काठमाडौं : विपक्षी दलहरुको बैठक फेरि सिंहदरबारमा ३ बजे बस्ने भएको छ। शुक्रवार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा बैठक बसेको थियो। उक्त बैठक निष्कर्षविहीन बनेपछि फेरि सिंहदरबारमा बस्न लागेको हो।
शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल लगायत नेताहरुको बैठक बस्न लागेको हो।
त्यसअघि सिंहदरबारमै माओवादी केन्द्रको बैठक बस्दै छ। माओवादी केन्द्रको स्थायी कमिटीको बैठक १ बजेका लागि पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको भए पनि उक्त बैठक स्थगित गरे सांसदहरु सहित सिंहदरवारमा बस्न लागेको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनका लागि दिएको समयसीमा आज ५ बजे सकिँदै छ। उक्त समयसीमा भित्र निकास दिनका लागि विपक्षी गठबन्धनका नेताहरुको दौडधुप सुरु भएको हो। नेपाली कांग्रेसको पदाधिकारी बैठकले सरकारको विकल्प खोज्ने बारेमा सर्वदलीय छलफल गर्ने निर्णय गरेको थियो।
