PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका मुख्यमन्त्रीले भने : खर्च र जनशक्ति कति चाहिन्छ भन्नुस्, तर सेवा दिनुस्



पहिलोपोस्ट

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका मुख्यमन्त्रीले भने : खर्च र जनशक्ति कति चाहिन्छ भन्नुस्, तर सेवा दिनुस्

पोखरा : गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी समालेपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका पदाधिकारीलाई कोभिड सुरक्षा र सतर्कतासम्बन्धी ब्रिफिङ गरेका छन्।

ब्रिफिङमा गुरुङले स्वास्थ्यको संरचना, उपकरण र जनशक्तिलाई प्राथमिकतामा राख्ने बताएका छन्।

प्रदेशले प्राथमिकतामा राखेको उक्त तीन विषयलाई पूर्णता दिन संघीय सरकारसँग संयोजन गर्ने गुरुङको भनाइ छ। उनले कोरोनाको दोस्रो लहरमा देखिएको भेरियन्ट झनै खतरनाक रहेको बताउँदै सम्बन्धित निकाय र व्यक्तिलाई तत्काल एक्सनमा जान अनुरोध समेत गरेका छन्।

अहिलेको महामारीमा तत्काल जनशक्ति आवश्यक रहेको गुरुङको भनाइ छ। ‘तत्काल चाहिने भनेको जनशक्ति हो, जनशक्ति बिना आइशोलेसन राखेका छौँ,’ गुरुङले भने।

उनले अब प्रदेशमा जनशक्ति अभाव हुन नदिने प्रतिबद्धता जनाएका छन्। ‘खर्च र जनशक्ति कति चाहिन्छ भन्नुहोस्,’ गुरुङले भने, ‘म सबै पुरा गराउँछु तर सेवा दिनुहोस्।’

कोभिडको क्षेत्रमा काम गर्न खर्चिलो रहे पनि जनता बचाउने पहिलो जिम्मेवारी रहेकाले बजेट जसरी पनि जुटाउने बताए। तर खर्च अनुरुपको काम गराई हुनुपर्नेमा उनको जोड छ।

गुरुङले गण्डकीमा स्वास्थोपचारका लागि प्रदेश सरकार र मन्त्रालय सक्षम र स्मार्ट हुनुपर्ने धारणा राखेका छन्। उनले कोरोनाका बिरामीलाई मनोवैज्ञानिक परामर्शसमेत आवश्यक रहेकाले स्वास्थ्यकर्मीहरु व्यावहारिक हुनुपर्नेमा जोड दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell