पोखरा : बुधवार गण्डकी प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बसेको छ। बुधवार पुनः नियुक्त भएका मन्त्रीहरुले शपथ खाएलगत्तै मन्त्रिपरिषद् बैठक बसेको हो।
प्रदेशमा विस्तार भएको नयाँ मन्त्रीमण्डलको पहिलो बैठकले सरकारको प्रवक्तामा रामशरण बस्नेतलाई नै राखेको हो। प्रवक्ता बस्नेतका अनुसार आजको बैठकले पश्चिमाञ्चल क्षेत्रिय अस्पताललाई कोभिड अस्पताल बनाउन सरकारलाई सिफारिस गरेको छ।
प्रवक्ता बस्नेतका अनुसार आजको बैठकले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा गिरधारि शर्मा र सदस्यमा विष्णुराज बराललाई नियुक्त गरेको छ। त्यस्तै, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको राजनीतिक सल्लाहकारमा डा भीष्म अधिकारीलाई नियुक्त गरिएको छ। लमजुङ सुन्दरबजारका अधिकारीको नियुक्ति हुनु अगाडि सल्लाहकार गोविन्दबहादुर नेपाली थिए।
आज बैठकले प्रदेशको मन्त्रालय फेरबदल गर्ने र संख्या बढाउने निर्णय समेत गरेको छ।
केहि मन्त्रालयहरु फेरबदल गर्ने र यसमा चाहिँ संख्या यतिनै भन्दापनि केही संख्या बढाउने भएका छौँ, बस्नेतले भने।
प्रदेशमा यसअगाडि ७ मन्त्रालय थियो। अविश्वास प्रस्ताव झेलिरहेका मुख्यमन्त्री गुरुङले सत्ता जोगाउन बैशाख १६ गते राजीव गुरुङ (दीपक मनाङे)लाई युवा तथा खेलकुद मन्त्री बनाएका थिए। गुरुङले सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालयमन्त्री मनाङेलाई बनाएकासँगै ८ मन्त्रालय पुगेको थियो।
प्रदेश सरकारले थप ३ मन्त्रालय थपेर प्रदेशमा ११ मन्त्रालय बनाउँदै छ। सामाजिक विकास मन्त्रालयलाई टुक्र्याएर स्वास्थ्य मन्त्रालय बनाउन लागिएको हो। यस्तै, भौतिक पूर्वाधार विकास र उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालायलाई पनि टुक्राइने भएको छ।
