PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

एमाले विवाद मिलाउने वार्ता टोलीलाई बैठक बस्नै सकस



पहिलोपोस्ट

एमाले विवाद मिलाउने वार्ता टोलीलाई बैठक बस्नै सकस

काठमाडौं:  सत्तारुढ नेकपा (एमाले) को विवाद सुल्झाउन गठित कार्यदललाई बैठक बस्नै सकस परेको छ। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको सहमति अनुसार १० सदस्यीय वार्ता टोली गठन भएको थियो। कार्यदललाई एमालेको विवाद सुल्झाउने जिम्मेवारी छ।

तीन दिनको समयसीमा दिएर वार्ता टोली बनेको भए पनि जम्मा एक दिनमात्रै बैठक बसेको थियो। उक्त बैठकले कार्यविधि र आचारसंहिता बनाउने र एकताविरोधी गतिविधि नगर्ने बाहेकको निर्णय गरेन।

बुधबार पनि बैठक बस्ने भनिए पनि स्थगित भएको छ। कार्यदलका सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अनुपस्थित भएकाले बैठक स्थगित भएको ओली समूहका नेताहरुले बताएका छन्। ओली समूहका वार्ता टोली प्रमुख सुवास नेम्बाङले पोखरेल काठमाडौं बाहिर भएकाले बैठक बस्न नसकेको बताए।

'सबै सदस्य उपस्थित हुन नसकेपछि बैठक नबसेको हो,'  उनले भने।

पोखरेल मंगलबारको बैठकमा पनि अनुपस्थित थिए। सोमबार नै वैठक बस्ने तयारी गरिएको भए पनि बैठक बस्न सकेन। आफ्नो पहलका बावजुद पनि सोमबार बैठक नबसेको नेम्बाङले बताए।

'मैले पहल त चाँडो बैठक राख्ने गरिरहेको छु तर बसिरहेको छैन्,' उनले भने।

बिहीबार ५ बजेका लागि बैठक बोलाइएको छ। लामो समयको विवाद मिलाउनका लागि कार्यदलले अझै केही समय लिने नेम्बाङको भनाई छ।

नेपाल समूहका नेताहरुका अनुसार ओलीले राष्ट्रियसभाको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापाको पक्षमा नेपाल समूहले साथ दिनुपर्ने अडान राखेको भए पनि नेपालले अस्वीकार गरेको बताएका छन्। ओलीले बुधबार विज्ञप्ति जारी गरेर बादलका पक्षमा मतदान नगरे क्षम्य नहुने बताएका छन्। बागमती प्रदेशबाट एमालेका तर्फबाट बादल र कांग्रेस-माओवादी गठबन्धनका तर्फबाट डा.खिमलाल देवकोटा मुख्य प्रतिस्पर्धी छन्। नेपाल समूहले देवकोटालाई नै आफ्नो समर्थन हुने बताइसकेको छ। समर्थनबाट पछि हटेर बादलको पक्षमा समर्थनसहितको विज्ञप्ति निकाल्न नेताहरुले बुधबार दिनभर कसरत गरे। तर सफल हुन सकेन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell