काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। आज भइरहेको राष्ट्रियसभा उपनिर्वाचनको मौन अवधिमा निर्वाचनलाई प्रभावित पार्नेगरी सार्वजनिक अपिलमार्फत मत मागेर आचारसंहिता उल्लंघन गरेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलले उजुरी दिएको हो।
उजुरीमा प्रधानमन्त्री ओलीलाई कारवाही गर्न माग गरिएको छ।
निर्वाचन आचार संहिताले तोकेको मतदान हुनुपूर्व ४८ घण्टाको मौन अवधिमा निर्वाचन प्रचार प्रसार, सामाजिक सञ्जाल वा कुनै पनि विद्युतीय माध्यमबाट समेत मत माग्न निषेध गरेकोमा प्रधानमन्त्री ओलीले एमाले अध्यक्षको हैसियतले र शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले सार्वजनिक अपिलमार्फत आफ्ना उम्मेदवारको पक्षमा मत मागेर आचारसहिताको ठाडो उल्लंघन गरेको कांग्रेसको ठहर छ।
संसदीय दलको कार्यालयका अधिकृत विजयेन्द्र वीर आलेद्वारा बिहीवार निर्वाचन आयोगमा पठाएको उजुरीमा आचार संहिता विपरीत सरकार प्रमुखले नै अमुक उम्मेदवारलाई नै विजय गराउन मतदाताहरुलाई अपिल गरेर निर्वाचनमा प्रभाव पार्नु स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचनको आधारभूत सिद्धान्त विपरित भएको उल्लेख छ।
कांग्रेस संसदीय दलको बुधवारको बैठकलेसमेत प्रधानमन्त्रीको आचारसंहिता विपरीतको अपिलको भत्सर्ना गरिरहेको जानकारी गराउँदै प्रमुख निर्वाचन आयुक्तलाई पठाइएको उजुरीमा निर्वाचन आचारसंहिता, २०७२ को दफा ५ घ (३) र (५) र दफा (६) विपरीत कार्य गर्ने प्रधानमन्त्रीसहित सबैलाई कारवाहीको लागि अनुरोध गरिएको छ।
उजुरीका आधारमा अब निर्वाचन आयोगले कारवाही प्रक्रिया अगाडि बढाउन सक्छ। एक आयुक्तका अनुसार उजुरी परेसँगै प्रधानमन्त्रीको अपिलबाट आचारसंहिता उल्लंघन भएको छैन भनेर पहिला छानविन गर्नका लागि जाँचबुझ तथा अनुगमन संयन्त्र गठन गरिनेछ। छानविनमा उल्लंघन गरेको देखिएमा कानुनअनुसार १ लाखसम्म जरिवाना हुनसक्छ।
