PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

आलोचनापछि दर्शकको पहुँचबाट हटाइयो 'मन बार', फिल्मको सिक्वेलमा काम नगर्ने सुरक्षा पन्तको घोषणा



पहिलोपोस्ट

आलोचनापछि दर्शकको पहुँचबाट हटाइयो 'मन बार', फिल्मको सिक्वेलमा काम नगर्ने सुरक्षा पन्तको घोषणा

बुधवार 'मुभी लभर्स' नामक फेसबुक ग्रुपमा विनोदकुमार पौडेलले प्रश्न गरे : के हामी सर्ट मुभीमा पनि पर निर्भर नै हो त?  

साथै उनले एक जानकारी पनि दिए : हिन्दी सर्ट फिल्म 'नामर्द'सँग नेपाली 'मन बार' काटिकुटी मिल्छ।

उक्त पोस्टको प्रतिक्रियामा कतिले आश्चर्य व्यक्त गरेका छन् त कतिले व्यङ्ग्य।

विस्मृत नामक प्रयोगकर्ताले भनेका छन् – दुबै फिल्म हेर्ने धैर्यता भएन। यदि यो कुरा साँचो हो भने, सुरक्षा पन्तले योभन्दा धेरै राम्रोको लागि योग्य छिन्। उनी एक उम्दा कलाकार हुन्।

पौडेलको पोस्ट सार्वजनिक भएको भोलिपल्टै अभिनेत्री सुरक्षा पन्तले त्यस विषयमा आफ्नो मत राखिन्। आफू अभिनित सर्ट फिल्म 'मन बार' हिन्दीबाट हुबहु चोरिएको थाहा पाएपछि दु:ख व्यक्त गरेकी हुन्। उक्त फिल्म तीन साताअघि युट्युबमार्फत् सार्वजनिक भएको थियो।

फिल्मको कथावस्तु र कलाकारको अभिनयको सकारात्मक चर्चासमेत भयो। सुरक्षा पन्तसँगै मुख्य कलाकारहरू थिए कोसिस क्षेत्री। आफूले योजना मनपरेर गरेको कामबारे यथार्थ थाहा पाएपछि मन खुम्चिएको समेत जनाएकी छिन्। लेखेकी छिन्,'व्यक्तिगत रुपमा आइडिया हुबहु कपी गर्ने कुराको घोर बिरोधी हुँ म। त्यसैले अनविज्ञ भइ यस माहोलको एउटा पात्र हुन पुगेकोमा खेद प्रकट गर्दछु।'

पहिले नै यसबारे थाहा भएको भए आफू काम नगर्ने जनाएकी छिन्। फिल्मको दोस्रो भाग पनि बनाउने निर्माण युनिटको योजनामा आफूले पुन: काम नगर्ने प्रष्ट पारेकी छिन्।

इन्टरनेटमा उपलब्ध सम्पूर्ण कन्टेन्ट हेर्न नभ्याउने हुँदा यस्तो अवस्था आएको बताइन्। यस घटनालाई आफ्नो लागि महत्वपूर्ण पाठ भएको बताएकी छिन्। सँगै प्रश्न गरेकी छिन् – आगामी दिनमा लेखकको सम्मानमा ठेस नपुर्‍याइ 'कन्टेन्ट' कपी गरिएको हो या होइन कसरी सोध्न सकिएला?

फिल्मलाई जीवन शाहीले निर्देशन गरेका थिए। कथा, पटकथा र संवादमा नाम रुपेन्द्र खड्गीको थियो। सामाजिक सञ्जालमा आलोचनापछि फिल्मलाई प्राइभेट बनाइएको छ।

 

 

सुरक्षाको पोस्टलाई धेरैले सकारात्मक प्रतिक्रिया जनाएका छन्। फिल्म समीक्षक अनुप सुवेदीले नेपाली फिल्मकर्मीमा सुरक्षाको जतिको 'कमिटमेन्ट' भए नेपाली फिल्म सुध्रन्छ भन्ने आशा व्यक्त गरे। लेखेका छन्,'हाम्रो नेपालमा कपी, इन्स्पायर, आइडिया मिल्ने, प्रभावित आदि जस्ता कुराको बारेमा बहस भएको छैन। त्यस्ता कुराका बारेमा आम बुझाइमा सामन्जस्यता पनि छैन र के गर्न हुने के नहुने भन्ने पनि छैन। मिडियामा लेख्ने/बोल्नेले केही समानता देख्ने वित्तिकै चोरी, नक्कल भन्दिन्छन्, सबै त्यतै दौड्न्छन्।'

यस्ता विषयमा बहस नभए सुरक्षालाई जस्तो समस्या अन्य कलाकारलाई आइरहने उनको तर्क छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell