PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

बादललाई झट्का लाग्दा एमालेको 'युद्धविराम'मा लाग्यो ब्रेक, यसरी बढ्दैछ पार्टीभित्र विवाद



प्रकाश भण्डारी

बादललाई झट्का लाग्दा एमालेको 'युद्धविराम'मा लाग्यो ब्रेक, यसरी बढ्दैछ पार्टीभित्र विवाद

काठमाडौं : नेकपा एमालेको विवाद बैशाख २७ गते यता 'युद्धविराम'को चरणमा प्रवेश गर्‍यो। सांसद पदबाट राजीनामाको तयारी गरेको माधव नेपाल समूह र उक्त समूहलाई कारवाहीको तयारी गरेका प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सो दिन एक कदम पछि हटेका थिए। ओली-नेपालको एक्ला एक्लै र समूहगत वार्ताले विवादलाई संवादमा परिणत गरेको थियो।

त्यसपछि जेठ २ गते ओली नेपालबिच भएको सहमति दुवै समूहको सदस्य राखेर १० सदस्यीय कार्यदल पनि बन्यो। कार्यदलबाटै विवादको समाधान खोज्ने प्रयास गर्ने बताइएपनि उक्त कार्यदलले पार्टीको विवादका विषयमा प्रवेश नै गरेको छैन। आइतवार गठित कार्यदलको मंगलवार पहिलो बैठक बस्यो। बुधवार र बिहीवारका लागि तय बैठक लगातार स्थगित भए। एमाले स्रोतका अनुसार पार्टीमा फेरि विवाद बढेकाले ओली समूहले कार्यदलको औचित्यमाथि नै प्रश्न उठाएको छ। बिहीवार बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकमा पनि कार्यदलको बैठकको आवश्यकताका बारेमा छलफल भएको थियो।

एमाले एकतामा 'बादल'

बालुवाटार स्रोतका अनुसार बिहीवार दिनभर ओली समूहका नेताहरुले नेपाललाई शुक्रवार सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा रामबहादुर थापा बादलका पक्षमा विज्ञप्ति जारी गराउन पहल गरेका थिए। बुधवार बादल आफैले नेता नेपाललाई भेटेर आफूलाई सहयोग गर्न अपिल गरेको भए पनि नेपालले अस्वीकार गरे। नेपालको बादलविरुद्ध 'स्ट्यान्ड' ले नै वार्ता टोलीको संवाद हुन नसकेको एमाले नेताहरुको भनाई छ।

बिहीवारको बैठकमा ओलीले नेपाल समूहले बादललाई गरेको असहयोगलाई सामान्य घटनाका रुपमा नलिने बताएका थिए। स्थायी कमिटी सदस्य तथा ओली समूहका वार्ता टोलीका नेता सुवास नेम्वाङले वार्ता टोली गठन अघिकै अवस्थामा एमाले विवाद पुगेको बताए।

'पार्टीमा देखिएका यस्ता प्रवृतिलाई गम्भीर रुपमा लिन्छौ। पार्टीको ह्वीप त मान्नुपर्छ भन्नेकुरा विश्वव्यापी मान्यता हो। यसलाई स्थायी कमिटीले भर्त्सना गरेको छ,' उनले भने।

नेम्वाङले एमाले एकतालाई भाँड्ने प्रयासस्वरुप पार्टी हित विपरितका गतिविधि भएको बताए। उनले आफ्नो समूह उक्त घटनाको सामानाका लागि तयारी भएरै बसेको बताएका छन्।

'हामी कार्यदल बसेर छलफल गरिरेहका छौ। कुनैपनि हालतमा यसलाई कम मान्नु हुदैन। कार्यदल गठन अघि पनि गम्भीर कुराहरु भएका छन्। पार्टी एक नहोस भनेर अनेक कोसिस गरेका छन्। यसलाई  चिर्दै हामी अगाडी बढछौ,' उनले भने।

नेकपा एमालेको बहुमत हुँदाहुँदै पनि नेपाल समूहको असहयोगका कारण राष्ट्रियसभा उपनिर्वाचनमा बादल पराजित भइसके। यसलाई ओली समूहले सामान्य रुपमा नलिने बताएको छ।  

'सामान्य घटना हो'

ओली समूहले पार्टीको ह्वीप नमानेको घटनलाई सामान्य नभएको भन्दै कारवाहीको चेतावनी दिए पनि नेपाल समूहले भने राष्ट्रिय सभाको उपनिर्वाचनको घटना सामान्य भएको बताएको छ। उक्त घटना एकता विरोधि कदम नभएको नेपाल समूहका तर्फबाटा वार्ता टोलीका सदस्य रघुजी पन्तको दाबी छ।

'यो सामान्य घटना हो। अब यस्ता खालका घटना नदोहोरिए भयो नि। यो वार्ता टोली गठन अघिको विषय पनि हो,' उनले भने।

यता, एमाले प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जेठ २ अघिको समयलाई 'कट अफ' मान्न सकिने भए पनि ह्वीप उल्लंघनलाई सामान्य नमान्ने  प्रतिक्रिया दिएका छन्। 

'जेठ २ अघिको विषय त एक हिसाबले कट अफ डेट हो। यसलाई त सामान्य कसरी मान्य?,' उनले भने।

ओली साच्चै फर्कन चाहन्छन जेठ २ मा?

नेपाल समूहका नेताहरुले ओली २०७५ जेठ २ को एमाले माओवादी एकता अघिको अवस्थामा फर्कन नचाहेको भन्दै हाल पनि नेपाललाई सहमति नगर्न दबाव दिइरहेका छन्। यद्यपि, नेपाल आफैले ओली जेठ २ मा फर्कन तयार भएकाले वार्ताको टेबुलमा बसेको आफ्ना समूहका नेतालाई  नेपालले ब्रिफिङ गरेका थिए।

ओली नेपाल समूहका दोस्रो तहका नेताहरुको दबावका कारण ओली एक कदम पछि हट्न तयार भएको बालुवाटार स्रोतले बतायो।

'एकातिर पार्टी कमजोर हुने र अर्कोतिर सरकार त कमजोर भइनै हाल्यो। अझै पनि के कति सकिन्छ भनेर हामी लागेका हौ। प्रधानमन्त्री र माधव नेपाललाई हामीले यो अवस्थामा पुर्‍याएका हौ,' स्रोतले भन्यो।

तर, राष्ट्रिसभा निर्वाचनमा रामबहादुर थापा बादलको पराजयसँगै एमालेमा विवाद फेरी बढने नेताहरुले बताउन थालेका छन्। नेता विष्णु रिजालले राष्ट्रियसभाको एक सिट आफूहरुका लागि ठूलो नभएपनि एकताको वातावरण बिथोलिएको संकेत  समेत गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell