काठमाडौं : वाग्मती प्रदेशमा राष्ट्रियसभाको उप निर्वाचन सकिनु केही अघि सत्तारुढ दल नेकपा एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ।
बालुवाटारमा जारी बैठकमा पार्टीको पछिल्लो अवस्थाका बारेमा छलफल भइरहेको बैठकमा सहभागी एक नेताले बताए। राष्ट्रियसभाको उप-निर्वाचनका विषयमा समेत बैठकमा समीक्षा हुँदैछ। उक्त बैठक लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषदको बैठक बस्ने तयारी छ। ओलीले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका हुन्।
राष्ट्रिय सभाको उप-निर्वाचनमा एमालेका उम्मेद्वार गृहमन्त्री रामबहादुर थापालाई एमालेको माधवकुमार नेपाल समूहले असहयोग गरेको छ। उक्त विषयबारे पनि बैठकमा छलफल हुने नेताहरुले बताएका छन्।
नेकपा एमालेको विवाद मिलाउन १० सदस्यीय कार्यदल गठन भएको भए पनि कार्यदलले विवादका विषयमा छलफल गर्न सकेको छैन।
मंगलवारको बैठकमा कार्यदलको आचारसंहिता र कार्यवधि बनाउने निर्णय भएको छ। ओली समूहभित्र नेपाल समूहले निर्वाचनमा असहयोग गरेको भन्दै वार्ताको औचित्य नभएको नेताहरुले तर्क गर्न थालेका छन्।
उप निर्वाचन ३ बजे सकिएको छ।
