PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

हेटौंडामा मतदान गर्न आएनन् माओवादीकै सांसद र कांग्रेसका दुई तहका अध्यक्ष, खस्यो ३३८ मत



निशा गुरुङ

हेटौंडामा मतदान गर्न आएनन् माओवादीकै सांसद र कांग्रेसका दुई तहका अध्यक्ष, खस्यो ३३८ मत

हेटौंडा : बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा मतदान कार्यक्रम सम्पन्न भएको छ।

हेटौंडास्थित भुटनदेविमा माविमा बिहान ९ बजेबाट सुरु भएको मतदान कार्यक्रम अपराह्न ३ बजे सम्पन्न भएको हो।

निर्वाचनमा बागमती प्रदेशसभा सदस्य ११० र प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ जनाले मतदान गर्न पाउनेमा ३ सय ३८ जना मतदाताले मात्र मतदान गरेको निर्वाचन आयोगले जनाएको छ।

प्रदेश सभा सदस्यमा १ सय ५ जना र प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा २ सय ३२ जना गरी ३ सय ३८ जनाले मत खसालेको निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिएका छन्।

केहि बेरमै मतगणना थाल्ने तयारी गरिएको छ।

मातदानमा माओवादीका सांसददेखि कांग्रेस जनप्रतिनिधि अनुपस्थित

मतदानमा चार जना प्रदेश सांसद सहभागी भएनन्। प्रदेश सांसदतर्फ विवेकशील साझाका तीन जना सांसद मतदान प्रक्रियामै सहभागी भएनन्। विवेकशील साझा पार्टीको बागमती प्रदेशसभा संसदीय दलका नेता रमेश पौड्यालले  तीनैजना सांसद 'नो भोट' को पक्षमा उभिएको बताएका थिए।

त्यस्तै माओवादीका एकजना सांसद पनि मतदानमा सहभागी भइनन्। दोलखाबाट निर्वाचित समानुपातिक सांसद हिमाली गोले मतदानमा नभएकी हुन्। उनले आफू बिरामी भएकाले मतदानमा सहभागी हुन नसक्ने जानकारी संसदीय दललाई गराएकी थिइन्।

स्थानीय तहतर्फ पाँच जनाले भोट दिएनन्। जसमा दोलखाको मैलुङ गाउँपालिकाकी उपाध्यक्ष कल्पना भण्डारी, भक्तपुरका मेयर एवम् नेपाल मजदुर किसान पार्टीका नेता सुनील प्रजापति, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पा र उपप्रमुख कोपिला पण्डित पनि आजको मतदान सहभागी भइनन्। शेर्पा कांग्रेसबाट निर्वाचित हुन्। हेलम्बुका गाउँपालिका अध्यक्ष शेर्पा मातृशोकमा रहेका छन्।

उता धादिङको खनियाँबास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङ पनि मतदानका उपस्थित भएनन्। उनी कांग्रेसबाट निर्वाचत हुन्। निर्वाचन आयोगका अनुसार ११९ पालिकातर्फ २३८ मतदाता थिए। जसमा २३३ जना मतदानमा सहभागी भएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell