PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

विद्या र ओलीको राजनीतिक उडान : संक्रमण नियन्त्रण न निर्वाचन



पहिलोपोस्ट

विद्या र ओलीको राजनीतिक उडान : संक्रमण नियन्त्रण न निर्वाचन

बोलीको विश्वास हुन्थ्यो भने शीतल निवासमा प्रतिपक्षी मोर्चा भन्दा १५ मिनेट अघि पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दावेदारी पेश गर्दैन थिए। बालुवाटारमा पत्रकारसँग निर्धक्क - मसँग बहुमत छैन भन्दै उनले दिएका अभिव्यक्तिहरु सबैले सुनिरहेका थिए। आफ्नै बोली दुई घन्टा पनि नकट्दै आफूसँग बहुमत रहेको दावी गर्न शीतल निवास दौडिहाले। ओलीले हठात् कुनै निर्णय गरे भने जो कोही पनि अलिकति पनि आश्चर्य चकित हुँदैन आजकल - किनकि कुनै पनि गलत हर्कत गर्नु ओलीका लागि 'नियमित आकस्मिकता' मात्र हो।  हालै इश्वर पोखरेल नेतृत्वको सीसीएमसी उनले खोसेर आफू मातहत ल्याए। इश्वरले के बदमासी गरे या नेतृत्वमा कमजोर भए, त्यसको ओलीले कसैलाई जवाफ दिँदैनन् किनकि - उनी यतिखेर सर्वेसर्वा हुन्। जवाफ किन दिने? त्यसैले ओलीले के के गरे भन्दै औला भाच्नुको कुनै अर्थ छैन। उनका जस्तोसुकै कदममा प्रश्न होइन, ठीक गर्नुभयो भन्ने 'रबर स्ट्याम्प सहयात्री'को साथ जारी छ।  

राष्ट्रपति विद्यादेवी भण्डारी त आफू केही होइनन्, उनैले प्रमाणित गरिरहेकी छिन्। ओलीका हरेक हर्कत उनका लागि 'हिहिहि...' हुन्। सपथ ग्रहणमा उनको 'गेस्चर' जस्तो देखियो त्यसले 'पदीय मर्यादा' भन्ने शब्दको अर्थ फेर्न तयार भए हुन्छ - प्राज्ञहरु। ओलीका हरेक उदण्डता र त्यसलाई सहर्ष स्वीकार्ने राष्ट्रपतिका कदमहरुले 'संविधान' उनीहरुका लागि अर्थहीन दस्तावेजमात्र हो भन्ने पुष्ट्याइ गरिरहेको छ। र, एउटा ठूलो पङ्क्ति उनीहरुको पछाडि छ जसले ओलीले गरेपछि - खराब पनि अशल हो मानिदिन्छ। विवेकको बिर्को बन्द गरेर तारिफ र तालीमात्र बजाउने यस्ता सेवकहरु आमनेसामने भएपछि ओली र विद्याको शैली आगामी दिनमा थप अराजक बाटोतिर उन्मुख हुनेछ। 

अबका दिनमा ओलीको व्यस्तता फेरि दोहरिएको देख्नेछौं - कान्तिपथतिर। सतहमा उनले निर्वाचनका लागि बडो मेहनत गर्न लागिपरेको देखाउने छन्। र, उनीविरुद्ध उत्रिने मोर्चाका गतिविधिबाट सबैको ध्यान भड्काउने छन्। पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि उनले यस्तै गतिविधि गरेका थिए। अब त्यसको पुनरावृत्ति हुनेछ। ओलीलाई थाहा छ - कोभिड १९ को तेस्रो लहर सन्निकट छ। त्यतिखेरको जोखिम अहिलेभन्दा भयावह हुनसक्छ। पहिलो लहरमा जसरी बेसार पानी र अम्बाको पातको बखानमा उनी जुटेका थिए, दोस्रो लहरमा पुग्दा 'नेपालीको प्रतिरोध क्षमता सोचेजस्तो रहेनछ' भन्ने अवस्थामा पुगेका छन्। तेस्रो लहरमा पुग्दा उनले  चुनाव हुन नसक्ने आधार पेश गर्नेछन् - कोरोनाको कहरलाई लिएर। त्यतिञ्जेल उनले गर्न हुने नहुने केही बाँकी राख्ने छैनन्। ओलीले चुनाव एउटै शर्तमा भने गर्नेछन् - आफ्नो दलले बलियोसँग जित निकाल्छ भने। अन्यथा के हुन्छ गए रातिको प्रकरणले जवाफ दिइसकेको छ। 

ओलीको यो अहमता यसै आएको भने होइन। उनका गतिविधिलाई लगाममा लिन नसक्ने नेकपा एमालेको शीर्ष तह, सधैं सत्ताको लाचार छायाँको भूमिकामै रमाइरहने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र प्रश्न गर्न बन्द गर्ने नागरिक समाज दोषी छ - ओलीको अराजक श्रृङ्खलताका लागि। नागरिक समाजको एउटा ठूलो हिस्सा त ओलीको तालमा मस्त झुमिरहेको छ। यतिसम्म कि त्यो तप्काले कोभिड १९ को यस्तो संक्रमणमा खोप ल्याउन सरकारलाई दवाव दिन समेत आवश्यक ठानेन।  

ओलीको सनक र विद्याको विवेकहीन व्यवहारलाई प्रतिपक्षी मोर्चाले कसरी सम्बोधन गर्छ, थाहा छैन। सिर्जनशील प्रयास गर्ने नेतृत्व त्यता पनि छैन। आगामी दिनमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको 'राजनीतिक झेली'विरुद्ध प्रतिपक्षी मोर्चाको रवैयाले मुलुक कुन दिशातिर जान्छ अनुमान गर्न सकिन्छ। अन्यथा न कोरोनाको कहर सहजै व्यवस्थापन हुन्छ, न त निर्वाचन नै। ओलीको महत्त्वाकांक्षाले अझै कति उडान भर्न बाँकी छ थाहा छैन। त्यो उडान ओली र विद्याका लागि रोमाञ्चक हुनेछ र जनतका लागि पीडादायी। किनकि उनीहरको महत्त्वाकांक्षाको सिकार हुने चाहिँ जनता त हुन्। त्यसैले प्रचण्डले भने झै सडक संघर्ष पनि अहिलेको अवस्थामा प्रत्युत्पादक हुन सक्छ। सुल्टिने आधार केही छ भने कानुनी उपचार नै हो। कानुन लत्याउनेलाई दण्ड कानुनी बाटोबाटै भयो भने विधि बच्न सक्छ। बाँकी भरोसा अब न्यायालयतिरमात्र हो। न्यायालयले पनि यतिखेर आफूलाई प्रमाणित गर्ने अबसर पाउन सक्छ - निष्पक्षताको कसीमा। पक्कै त्यो अवसर उसले गुमाउने छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell