लामो समययता चर्किएको आन्दोलनका कारण कोपा अमेरिका २०२१ को 'को होस्ट'बाट कोलम्बिया बाहिरिएको छ। अर्जेन्टिनामा र कोलम्बियामा संयुक्त रुपमा हुने भनिएको प्रतियोगिता पछिल्लो समय सरकारविरुद्धमा जारी आन्दोलनका कारण कोलम्बियामा नहुने भएको हो। यसअघी नोभेम्बरमा पनि कोलम्बियाबाट खेल सार्ने प्रस्ताव गरिए पनि साउथ अमेरिकन फुटबल फेडेसनले यो ‘असम्भव’ भन्दै अश्विकार गरेको थियो।
कोलम्बिया बाहिरिएसँगै प्रतियोगिताका सबै खेल अर्जेन्टिनामा नै हुने भएका छन्।
कोलम्बियाको सरकारले एउटा विवादास्पद करसम्बन्धी कानुन ल्याएपछि अप्रिलयता कोलम्बियामा विरोध चलिरहेको छ। उक्त कानुनलाई हटाइए पनि प्रहरी ज्यादती, कम ज्याला, युवाहरुको लागि अवसरको अभाव जस्ता मुद्धा लिएर अझै अन्दोलन चलिरहेको छ।
यही आन्दोलनका कारण केही कन्टिनेन्टल कपका खेलहरु पनि कोलम्बियाबाट पाराग्वे र इक्वेडरमा सारिएको थियो। त्यसबाहेक कोभिड महामारीबाट पनि यो देशमा संक्रमण उच्च छ। उता अर्जेन्टिनामा पनि कोभिडको दोस्रो वेभको असर देखिन थालेपछि मे ३१ सम्मका लागि कडा लकडाउन गरिएको छ।
