PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

अवसानको बाटोमा बादल: 'न घरका न घाटका', अरुले बनाएका नेता, कार्यकर्ताको कहिल्यै पाउन सकेनन् साथ



विधुर ढकाल

अवसानको बाटोमा बादल: 'न घरका न घाटका', अरुले बनाएका नेता, कार्यकर्ताको कहिल्यै पाउन सकेनन् साथ

काठमाडौं: सर्वोच्च अदालतले सरकारमा सहभागी सात पूर्वमाओवादी मन्त्रीलाई कामकाजमा रोक लगाएसँगै नेकपा (माओवादी केन्द्र) छाडेर एमालेमा प्रवेश गरेका रामबहादुर थापा 'बादल' राजनीतिक अवसानको बाटोतर्फ लागेका छन्।

तत्कालीन माओवादीले सञ्चालन गरेको जनयुद्धका क्रममा 'शैन्य विद्'को रुपमा चर्चा गरिएका नेता बादल माओवादी धारबाट विचलनको अवस्थामा आइपुग्दा राजनीतिक भविष्य पनि अन्यौलमा परेको छ। सर्वोच्च अदालतबाट अन्तरिम आदेशमार्फत मन्त्री पद खोसिएकै दिन बादललाई अर्को झड्का लागेको छ। नेकपा एमालेबाट वाग्‍मती प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्यका लागि निर्वाचनमा उम्मेदवारी दिएका उनी पराजित भएका छन्।

प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतदाता हुने निर्वाचनमा एमालेको एकल बहुमत भए पनि उनी पराजित भए। उनलाई एमालेकै नेता डाक्टर खिमलाल देवकोटाले विपक्षी गठबन्धनको सहयोगमा स्वतन्त्र रुपमा पराजित गरेसँगै उनको राजनीतिक भविष्य ओरालो लागेको आकलन गर्न थालिएको छ।

कमजोर संगठक, कार्यकर्ताबाटै टाढा

तत्कालीन माओवादीले जनयुद्धको सुरुवात गर्दादेखिनै नेतृत्व तहमा रहेका बादल कमजोर संगठक हुन्। पार्टीको महासचिवको जिम्मेवारी पटक-पटक पाए पनि उनमा संगठन क्षमता नभएको माओवादी नेतृत्व बताउँछ।

'राजनीतिक नेतृत्व हो। तर, उहाँमा सांगठनिक क्षमता देखिएन्,' उनी पहिलोपटक रक्षामन्त्री हुँदा सचिवालयमा काम गरेका एक सदस्यले भने, 'कार्यकर्ताको नजिक हुन नसक्ने उहाँको कमजोरी हो। मन्त्री हुँदा कार्यकर्ता आउँछन्। तर उहाँले त्यति समय दिनु हुँदैनथ्यो। सधै कार्यकर्ताबाट टाढै रहने बानीले कार्यकर्ता उनको साथमा रहेनन्।'

माओवादी वृत्तमा शैन्य विज्ञको पगरी गुथाइएका उनलाई पहिलोपटक क्याविनेटमा रक्षामन्त्री बनाएर भित्राइएको थियो। तर, उनकै कच्चा कामका कारण पहिलो संविधानसभाबाट बनेको प्रचण्ड नेतृत्वको सरकार ढल्न पुग्यो। बादलकै नेतृत्वमा रहेको मन्त्रालयको प्रस्तावमा क्याविनेटले रुक्मागत कटुवाललाई सेना प्रमुखबाट हटाउने निर्णय गर्‍यो। तर, सो निर्णयलाई राष्ट्रपति डाक्टर रामवरण यादवले उल्टाइदिए। त्यही प्रकरणमा प्रचण्ड नेतृत्वको सरकार ढल्यो।

माओवादी शान्ति प्रक्रियामा प्रवेश गरेसँगै सेना समायोजन गर्ने सरोकारवाला मन्त्रालयको नेतृत्वमा पुगेका बादलले त्यस कामलाई अगाडि बढाउन सकेनन्। त्यसकारण पनि उनलाई पूर्व लडाकुहरुको साथ पनि कम छ। 'उहाँमा संगठन क्षमता भएर नेतृत्वमा पुग्नु भएको पनि होइन्। सुरुवातदेखि नै जनयुद्धको नेतृत्वमा रहनुभयो। संगठनभन्दा पनि उहाँमा अवसरवादी स्वभाव देखियो। त्यही अवसरको उपयोग गर्दै नेतृत्वमा रहिरहनुभयो,' मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)का एक नेताले भने, 'जनक्रान्तिका लागि भन्दै पार्टी फुटाएर हामी क्रान्तिको दिशामा लाग्यौँ। तर, उहाँ त्यसलाई अवसरको रुपमा उपयोग गर्नुभयो। हाम्रो पार्टी फुटाएरै लानुभयो।'

उहाँको राजनीतिक भविष्यको बारेमा आफूले टिप्पणी नगर्ने बताउँदै ती नेताले भने, 'उहाँमा न्यूनतम राजनीतिक सिद्धान्त रहेन्। जोसँग सैद्धान्तिक मतभेदका आधारमा अलग भएका थियौँ उहाँसँगै मिल्न जानुभयो। त्यो पनि कुनै राजनीतिक सहमति र सैद्धान्तिक सहमतिमा होइन लेनदेनका आधारमा। फेरि प्रचण्डलाई पनि छाड्नुभयो र ओलीतिर लाग्नुभयो। सांगठनिक धरातल त थिएन नै उहाँमा राजनीतिक धरातल पनि बिर्सँदै जानुभयो। उहाँको भविष्य के भन्ने उहाँको पार्टीले जान्लान् उहाँका नेता कार्यकर्ताले जान्लान्। तर, उहाँसँग नेता कार्यकर्ता पनि त छैनन् फेरि।'

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्न गरेको सिफारिसलाई समर्थन गरेर ओलीको साथमा बादल उभिए पनि उनले कार्यकर्ताको पंक्ति भने लान सकेनन्। अहिले ओलीको साथमा रहेका देखिएका पूर्वमाओवादी नेताहरुबीच पनि एक नेतृत्व छैन। 'बादलजीले पूर्वमाओवादी समूहको नेतृत्व गरेर एमालेमा रहनुभएको होइन्। जति पनि नेताहरु एमालेमा रहनुभएको छ उहाँहरुको नेतृत्व ओलीले गर्नुभएको छ,' ओली निकट एमालेका एक नेताले भने, 'हरेकसँग छुट्टाछुट्टै डिल छ। सोही अनुसार उहाँहरु सहभागी हुनुभएको हो। उहाँहरु सबै एमालेमा समाहित हुनुभएको हो- एक्लाएक्लै।'

प्रचण्ड क्याम्प छाडेर ओली क्याम्पमा भित्रिएका बादलले आफ्नो सचिवायलका सदस्यहरुको समेत साथ पाएनन्। उनका प्रमुख राजनीतिक सल्लाहकार सूर्य सुवेदी पथिकले उनको साथ छाडे। राष्ट्रियसभामा पराजित भएसँगै बादल यो क्याविनेटमा प्रवेशको बाटो पूर्ण रुपमा बन्द भएको छ। 'बड्डा हार आज भएको होइन्। जुन दिन केपी ओलीको प्रतिगमनको जयजयकार गरिएको थियो त्यही दिन नै पतन भएको हो,' पथिकले समाजिक सञ्जाल फेसवुकमा लेखेका छन्, 'सत्ताले आफ्नो अब उपयोगिता नरहेको ठहर गरेको सामान्य जानकारी अब पनि नगर्ने हो भने खाल्डो अझ ठूलो बन्दैछ।'

एमालेमा प्रवेश गरे पनि उनले आफ्नो संगठन र नेतृत्व स्थापित गर्न सकेनन्। 'उनी ओलीकै छायाँमा रहे। संगठक भएको भए उनी माओवादीमा आउँदा माओवादीको केही तल्लो पंक्तिलाई पनि साथ लिएका हुन्थे त्यो रहेन,' एमालेका एक नेताले भने, 'एमालेमा आए पछि उनी एमालेका नेता कार्यकर्तासँग पनि जोडिन सकेनन्। न एमालेको पूर्ण मत पाए न त माओवादीले नै उहाँलाई एक मत दियो।'

कम सुनिने नेता

बादल पार्टीभित्र मात्र होइन बाहिर पनि कम सुनिने नेतामा पर्छन्। तीन वर्ष सरकारमा गृह मन्त्रालयको नेतृत्व समालेका नेता बादल यसबीच मिडियामा बिरलै सुनिए। उनी मिडिया र पत्रकारदेखि टाढै रहने गर्छन्। पत्रकारहरुले अन्तर्वार्ताका लागि अनेक पटक धाउँदा पनि उनी उपलब्ध हुँदैनन्।

'उहाँको अन्तर्वार्ताका लागि पटक पटक आग्रह आउँथ्यो। तर, उहाँले मान्नु भएन्। हामीलाई पत्रकारहरुलाई जवाफ दिन गाह्रो हुन्थ्यो,' बादल रक्षामन्त्री हुँदाका सचिवालयका ती सदस्यले भने, 'मिडियामैत्री बनाउन खोजेका हौँ तर उहाँमा त्यसप्रति चासो देखिएन्।'

उनी माओवादीको महासचिव हुँदा पनि मिडियामा खासै उपलब्ध नभएका नेता हुन्। हरेक दिन जसो सरकारका कुनै न कुनै मन्त्री मिडियामा अन्तर्वार्ता दिइरहेका हुन्छन्। तर, बादल पार्टी निकटका पत्रकारहरुसँग पनि अन्तर्वार्ता दिँदैनन्। '६४/६५ सालतिर नेपाल टेलिभिजनमा कार्यक्रम चलाउथेँ म! कार्यक्रममा प्रचण्ड, बाबुराम, किरण, रामवरण यादव, विद्या भण्डारी, झलनाथ, लगाएत धेरैलाई ल्याएँ,' पत्रकार खिलाबहादुर भण्डारीले फेसवुकमा लेखेका छन्, 'बादल आउनै नमान्ने, सारै फकाएपछि आउँछु भने! १ बजेतिर रेकर्ड गरिन्थ्यो, रेकर्ड गर्ने समयमामा त सिपी गजुरेल पो आए, बादल कमरेडले पठाको भनेर!'

माओवादीभित्रका नेताहरु अध्ययन लेखनमा अगाडि देखिन्छन्। पार्टीका मुखपत्रहरुमा उनीहरुका अन्तर्वार्ताहरु जनयुद्धकालदेखि नै छापिन्थ्थे। तर, बादल त्यसमा पनि विरैलै छापिए। 'जनादेश, जनआह्वान साप्ताहिकमा लामो समय काम गरेँ, कार्यकर्ता तहबाट बादलका लेख, अन्तरवार्ता चाहियो भनेर माग हुने, हामीलाई उनले दिएर, लेखेर पनि नछापेको जस्तो ठान्ने, बादल विरोधी जस्तो मान्ने! तर उनी नलेख्थे, न अन्तरवार्ता दिन्थे,' भण्डारीले अगाडि लेखेका छन्। माओवादी वृत्तमा रहेका नेतृत्वका अधिकांश नेताहरुले लेख रचनाको पुस्तकसमेत प्रकाशित गरेको पाइन्छ। तर, बादल पुस्तकमा पनि भेटिँदैनन्।

'कार्यकर्ताहरुले चाहेर मात्र नहुने। तर, उनी आफैँ नचाहेपछि हाम्रो के लाग्छ र?,' ती सचिवालयका सदस्यले अगाडि भने, 'पार्टीभित्रको लिगेसीका कारण उनलाई नेता मान्नेहरु छन्। तर, पुराना कार्यकर्ताहरुलाई उहाँले विश्वासमा लिन सक्नुभएन। उहाँको साथमा रहेका पुराना कार्यकर्ता अहिले उहाँको साथमा नहुनु कार्यकर्ताको संरक्षण नगर्नुकै परिणाम हो।'

नेपाल बाहिर रहेका ती सदस्यले भने- 'उहाँ नेता हो दुई मत भएन। तर, नेता बनाइरहन सक्नुभएन। अरुले बनाइदिनुपर्ने देखियो।'

न घरका न घाटका

पुरानो घरमा छाडेर नयाँ घरतिर लागेका बादल अहिले 'न घरका न त घाटका' अवस्थामा पुगेका छन्। पहिलो संविधानसभामा चितवनबाट प्रत्यक्ष निर्वाचित भएका बादलले दोस्रो संविधानसभा भने बहिस्कार गरेका थिए। दोस्रो संविधानसभा निर्वाचन अगाडि मोहन वैद्य 'किरण' नेतृत्वमा अलग माओवादी पार्टी बनाएर त्यसको महासचिव बने।

पहिलो संविधानसभा निर्वाचनमा पहिलो दल बनेको माओवादी दोस्रो संविधानसभामा आइपुग्दा तेस्रो दलमा खुम्चिन पुग्यो। माओवादीको ४० प्रतिशतको हिस्सा वैद्य नेतृत्वमा पुगे। बादल महासचिव बने। तर, संगठन निर्माणको जिम्मा पाएका उनले नयाँ पार्टीलाई गति दिन सकेनन्। उनले पार्टीलाई दिशा दिन नसकेको आरोप लगाउँदै किरण नेतृत्वको नेकपा-माओवादीमा अन्तरसंघर्ष सुरु भयो। उनको चर्को आलोचक थिए नेत्रविक्रम चन्द 'विप्लव'। बादलकै कारण चर्किएको अन्तरसंघर्षले विप्लव नेतृत्वको समूह अलग भयो। नयाँ पार्टी गठन भयो।

बादल पनि वैद्यसँग धेरै रहन सकेनन्। उनी पुन: प्रचण्डको साथमा फर्किए। संगठन क्षमता र कार्यकर्तामा राम्रो पहुँच नभएका कारण उनी प्रतिनिधिसभा निर्वाचनमा उठ्न चाहेनन्। सुरक्षित मानिएको राष्ट्रियसभामा उठे। तत्कालीन एमाले र माओवादी केन्द्रको गठबन्धनबाट 'गोलाकारभित्रको हँसिया हतौडा'मा मत पाएर उनी विजयी भए। गोलाप्रथामा ६ वर्षको चिट्टा थुतेका बादल त्यतिबेला संकटमा परे जतिवेला सर्वोच्च अदालतले नेकपाको एकतालाई बदर गर्दै एमाले र माओवादी केन्द्रलाई अलग गरिदियो।

नेकपा हुँदा ओलीलाई साथ दिएका बादल माओवादीमा फर्किन चाहेनन्। कारबाहीमा परे। राजनीतिक जीवनको अधिकांश समय माओवादी आन्दोलनमा समाहित भएका, दुई पटकको चुनावमा माओवादीका उम्मेदवार बनेर हँसिया हतौडामा मत पाएर विजयी भएका बादल यसपटक नेकपा (एमाले) का उम्मेद्वार भएर चुनावमा होमिए। सूर्य चिन्हमा मतदान गरी बादललाई बिजयी गराउन निर्वाचन आचारसंहित उल्लंघन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका मतदाताहरुलाई आग्रह गर्दै विज्ञप्ति जारी गरे।

एमालेका महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले ह्वीप जारी गरे। तर, उनको विजयीलाई सुनिश्चित गर्न सकेन् र सूर्य चिन्हभन्दा बढी मत लिएर एमालेभित्रकै अर्को समूहका खिमलाल देवकोटाले कलम चिन्हमार्फत जित हात पारे। यतिबेला बादलको हातमा न मन्त्री पद रह्यो। न राष्ट्रियसभा सदस्य नै। न त उनी एमालेका नेता बन्न सके। न त अब उनलाई माओवादी कार्यकर्ताहरुले नेता मान्न सक्छन्। बादल न घरका न त घाटका  हुँदै राजनीतिक अवसानको दिशामा लागे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell