जनकपुरधाम : जनकपुरधामसहित मिथिलाञ्चलमा आज जानकी नवमी मनाइँदै छ। प्रत्येक वर्ष जानकी नवमी माता सीताको जन्म भएको दिनको रुपमा मनाइने गरिन्छ। हरेक वर्ष हर्षोल्लासपूर्वक जानकी जन्मोत्सव मनाइए पनि पछिल्लो २ वर्षदेखि कोरोना महामारीका कारण यो पर्व प्रभावित भएको छ।
कोरोना भाइरसको दोस्रो लहर तीव्र रुपमा फैलिरहेको समयमा धनुषामा निषेधाज्ञा लगाइएको छ। निषेधाज्ञाका कारण जानकी मन्दिरको मुल गेट समेत बन्द गरिएको छ। आज जानकी जन्मोत्सव भएपनि जानकी मन्दिरको मुल ढोका बन्द नै रहेको छ।
हजारौँको संख्यामा भिड हुने गरेको जानकी मन्दिर आज सुनसान देखिएको थियो। जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले आज आ-आफ्नो घरमै पूजा अराधना गर्न सबैसँग आग्रह गरेका छन्। उनले सर्वसाधारणको लागि मन्दिर बन्द भएपनि पूजापाठ पहिले जस्तै भइरहेको बताए।
उनले भने, ‘कोरोनाको कारण प्रशासनले निषेधाज्ञा लगाएको छ। जसको कारण मन्दिर पनि बन्द छ तर दैनिक पूजापाठ र जानकी नवमीमा हुने विधिहरुमा कुनै कटौती गरिएको छैन।’
यसैबीच, जानकी नवमीको अवसरमा मन्दिरमा सवा किलो सुन चढाइएको छ। जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले १ किलो र निर्मला देवीले २५० ग्राम सुन जानकी मन्दिरमा चढाएका हुन्।
कोरोना संक्रमण रोकथामका लागि धनुषामा लगाइएको निषेधाज्ञालाई मध्यनजर गर्दै जानकी मन्दिरको मुख्यद्वार बन्द गरिएको थियो। यसवर्ष मन्दिरका पुजारी र केही धर्मानुरागीको उपस्थितिमा मात्र जानकी नवमी मनाइएको हो।
कोरोनाको त्रास तथा नेपालका विभिन्न जिल्लामा निषेधाज्ञा जारी रहेकोले आज घरघरमा दियो बाली आरती गर्न महन्थ दासले आग्रह गरे। आज जानकी मन्दिरमा मिथिलाको परम्पराअनुसार विधिपूर्वक जानकी जन्म महोत्सव तथा पूजा गरिने बताइएको छ।