PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

प्रतिपक्षी दलभित्र अनेक बहस : राष्ट्रपतिमाथि महाअभियोग, प्रधानमन्त्री बनाए माधव नेपालसँग ३५ सांसद आउने!



पहिलोपोस्ट

प्रतिपक्षी दलभित्र अनेक बहस : राष्ट्रपतिमाथि महाअभियोग, प्रधानमन्त्री बनाए माधव नेपालसँग ३५ सांसद आउने!

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समयसीमा सकिन केही घण्टामात्रै बाँकी रहेका बेला विपक्षी दलहरु तीब्र तयारीमा जुटेका छन्।

नेपाली कांग्रेसका शीर्ष नेताहरु बुढानीलकण्ठमा, माओवादी केन्द्र र एमालेको माधवकुमार नेपाल समूह सिंहदरबारमा जुटेका हुन्। माओवादी केन्द्रका नेता देव गुरुङले संसद विघटनबाट रोक्नका लागि कदम चाल्ने तयारीस्वरुप छलफल भइरहेको बताए।

प्रचण्ड निकट एक अर्को स्रोतका अनुसार माओवादी केन्द्रको बैठकमा राष्ट्रपति भण्डारीलाई महाअभियोग लागाउनेबारे सांसदहरुसँग छलफल भइरहेको छ। 'अहिलेको संविधान बचाउनका लागि कठोर कदम चाल्ने तयारी हुँदै छ। अब हेरौं,' माओवादी स्रोतले भन्यो।

यस्तै, नेपाल समूहका सांसदहरु पनि आजै बिहान बुढानीलकण्ठमा भएको कांग्रेस अगुवाइको सर्वदलीय बैठकपछि सिंहदरबारमा जुटेको छ। नेपाल समूहका सांसद जीवनराम श्रेष्ठले सांसदहरुको भेटघाटबारे पुष्टि गरे।

नेपाल निकट नेताहरुहका अनुसार बुढानीलकण्ठमा नेपाललाई प्रधानमन्त्री बनाउनेबारेमा पनि छलफल भएको थियो। तर, निर्णय भने नभएको नेपाल समूहका नेताहरु बताउँछन्। नेपाल समूहले नेपाल प्रधानमन्त्री बन्ने अवस्थामा आफ्नो पक्षमा एमालेका ३५ सांसद रहने बताउँदै आएको छ। फाइनल निर्णयका लागि विपक्षी गठबन्धनका नेता देउवा, प्रचण्ड, नेपालसहित जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव आफ्नो दलसँगको आन्तरिक छलफल पछि सिंहदरबारमा ३ बजे भेट्दैछन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेका छन्। बालुवाटारमा पत्रकार सम्मेलन गरेर ओलीले नयाँ सरकार गठनको आह्वान गरेर आफूले मार्ग प्रशस्त गरेको दाबी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell