PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

सत्ता लोलुपता छाडेर कोभिड नियन्त्रणमा केन्द्रित हुन सुझाव दिँदै डिएलए नेपालले सरकारसँग राख्यो १२ माग



पहिलोपोस्ट

सत्ता लोलुपता छाडेर कोभिड नियन्त्रणमा केन्द्रित हुन सुझाव दिँदै डिएलए नेपालले सरकारसँग राख्यो १२ माग

काठमाडौं: नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएशन (डिएलए नेपाल) ले कोभिड १९ महामारीमा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ।

बिहीवार एशोसिएशनका महासचिव लक्ष्मी दाहाल रावलद्वारा जारी विज्ञप्तिमा कोभिडको दोस्री लहरले नेपाली जनजीवन नै संकटग्रस्त भई सयौंको संख्याले ज्यान गुमाउनु परेको अवस्थामा सत्ता लोलुपतामा नलागी कोभिड रोकथाम, नियन्त्रण तथा उपचारमा सशक्त रुपमा लाग्न सुझाव दिएको हो।

‘यस संकटको घडीमा सरकारको सम्पूर्ण ध्यान जनताको स्वास्थ्यमा केन्द्रित हुनु पर्नेमा सरकारको निहित स्वार्थ, सत्ता लोलुपता, आत्माकेन्द्रित व्यवहार, सरकारमा रहेर पार्टि प्रतिनिधित्व गर्ने प्रवृत्ती, पदको भागबण्डा, चरम भ्रष्टाचार, जवाफदेहीता र उत्तरदायित्वको कमी, बिश्वासनीयताको कमी तथा हचुवाका निर्णय, बिज्ञता प्रति अविश्वास, नालायकीपन तथा कुकर्मबाट सरकार नागरिकको जीवन रक्षाको लागि गम्भीर हुन नसकेको प्रष्ट छ,’ विज्ञप्तिमा भनिएको छ।

एशोसिएशनले अक्सिजन, भेन्टिलेटर, अस्पतालको आपतकालिन सेवा र आवश्यक औषधीको लागि अस्पताल चाहार्दा चाहर्दै जीवन गुमाउनु पर्ने दुखद् स्थिति भोग्न जनता अभिशप्त हुनुपरेको अवस्थाको जिम्मेवारी सरकारले लिनुपर्ने ठहर पनि गरेको छ।

स्वास्थ्य सामाग्री, खाद्यन्न तथा दैनिक उपभोग्य सामानमा दलालीकरण गर्नु सरकारको निरिहताको पराकाष्ट भएको विज्ञप्तिमा उल्लेख छ।

डिएलए नेपालले सत्ताको उन्मातलाई काबुमा राखी अविलम्व निम्न कार्यहरु गरी नागरिकहरुलाई सक्षम, जिम्मेवार तथा लोकतान्त्रिक सरकारको अनुभूति दिलाउन सरकारसँग माग गरेको छ।

- हरेक नागरिक स्वास्थ्य संकटकालबाट गुज्रीरहेको अवस्थामा सरकारले निहित स्वार्थ, सत्ता लोलुपता तर्फ आकर्षित नभई स्वास्थ्य संकटकाल घोषणा गरी आफ्नो सम्पूर्ण ध्यान कोरोना भाइरस (कोभिड१९) महामारीको रोकथाम, नियन्त्रण तथा उपचारमा केन्द्रित गरोस।

- संविधानले प्रत्याभूत गरेको स्वास्थ्य सम्बन्धी हक (धारा ३५) र खाद्य सम्बन्धी हक (धारा ३६) लाई निर्वाध रुपमा उपभोग गर्न अविलम्ब व्यवस्था मिलाईयोस् ।

- सम्पूर्ण नागरिकहरुलाई (COVID-19) बिरुद्धको खोपको लागि यथाशिघ्र उचित व्यवस्था मिलाईयोस।

- स्थानीय स्तरमा नै चुस्त उपकरण सहित अस्थायी अस्पतालहरुको निर्माण गरी कोरोना संक्रमितहरुको उपचारको लागि व्यवस्था मिलाईयोस् ।

- प्राणवायु (अक्सिजन), भेन्टिलेटर, खोप तथा आवश्यक औषधीको सहजताको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहल गरियोस् ।

- नागरिकको जीउ, धन, समानता र स्वतन्त्रताको संरक्षण गरी कानूनको शासन, मौलिक हक तथा मानव अधिकारका मूल्य र मान्यता तथा सामाजिक न्यायको माध्यमबाट राष्ट्रिय जीवनका सबै क्षेत्रमा न्यायपूर्ण व्यवस्था कायम गर्दै लोककल्याणकारी राज्य व्यवस्थाको स्थापना गर्दै लोकतान्त्रिक अधिकारको उपभोग गर्न पाउने अवस्था सुनिश्चित गरियोस्।

- संक्रमित तथा संक्रमणको त्रासमा रहेका नागरिकहरुको लागि मनोसामाजिक परामर्श तथा जनचेतनात्मक कार्यक्रमहरु ल्याइयोस्।

- जनताले अनावश्यक रुपमा खाद्य तथा स्वास्थ्य सामाग्री लगायत अन्य सेवाहरुमा महंगीको चपेटालाई ब्यहोर्नु परेकोले बिशेष रुपमा अनुगमन गरि यस्ता कालाबजारी हरुलाई कडा कारवाही गरियोस्।

- संक्रमण प्रभावित न्यून आय भएका, गरिब तथा असहाय, मजदुर, किसान, श्रमिकहरुको स्वास्थ्य तथा सामाजिक सुरक्षाको लागि बिशेष राहत कार्यक्रमहरु ल्याईयोस् ।

- अत्यावश्यक सेवा प्रदायक संस्थाको रुपमा रहेको अस्पताल, स्वास्थ्यकर्मी, सुरक्षा निकाय, सरोकारवाला श्रमिक तथा पत्रकारहरु लगायत प्रति उदासिन देखिएकोले निजहरुको मनोवल उच्च राख्न हौसलात्मक कार्यक्रमहरु ल्याउने, मनोसामाजिक परामर्श दिने, व्यक्तिगत सुरक्षा, बिमा, सेवा र सुविधामा बृद्धि गर्न सशक्त रुपमा पहल गरियोस्।

- कोरोना संक्रमणको अवधि अनिश्चित रुपमा रहने भएकोले यस अवधिमा नागरिकहरुले दैनिक जीवनमा ब्यहोर्नु परेको असहज परिस्थतीलाई सहज, सरल र सामान्य बनाउनको लागि दीर्घकालिन तथा अल्पकालिन योजनाका साथ तत्काल कानुन निर्माण गरियोस्।

- कोभिड १९ को बिरुद्धमा लड्न स्थानीय तहलाई सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामूलक बनाउँदै सक्रिय, क्रियाशिल तथा जिम्मेवार बनाइयोस् ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell