काठमाडौं : विपक्षी दलका युवा संगठनहरुले संसद विघटन मार्फत संवैधानिक संकट निम्त्याउने प्रधानमन्त्री केपी ओलीको कदमको भर्त्सना गरेका छन्। विपक्षी गठबन्धनका ६ युवा संगठनले आज प्रेस विज्ञप्ति जारी गर्दै सबै मिलेर कोभिड-१९ ले निम्त्याउने संकटको निवारण गर्ने समयमा चुनाव गर्न चालिएको असंवैधानिक कदमको निन्दा गरेको बताएका छन्।
संघिय लोकतान्त्रिक गणतन्त्रप्रति शुरुदेखि नै पुर्वाग्रह राख्ने ओलीले संवैधानिक संकट निम्त्याउने आफनो प्रयत्नलाई एक कदम अगाडि बढाएका उनीहरुको आरोप छ। यो ओलीको २०७७ पुष ५ को असफल संसद विघटनको निरन्तरता मात्र भएको पनि उनीहरुले बताएका छन्।
ओलीले नेपाललाई संवैधानिक संकटको व्यवस्था सृजना गर्दै सिक्किमीकरणको दिशामा लान उद्यत भएको युवा संगठनहरुको आरोप छ।
युवा संगठनहरुले भनेका छन्, ‘विदेशी शक्तिकेन्द्रहरुको इच्छा अनुसार नेपालमा अस्थिरता सृजना गर्ने योजना अनुसार यस्तो कदम चालिएको हो भन्नेमा कुनै शंका छैन।’
देशको सर्वोच्च सम्माननिय संस्थाले समेत ओलीका असंवैधानिक कदमलाई रबरस्ट्याम्पको रुपमा मतियारी दिँदै आएको उनीहरुको आरोप छ। उनीहरुले पटकपटक संविधानको हत्या गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीलाई यथाशिघ्र कानुनी कठघरामा उभ्याउन राजनीतिक दलहरुसँग माग समेत गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अक्षम्य अपराधमा संलग्न भण्डारी तथा ओलीलाई पदमुक्त भइसकेपश्चात समेत कारबाही गर्ने वातावरण राजनीतिक तथा संवैधानिक हिसाबले समेत निर्माण गर्न अपिल गर्दछौँ।’
ओलीले चाल्ने हरेक गैरसंवैधानिक र राष्ट्रघाति कदमको डटेर सामना गर्न उनीहरुले आम नेपाली युवाहरुलाई आव्हान गरेका छन्।
‘युवाले इतिहासको कालखण्डमा हरेका तानाशाहहरुलाई घुडा टेकाएका छन्, युवाहरुको संयुक्त संघर्षमार्फत हरेक मोर्चामा ओलीलाई परास्त गर्दै देशलाई पुनः संवैधानिक व्यवस्था र राजनैतिक स्थायित्वको अवस्थामा पुर्याउन हामीहरु सक्षम हुने छौँ भन्ने सुनिश्चितता हामी आम जनसमुदायलाई व्यक्त गर्न चाहन्छौँ,’ विज्ञप्तिमा उल्लेख छ।

