काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध कुनै कदम चाल्ने कि नचाल्ने बारेमा छलफल सुरु भएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा विपक्षी दलका शीर्ष नेताहरुको बैठकमा महाअभियोगबारे छलफल हुँदैछ।
पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजादी पार्टी अध्यक्ष उपेन्द्र यादवबिच छलफल सुरु भएको प्रचण्ड निकट नेताले बताए।
उक्त छलफलले अबको कदमबारे निर्णय गर्ने बताइएको छ। राष्ट्रपति भण्डारीले संविधानको उल्लंघन गर्दै धारा ७६को उपधारा ५ अनुसार सरकार गठनका लागि आह्वान गरेको भन्दै विपक्षी नेताहरु आक्रोशित भएका हुन्।
हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अन्तर्गतको नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन्। धारा ७६(३) अन्तर्गतको प्रतिनिधिसभाको ठूलो दलको नेता केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले ७६(५) अन्तर्गतको सरकार निर्माणका लागि शुक्रबार साँझ ५ बजेसम्म अर्थात् २१ घण्टाको समय दिएकी छन्।
राति ८ बजेतिर राष्ट्रपति भण्डारीले ७६(५) को सरकार गठनका लागि आह्वान गरेपछि मुलुकमा अर्को राजनीतिक तरङ्ग उत्पन्न भएको थियो। प्रधानमन्त्रीले राजीनामा नै नगरी वा विश्वासको मत लिने प्रकृया नै छलेर नयाँ प्रधानमन्त्रीका लागि ओलीले सिफारिस गर्नु र त्यसलाई 'रबर स्ट्याम्प' शैलीमा राष्ट्रपतिले अगाडि बढाएपछि विपक्षी दलका नेताहरु सशंकित भएका हुन्।
आज बिहान नेपाली कांग्रेसको पदाधीकारी बैठक बसेको थियो। बैठकले आगामी राजनीतिक रणनीतिबारे अन्य दलहरुसँग छलफल गर्ने निर्णय निकालेको थियो। त्यसैगरी आजै माओवादी स्थायी कमिटीको बैठक बस्दैछ। यसैबिच प्रधानमन्त्री ओलीले अप्रत्यासित रुपमा पत्रकार सम्मेलन आयोजना गर्दैछन्। यता चर्को विवादमा परेको जनता समाजवादी पार्टीको पनि बैठक चलिरहेको छ। जसपाको एउटा पक्ष ओलीसँग मिलेर अगाडि बढ्न तयार छ भने अर्को पक्ष विपक्षी मोर्चामा उभिने रणनीतिमा।
राजनीतिक घटनाक्रम तीब्र रुपमा बढिरहेकाले अब के हुन्छ भन्नेमा सबैको चासो छ।
