PahiloPost

May 13, 2024 | ३१ बैशाख २०८१

ला लिगा च्याम्पियनदेखि रेलिगेसनसम्मको टुंगो लाग्दै : एट्लेटिको मड्रिड अघिअघि, रियल मड्रिड पछिपछि



पहिलोपोस्ट

ला लिगा च्याम्पियनदेखि रेलिगेसनसम्मको टुंगो लाग्दै : एट्लेटिको मड्रिड अघिअघि, रियल मड्रिड पछिपछि
Photo: Marca

स्पेनिस ला लिगामा अन्तर्गत आज अन्तिम चरणका खेलहरु हुँदैछन्। आजकै खेलबाट ला लिगाको २०२०/२०२१ को सिजनको च्याम्पियन पनि घोषित हुनेछन्। ला लिगा च्याम्पियन बन्ने होडमा एट्लेटिको मड्रिड र रियल मड्रिड छन्। रियल मड्रिडले लिगको अन्तिम खेलमा आज भिल्ला रियलसँग खेल्ने छ भने एट्लेटिको मड्रिडले भालाडोलिडसँग खेल्नेछ। दुबै खेल बेलुकी ९: ४५ मा सुरु हुनेछ।

अन्तिम चरणको खेल बाँकी रहँदा एट्लेटिको मड्रिड ८३ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ भने रियल मड्रिड ८१ अंक जोडेर दोस्रो स्थानमा छ। तेस्रो स्थानमा रहेको बार्सिलोनाले ७६ अंक जोडेको छ जो शीर्ष दुईको होडबाट बाहिरिसकेको छ। बार्सिलोनाले पनि आजै राति आईबरसँग प्रतिस्पर्धा गर्दैछ। बार्सिलोनाको खेल पनि बेलुकी ९: ४५ मै सुरु हुनेछ। रियल मड्रिड लिगको साविक विजेता हो भने एट्लेटिको मड्रिडले पछिल्लो पटक सन् २०१३/१४ को सिजनमा उपाधि उचालेको थियो।

आजको खेलमा उपाधि उचाल्नका लागि एट्लेटिको मड्रिडलाई आफ्नो जित या रियल मड्रिडको हार आवश्यक पर्नेछ। रियल मड्रिडले बराबरी खेलेको खण्डमा पनि एट्लेटिको च्याम्पियन बन्नेछ। तर रियलको लागि भने च्याम्पियन आफ्नै बलबुतामा बन्न सम्भव छैन। च्याम्पियन बन्नका लागि आफूले जित त अनिवार्य निकाल्नु नै पर्छ त्यसमा एट्लेटिकोको हार पनि आवश्यक पर्नेछ। एट्लेटिकोले बराबरी खेलेको र रियलले जितेको खण्डमा रियल नै च्याम्पियन बन्ने छ।

त्यस्तै शीर्ष चारमा रहँदै च्याम्पियन्स लिगमा स्थान पक्का गरिसकेको अर्को टोली हो सेभिया। अन्तिम खेल बाँकी रहँदा ७४ अंक जोडेको सेभियाले अन्तिम खेलमा अलाभेससँग खेल्न बाँकी छ। यदि बार्सिलोनाले भरे रातिको खेलमा पराजय ब्यहोरेमा सेभिया शीर्ष तीनमा पुग्ने सम्भावना रहन्छ। सेभियाको खेल सोमवार राति रहेको छ। त्यस्तै युरोपा लिगका लागि शीर्ष ६ भित्र पर्न तीन टिम संघर्षरत छन्। ५९ अंक जोडेको रियल सोसिडाड पाँचौं र समान ५८ अंक जोडेका रियल बेटिस र भिल्ला रियल छैटौं र सातौं स्थानमा छन्। युरो कपमा छनोट हुनका लागि शीर्ष ६ भित्र रहन आवश्यक हुन्छ। यद्यपि यो सिजनमा युरोपा लिगको फाइनलमा पुगेको भिल्ला रियलको लक्ष्य भने युरोपा लिगको उपाधि उचाल्दै च्याम्पियन्स लिगमा प्रवेश गर्ने हुनेछ। भिल्लारियलले युरोपा लिगको फाइनलमा मे २७ मा म्यानचेस्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ।

रेलिगेसन जोनमा संघर्ष

अन्तिम चरण सुरु हुन अघि रेलिगेसन जोनमा पनि त्यतिकै संघर्ष देखिएको छ। तालिकाको पुछारका तीन टिम रेलिगेट हुनेमा एल्चे ३३ अंकसहित १८ औं स्थानमा छ भने ३१ अंक जोडेको भालाडोलिड १९ औं स्थानमा र आईबर ३० अंकसहित पुछारमा छ। १६ औं स्थानको गेटाफे ३७ अंक जोडेर रेलिगेशनको भयबाट माथि उठिसकको छ भने १७ औं स्थानको हुएस्का ३३ अंक जोडेर अझै रेलिगेशनको भयमा छ। एल्चे, हुएस्का र भालाडोलिड मध्ये एक टिम रेलिगेशनबाट बच्ने छन्। आज राति हुने खेलमा हुएस्काले भ्यालेन्सियासँग खेल्नेछ भने भालाडोलिडले एट्लेटिको मड्रिड र एल्चेले एथ्लेटिको बिल्बाओसँग खेल्नेछन्।

सर्वाधिक गोलकर्तामा मेस्सी अगाडि

ला लिगाको अन्तिम चरणको खेल अघि सर्वाधिक गोलकर्ताको सूचिमा बार्सिलोनाका लियोनल मेस्सी सबैभन्दा अगाडि देखिएका छन्। उनले जारी सिजन ३० गोल गरेका छन्। त्यस्तै २७ गोल गरेर भिल्लारियलका जेराड मोरेनो दोस्रो स्थानमा र रियल मड्रिडका करिम बेञ्जेमा २१ गोलसहित तेस्रो स्थानमा छन्। त्यस्तै एटलेटिको मड्रिडका लुइस स्वारेज २० गोलसहित सर्वाधिक गोल कर्ताको सूचीमा शीर्ष चारमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell