काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि शुक्रवार ५ बजेका लागि दिएको समयसीमा नजिकिन लाग्दा विपक्षी अलमलमा देखिएका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानीलकण्ठमा डाकेको विपक्षी दलका शीर्ष नेताहरुको बैठक निर्णयविहीन भएको छ। बैठकबाट बाहिरिँदै माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक निर्णयविहीन भएको बताए।
'विकल्पमाथि छलफल भइरहेको छ। सायद एकछिनपछि निर्णयमा पुग्छौं,' उनले भने। कांग्रेस पदाधिकारी बैठक सकिए लगत्तै बुढानीलकण्ठ प्रचण्ड देउवा निवास पुगेका थिए।
यता बैठकमा सहभागी नेता नारायणकाजी श्रेष्ठले कुनै निष्कर्ष निस्कन नसकेको बताए। श्रेष्ठले भने, 'कसरी जाने भन्नेबारेमा छलफल भयो। तर केही टुंगो लागेको छैन। छलफलको प्रक्रिया जारी छ।'
राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग र प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वासको प्रस्तावबारे छलफल भए पनि निर्णयमा नेताहरु नपुगेका हुन्। छलफलमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित जनता समाजवादीका उपेन्द्र यादव लगायतका नेताहरुको सहभागिता थियो।
