काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटीको बैठक बोलाएका छन्। पार्टी कार्यालय पेरिसडाँडामा ३ बजेका लागि बैठक बोलाएको स्थायी कमिटी सदस्य देव गुरुङले जानकारी दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधिसभालाई विघटन गरेपछि माओवादीको स्थायी कमिटीको बैठक बस्न लागेको हो। शनिवार विपक्षी पाँच दलको संयुक्त बैठकपछि प्रचण्डले स्थायी कमिटीको बैठक बोलाएको हुन्। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा नेताहरुलाई प्रचण्डले ब्रिफिङ गर्ने तयारी छ।
पार्टीको रणनीति कस्तो बनाउँने भन्नेबारेमा पनि बैठकमा छलफल हुने अर्का स्थायी कमिटी सदस्य गणेश साहाले जानकरी दिए। 'अब ओलीले संसद विघटन गरिनै हाले। अब कसरी अगाडि बढ्ने भन्नेबारेमा छलफल हुन्छ,' उनले भने।
प्रचण्डले पहिलोपट पुस ५ मा ओलीले गरेको प्रतिधिनिधिसभाको विघटनको बेलामा जस्तै कानुनी र राजनीतिक लडाइ लडने बताएका छन्। उनले त्यसका लागि स्थानीय तहबाटै प्रतिरोधको सुरुवात गर्ने बताएका थिए।
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि माओवादी सहितका दलहरुले शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दावी प्रस्तुत गरेका थिए। त्यसअघि नै ओलीले नै प्रधानमन्त्रीको दावी गरेको भए पनि राष्ट्रपतिले दुवै उम्मेद्वारीलाई खारेज गरेकी हुन्। लगत्तै ओलीले मन्त्रिपरिषदको बैठक बोलाएर राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेका थिए।
