PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

वाग्मतीमा राष्ट्रिय सभा सदस्य उपनिर्वाचन, कोरोना संक्रमित मतदातालाई होल्डिङ सेन्टरदेखि स्वास्थ्य जाँचसम्म



निशा गुरुङ

वाग्मतीमा राष्ट्रिय सभा सदस्य उपनिर्वाचन, कोरोना संक्रमित मतदातालाई होल्डिङ सेन्टरदेखि स्वास्थ्य जाँचसम्म

हेटौंडा : वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा आज बिहान ९ देखि अपराह्न ३ बजेसम्म हेटौंडा ४ स्थित भुटनदेवि मावि मतदान हुँदैछ।

आज हुने मतदानको लागि माधव प्रसाद दाहाल, गोविन्द पौडेल र कैलाश भट्टराई गरि तीनजना मतदान अधिकृत तोकिएका छन्।

उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय ढंगबाट गराउने सन्दर्भमा शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा मापदण्ड र अन्य व्यवस्थापनका सम्पूर्ण तयारी पूरा भएको बताईएको छ।

उपनिर्वाचनमा यसअघिका विभिन्न निर्वाचनमा जारी भएका मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्रलगायत कागजात देखाएर मतदान गर्न सकिने व्यवस्था गरिएको छ।

मतदान केन्द्रमा प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि र कोभिड संक्रमित मतदाताका लागि बेग्लाबेग्लै मतदानको व्यवस्था मिलाइएको छ।  कोभिड संक्रमित मतदाताले भुटनदेवि माविको उत्तर गेटबाट मात्रै प्रवेश पाउनेछन। भने अन्यले पश्चिम गेटबाट प्रवेश पाउँनेछन्। उनीहरुको सामान्य स्वास्थ्य जाँचपछि होल्डिङ सेन्टरमा बस्ने छन् भने १० मिटरको दुरी कायम गर्ने व्यवस्था गरेको प्रमुख निर्वाचन अधिकृत श्रेष्ठको भनाई रहेको छ।

मतगणना साँझ ५ बजेबाट सुरु गरिने र ७ बजेसम्म नतिजा आईसक्ने उनले बताए। निर्वाचनमा बागमती प्रदेशसभा सदस्य ११० र प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ।

उपनिर्वाचन ३ जनाको उम्मेद्वारी रहेको छ। एमालेबाट गृहमन्त्री रामबहादुर थापा मगर, नेमकिपाबाट कृष्णबहादुर तामाङ र स्वतन्त्रबाट खिमलाल देवकोटा रहेका छन्। राष्ट्रिय सभा सदस्यमा उम्मेदवारी दिएका गृहमन्त्री थापालाई सूर्य चिन्ह, नेमकिपाका उम्मेदवार तामाङलाई मादल चिन्ह र काँग्रेस, माओवादी केन्द्र र जसपाको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका डाक्टर खिमलाल देवकोटालाई कलम चुनाव चिन्ह रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell