारी दता गराएका थिए। बादलको उम्मेद्वारीको प्रस्तावकमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा वाग्मती प्रदेशकी सामाजिक विकास मन्त्री सरस्वती बस्नेत रहेकी छिन्।

नेकपा एमालेको आधिकारीक उम्मेद्वार आफू भएको र प्रदेशमा नेकपा एमालेको बहुमत रहेको भन्दै गृहमन्त्री बादलले दलिय व्यवस्थालाई स्वीकार गरेकाले स्वतन्त्र उम्मेद्वारलाई भन्दा अन्य दलका मतदाताले समेत आफूलाई मतदान गर्नेमा ढुक्क रहेकोले आफ्नो जीत निश्चित भएको बताए।

माओवादीबाट जितेर नेकपा फुटेपछि एमाले रोजेकाले रिक्त भएको पदमा पुनः निर्वाचन हुन लागेका हो। नेकपा एमाले भित्रको पछिल्लो समीकरणपछि नेकपा एमाले ओली पक्षले गृहमन्त्री थापा नै आधिकारिक उम्मेद्वार भन्दै ह्वीप जारी गरेको छ।

कांग्रेस, माओवादी र जसपाले आफ्नो उम्मेद्वार उठाएका छैनन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थनमा नेकपा एमाले माधव नेपाल पक्षका डा खिमलाल देवकोटा उम्मेद्वार बनेका हुन्।

नेकपा माओवादी केन्द्र प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामीले वाग्मती प्रदेशमा एमाले एकजुट हुँदा उसको एक्लै बहुमत पुग्ने अवस्था रहेको बताए। प्रदेशसभामा बलियो उपस्थिति रहेको माधव पक्षले जसलाई भोट हाल्यो त्यहि उम्मेद्वारले जित्ने लगभग निश्चित रहेको उनले जानकारी दिए। नेकपा एमाले ओली पक्षले भने एमाले एकजुट हुने र थापाले नै निर्वाचन जित्ने दावी गरेको छ।

राष्ट्रिय सभाको उपनिर्वाचनमा साझा उम्मेद्वारका रुपमा डाक्टर खिमलाल देवकोटाले मनोनयन दर्ता गराएका थिए। देवकोटाको उम्मेद्वारीको प्रस्तावकमा नेकपा माओवादी केन्द्र वाग्मती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कटेल र समर्थकमा नेपाली कांग्रेस वाग्मती प्रदेशका प्रमुख सचेतक राधा घले रहेका छन्।

नेमकिपाका तर्फबाट कृष्ण बहादुर तामाङले उम्मेद्वारी दिएका छन्। तामाङको उम्मेद्वारीको प्रस्तावकमा सांसद सुरेन्द्र राज गोसाईँ र समर्थकमा सांसद सिर्जना सैज्यु रहेका छन्।

उपनिर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने पाउने छन्। वाग्मती प्रदेशसभा सदस्य ११० जना र प्रदेशका १३ जिल्लाका ११९ स्थानीय तहका प्रमुख र उपप्रमुख २३८ जना गरी ३४८ मतदाता रहेका छन्। प्रदेशसभाका एक जना सदस्यको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मत भार गणना गरिन्छ।

११० सदस्यीय प्रदेशसभामा एमालेका ५७ रहेकोमा १ सदस्यको मृत्यु भएकाले ५६ जना, माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, विवेकशील साझा पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका २।२ जना छन्। जनता समाजवादी पार्टीबाट निर्वाचित १ जना छन्।

स्थानीय तहका २३८ मतदातामध्ये एमालेका १३३ जना, कांग्रेसको ६७, माओवादी केन्द्रको ३३, राप्रपाको २, नेमकिपा २ र जसपाका १ जना छन्। मतभारका हिसाबले एमालेको प्रदेश सभामा २६४० र स्थानीय तहका प्रमुख र उपप्रमुखमा २३९४ गरी कुल ५०३४ मत भार छ।

कांग्रेस र माओवादी केन्द्र तथा जसपाको गठबन्धनसँग ५४ प्रदेश सभा सदस्य छन्। जसको मतभार २५९२ हुन्छ। विपक्षी गठबन्धनको स्थानीय तहका प्रमुख र उपप्रमुखतर्फ १०५ जनप्रतिनिधि छन् यसको मतभार १८९० हुन आउँछ। यसरी विपक्षी गठबन्धनसँग कुल ४४८२ मतभार छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell