PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध कसरी अघि बढ्ने? छलफल गर्न कांग्रेसले बोलायो पदाधिकारीको बैठक



पहिलोपोस्ट

राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध कसरी अघि बढ्ने? छलफल गर्न कांग्रेसले बोलायो पदाधिकारीको बैठक

काठमाडौं : नेपाली कांग्रेसले पदाधिकारीको बैठक बोलाएको छ। सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बिहान ९ बजे पदाधिकारीको बैठक बस्न लागेको हो। 'पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाइएको छ। बैठक अहिले ९ बजेका लागि बोलाइएको हो,' कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधि सभा विघटन गरेर निर्वाचन घोषणा गरेपछि कांग्रेसले यसबारे कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न बैठक डाकेको हो। बैठकमा राष्ट्रपति र प्रधानमन्त्रीको पछिल्लो कदमविरुद्ध कांग्रेसको रणनीति तय गरिने बताइएको छ।

कांग्रेस नेताहरुले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको कदमको चर्को विरोध गरिरहेका छन्।

कांग्रेसका प्रवक्त विश्वप्रकाश शर्माले राष्ट्रपति भण्डारी र प्रधानमन्त्रीओलीलाई कोरोना भाइरसको संक्रमणबिच हुने मध्यावधि निर्वाचन महंगो पर्ने चेतावनी दिएका छन्।

ट्वीट गर्दै शर्माले राष्ट्रपति र प्रधानमन्त्रीलाई मध्यावधिको रंगीन सपना महंगोपर्ने बताएका हुन्। महाभारतको संक्षिप्त सार भनेकै अहंकारको विनाश भएको उल्लेख गर्दै शर्माले सांकेतिक रुपमा ओलीको अहंकार पनि अन्त्य हुने बताए। साथै, उनले संविधानको सामुहिक बलात्कारको दुष्परिणाम महंगो पर्ने समेत बताएका छन्।

कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको सनकमा देशलाई अँध्यारो सुरुङमा हालेको आरोप लगाएका छन्। थापाले प्रक्रिया देखाएर सेटिङमा संसद र संविधानको हुर्मत लिएकोसमेत आरोप लगाएका छन्। 'खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो, न संसद! विघटन, पुनर्स्थापित संसदको अपमान, विश्वासको मतको नाटक,७६(३)को सरकार गठन, विश्वास लिनुको सट्टा७६(५)को आव्हान, अनुकुल नभएपछि फेरी विघटन! कस्तो सेटिङ! प्रकृया त देखाउनमात्र थियो, यिनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो। लिए!,' उनले भनेका छन्।

थापाले यस्तो निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गर्नसमेत आह्वान गरेका छन्। उनले भनेका छन्, 'सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन्। महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यही र यत्तिमै रोकिने वाला छैनन्। नेतागण! नअलमलिउँ, खुट्टा नकमाऔं, सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell