काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती पत्रिका गार्डियनमा लेख प्रकाशित गर्दै विश्व समुदायलाई कोभिड-१९ विरुद्धको लडाइँमा सहयोग गर्न आग्रह गरे। त्यस्तै परराष्ट्र मन्त्रालयले पनि कूटनीतिक च्यानलबाट बेलायत सरकारलाई स्वास्थ्य सामाग्री सहयोगको लागि आग्रह गर्दै आएको छ।
यसबीच बेलायतले नेपाललाई केही स्वास्थ्य सामाग्री पठायो पनि। यद्यपि, नेपालको चासो भने खोपमा रहेको छ। नेपालले बेलायतबाट खोपको अपेक्षा राखे पनि बेलायतले यस विषयमा कुनै जानकारी गराएको छैन। यसैबीच बेलायतको संसद्को माथिल्लो सदन 'हाउस अफ लर्ड्स'मा नेपालबारे बहस भएको छ।
हाउस अफ लर्ड्सको बैठकमा १० जना लर्ड्सहरुले नेपालको कोभिड-१९ को संकट र बेलायत सरकारको सहयोग कार्यक्रमबारे प्रश्न गरेका थिए। त्यस्तै उनीहरूले खोप सहयोग गर्ने विषयमा नेपाललाई प्राथमिकतामा राख्न अनुरोध गरेका थिए। नेपालमा निर्वाचित सदन प्रतिनिधिसभामा कोरोना संक्रमणको अवस्थाबारे चर्चा गराउन नपाइ बन्धक बनाएर अन्ततः विघटन गरियो। उता, बेलायती संसदमा भने महामारीमा नेपालको अवस्थाबारे सांसद र मन्त्रीबीच सवाल जवाफ भएको हो।
बिहीबार भएको हाउस अफ लर्ड्सको सत्रमा जवाफ दिँदै बेलायतका विदेश कमनवेल्थ तथा विकास मामिला सम्बन्धी उपमन्त्री लर्ड तारिक अहमदले नेपाललाई कोभिड-१९ विरुद्धको खोप 'कोभ्याक्स' सुविधा अन्तर्गत प्राप्त हुने जानकारी दिए।
'बेलायतले कोभ्याक्सलाई ५४८ मिलियन पाउन्ड सहयोग गरेको छ। जसबाट तीन महादेशमा ५९ मिलियन डोज खोप पुगेको छ। यसमा नेपालमा गएको तीन लाख ४८ हजार डोज पनि सामेल छ,' उनले भनेका छन्, 'कोभ्याक्सले नेपालका लागि २० लाख डोज छुट्टाएको छ। जुन नि:शुल्क पुर्याइनेछ। हामीसँग हुने खोपको अभिशेष पनि कोभ्याक्सलाई प्रदान गर्नेछौँ।'
सोही दिन नेपालस्थित बेलायती राजदूत निकोला पोलिटले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेकी थिइन्। सो भेटमा प्रधानमन्त्री ओलीले 'अस्ट्राजेनेका कोभिड-१९ भ्याक्सिन' उपलब्ध गराउन अनुरोध गरेका थिए। राजदूत पोलिटले नेपालको प्राथमिकताका विषयमा छलफल भएको भन्दै नेपालले कोभ्याक्सबाट भ्याक्सिन प्राप्ति गर्नका लागि समर्थन रहेको जनाएकी थिइन्।
हाल नेपाल अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले विकास गरी भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्डको पहिलो डोज लगाएका १२ लाख बढी दोस्रो डोजको पर्खाइमा छन्। नेपालमा २३ लाख ४८ हजार कोभिसिल्ड आएकोमा १७ लाखले पहिलो डोज लगाएका थिए। केहीलाई दोस्रो डोज दिइए पनि भारतको सेरम इन्स्टिच्युटले खोप उपलब्ध नगराउँदा दोस्रो डोज प्रभावित भएको छ।
यसैबीच बेलायतले नेपालमा कोभिड-१९ को अवस्थाबारे अध्ययन गर्न विज्ञहरूको टोली नेपाल पठाउने तयारी गरेको छ। स्वास्थ्य क्षेत्रका विज्ञहरूको टोलीले नेपालमा कोभिड-१९ विरुद्ध स्वास्थ्य मन्त्रालयको प्रतिकार्य योजनामा सहयोग गर्ने बताइएको छ।
यस्तो छ सवाल-जवाफ
लर्ड लानकास्तर अफ किमबोल्टन- नेपाल सरकारले कोभिड-१९ विरुद्ध लड्नका लागि २० लाख कोभिड-१९ खोपको अपेक्षा व्यक्त गरेको छ। यस विषयमा सरकारले के तयारी गरेको छ?
उपमन्त्री लर्ड तारिक अहमद अफ विमव्लेडन- मेरा माननीय, खोपको समान पहुँच बेलायतको खोप वितरणको दृष्टिकोण भएको मेरा सम्माननीय साथी प्रधानमन्त्रीले स्पष्ट पारिसक्नु भएको छ। बेलायतले कोभ्याक्सका लागि ५४८ मिलियन पाउन्ड सहयोग गरेको छ। जसबाट ५९ मिलियन डोज तीन महादेशमा वितरण भइसकेको छ। जसमा नेपाललाई दिइएको तीन लाख ४८ हजार डोज पनि समावेश छ। कोभ्याक्सले नेपाललाई २० लाख डोज छुट्टाएको छ। जुन सित्तैमा उपलब्ध हुनेछ। हामीले भविष्यमा हाम्रो मुलुकमा चाहिएभन्दा बढी खोप कोभ्याक्सलाई नै उपलब्ध गराउने छौँ।
लर्ड लानकास्तर अफ किमबोल्टन- यो सरकारमा नेपालबारे बुझ्ने मेरा महान् मित्र मन्त्रीभन्दा अरू कोही ठूलो छैन। किनकी उहाँले बुझ्नुहुन्छ। तपाईँको लर्डसिपमा हाउसले दुई देशबीचको ठूलो सम्बन्ध बुझेको छ। २०० वर्ष देखिका हामीले भोगेका ठूला युद्ध तथा संकटहरुमा नेपालका साहसी युवा लडेका छन् र मुकुटको लागि सहादत प्राप्त गरेका छन्। अहिले उत्तरी भारतमा कोभिड फैलिँदा नेपालले संकट भोगेको छ। के मेरा महान् मित्रले हामीलाई विश्वास दिलाउन सक्नुहुन्छ कि यो साँझदेखि एयर कोरिडोर खुलेसँगै शताब्दीदेखिको हाम्रो मित्रलाई हामीले सक्ने सबै प्रकारका सहयोग दिन सकौँ?
उपमन्त्री लर्ड तारिक अहमद अफ विमव्लेडन- म मेरा महान् मित्रलाई नेपालको पक्षमा उहाँले गर्नु भएको काम र वकालत गर्नु भएको प्रशंसा गर्न चाहन्छु। मैले उहाँलाई के विश्वास दिलाउन चाहन्छु भने मैले यो बिहान सशस्त्र बल तथा रक्षामन्त्रीसँग भेट गरेको छु। कार्यान्वयन तथा पहुँचका लागि सैन्य, स्वास्थ्य तथा सल्लाहकारको टिम खडा गरेको छ। उनीहरूले अर्को साता आवश्यक अध्ययन र मुल्यांकनका लागि प्रस्थान गर्ने छन्। म पनि प्रत्यक्ष रूपमा नेपाल सरकारसँग संवादमा छु। मैले हिजो (मे १९) नेपालका परराष्ट्र मन्त्रीसँग रचनात्मक संवाद गरेर त्यहाँका प्रमुख आवश्यकता के हुन बुझेको छु। दिउँसो नेपालका राजदूतसँग यस विषयमा छलफल गर्दैछु। हामीले यसअघि नै नेपाल प्रहरी अस्पतालका लागि अक्सिजन जेनरेसन प्लान्ट स्थापनका लागि सहयोगसहितका सामाग्री पठाइसकेका छौँ। हामीले हाम्रो दूतावास, विदेश तथा कमनवेल्थ अफिस र रक्षा मन्त्रालयमार्फत तत्काल के सहयोग गर्न सकिन्छ भन्ने विषयमा काम गरिरहेका छौँ।
लर्डस् काम्पेल-सेवर्स- नेपालको ढोकैमा रहेको भारतको महाराष्ट्र राज्यको पुनेमा अवस्थित विश्वकै ठूलो उत्पादक सेरम इन्स्टिच्युट अफ इन्डियाले खोप पुर्याउन नसक्दा नेपालले भोगेको समस्याले कोभ्याक्सको काम बाहेक पनि विश्वको माग पूरा गर्नका लागि प्रभावकारी अन्तर्राष्ट्रिय भ्याक्सिन उत्पादन तथा वितरण प्रणालीको अभाव खड्किएको होइन र? विश्वको ८ बिलियन जनसंख्या जोखिममा छ र विश्वमा केवल चार बिलियन डबल डोज उत्पादन गर्ने क्षमता छ। यो वास्तविकता महसुस गर्दा कसरी विश्वको माग पूरा होला?
उपमन्त्री लर्ड तारिक अहमद अफ विमव्लेडन- महान् मित्रले भनेको सेरम इन्स्टिच्युट अफ इन्डियाको समस्या मैले भारतका लागि पनि मन्त्री भएका कारण राम्रोसँग बुझेको छु। र भारतमा चुनौती भनेको अहिले देशभरि नै फैलिरहेको वेभ हो भन्ने स्पष्ट छ। हामीले उत्पादन र सहकार्य बढाउनुपर्ने आवश्यकता देखेका छौँ। कोभ्याक्स सुविधाका लागि बेलायतको संरचनागत प्रणालीले महत्त्व दर्साइसकेको छ जुन महान् लर्डसले नै विश्वव्यापी सप्लाइ चेनको अवस्था र विश्वभर कोभिड-१९ खोपको वितरणलाई सुनिश्चित गर्नेछ।
बारोनेश नर्थोबर (लिवरल डेमोक्राट्स लर्ड्सका प्रवक्ता)- अहिले नेपालमा विनाशकारी रूपमा केसहरू बढिरहेको छ। हामीले यो ढाँचा विश्वव्यापी रूपमा प्रतिबिम्बित गर्न सक्छौँ। यद्यपि बेलायतले विश्वव्यापी खोप प्रयासमा सहायता कटौती गरेको रिपोर्टहरू आएका छन्। जी ७ को नेतृत्व प्रदान गर्दा हामीले त्यति पनि गर्न सकेनौँ भने, महामारीबाट निको हुनका लागि हामीले नेतृत्व गर्ने दाबीमा हामी कसरी विश्वास गर्न सक्छौँ?
उपमन्त्री लर्ड तारिक अहमद अफ विमव्लेडन- यो एउटा मात्र केस होइन। हामीले अन्य साझेदारहरूसँग मिलेर खोपको प्रयासलाई नेतृत्व गरिरहेको छ। मैले यसअघिकै जवाफमा भनिसकेको छु कि बेलायतले बढी भएको खोप कोभ्याक्स स्किममार्फत वितरण गर्नेछ।
लर्ड पोपट- दक्षिण एसियामा नेपाल र बेलायत सबैभन्दा पुरानो कूटनीतिक सम्बन्ध भएका देश हुन्। हाम्रो सम्बन्धलाई गोरखा सैनिकका पुस्ता र पर्वतारोहीहरुले प्रतिनिधित्व गर्छन्। नेपालको आवश्यकता बुझ्न र मानव स्याहार तथा सहयोग उपलब्ध गराउनका लागि कसरी नेपाल सरकारसँग संवाद गरिरहेको छ भन्ने कुरा के मेरा महान् मित्र मन्त्रीले रूपरेखा प्रस्तुत गर्न सक्नुहुन्छ?
उपमन्त्री लर्ड तारिक अहमद अफ विमव्लेडन- मैले यसअघि नै अन्तरसरकार प्रणाली र संरचनागत प्रणालीका बारेमा संकेत गरेको छु। हामी नेपाल सरकारसँग प्रत्यक्ष रूपमा काठमाडौँ र बेलायत दुबैमा संवादमा छौँ। हामीले प्राविधिक सहयोग र नेपालको स्वास्थ्य मन्त्रालयको प्रतिकार्यमा सहयोग पुर्याउनका लागि विज्ञहरू पठाउँदै छौँ। हामी काठमाडौँ र लण्डनमा सक्रिय संवादलाई निरन्तरता दिनेछौँ।
जोन मोन्टागु, दी अर्ल अफ स्यान्डविच- यो आपतकाल नेपालको गृहयुद्ध र २०१५ को भूकम्प बराबर जस्तै हो। विशेषगरि खोप र अक्सिजनको पर्याप्त मात्रामा स्थानीय आवश्यकताको विषयमा के बेलायतले पर्याप्त मात्रामा प्रतिक्रिया जनाएको छ? नेपाल सरकार र ग्रामीण स्वास्थ्य सेवामा अहिलेको नाजुकताका बारेमा मन्त्रीज्यू जानकार हुनुहुन्छ। त्यहाँ धेरै अनुभवी एनजिओहरू (नेपाली र अन्तर्राष्ट्रिय दुवै) छन् जसले क्लिनिकहरुलाई सुरक्षित आपूर्ति रेखामा सहयोग गरिरहेका छन्। के हामीले उनीहरूको पूर्ण सदुपयोग गर्नेका छौँ?
उपमन्त्री लर्ड तारिक अहमद अफ विमव्लेडन- मैले महान् अर्ललाई के विश्वास दिलाउन चाहन्छु भने, नेपालको आवश्यकतालाई पूरा गर्नका लागि बेलायतले काम गरिरहेका तथा अन्य अन्तर्राष्ट्रिय साझेदारहरूसँग हामी साथमा छौँ।
लर्ड कोलिन्स अफ हाईवरी (विपक्षी)- हिजो महारानीको भाषण बहसका क्रममा मैले निम्न तथा मध्यम आय भएका देशहरूमा स्थानीय उत्पादन क्षमतालाई सदुपयोग गर्न तथा बढाउन सुझाव दिएको थिएँ। आज लेवरले खोपको उत्पादन विश्वव्यापी रूपमा बढाउनका लागि १० बुँदे योजना अगाडि सारेको छ। जसमा विश्वव्यापी रूपमा रहेको उत्पादन क्षमताको सुविधा पनि समावेश छ। के सरकारले यो महत्त्वपूर्ण पहललाई समर्थन गर्छ?
उपमन्त्री लर्ड तारिक अहमद अफ विमव्लेडन - मैले त्यो १० बुँदे योजनालाई हेरिसकेको छैन तर, मैले यसलाई हेर्ने छु। यो अवसरमा, मैले महान् लर्डलाई निराश पारेको छु- मैले उहाँको ट्वीट हेरेको छैन- तर, मैले महत्त्वपूर्ण बुँदाहरूलाई प्रतिविम्ब पक्कै पनि गराउनेछु। सबै गाम्भीर्यतामा, अहिलेको महामारी मात्र नभइ भविष्यमा आउने महामारीहरूका चुनौतीहरूलाई उत्तम तथा अति प्रभावकारी परास्त गर्नका लागि हामी विश्वव्यापी रूपमै साझेदार गर्न आवश्यक छ।
बारोनेस स्टुअर्ट अफ एजबेस्टन (गिसेला स्टुअर्ट)- हामीले अहिलेको जनगणनालाई पर्खिनु पर्ला, नेपाली मूलका बेलायती नागरिकको अहिलेको अनुमानित जनसंख्या ८० हजार देखि एक लाख सम्म छ। मैले मन्त्रीज्यूलाई यो आग्रहलाई विदेश नीतिको रूपमा मात्र नहेरी हाम्रो आन्तरिक मुद्दाको रूपमा हेर्न के म सुझाव दिन सक्छु। हामीले स्थानीय समुदायसँग निरन्तर सम्पर्कमा रहनुपर्छ। उनीहरूलाई हामीले उनीहरूको परिवारलाई सहयोग गरिरहेको महसुस गराएका छौँ?
उपमन्त्री लर्ड तारिक अहमद अफ विमव्लेडन- म महान् बारोनेसलाई यो विश्वास दिलाउन सक्छु। हामीले हाम्रो डायस्पोरा समुदायमार्फत भारतलाई उपलब्ध गराएको सहयोगको अनुभव छ। मैले मेरो कार्यालयलाई निजी क्षेत्रका प्रतिनिधिहरूसँग छलफलको लागि अनुरोध गरेको छु जसले डायस्पोरालाई मजबुत गराउँदै नेपालको आवश्यकतामा सहयोग पुराओस्।
लर्ड शेख - म युके-नेपाल व्यापार तथा लगानी मञ्चको संस्थापक तथा अध्यक्ष र नेपाल सम्बन्धी अल पार्टी पार्लियामेन्ट्री ग्रुपको उपाध्यक्ष हुँ। म घोषणा गर्छु कि नेपालमा अहिले अवस्था नाजुक छ। यसलाई हाम्रो तत्काल सहयोग आवश्यक छ। मैले नेपाली डायस्पोराका प्रतिनिधि तथा महामहिम नेपाली राजदूतसँग पटक-पटक छलफल गरेको छु। त्यो देशलाई आइसियू भेन्टिलेटर. अक्सिजन सिलिन्डर र कन्सनट्रेटर, अक्सिजन प्लान्ट, आइसियू बेड, टेस्ट किट र पक्कै पनि खोपको आवश्यकता छ। मैले मन्त्री ज्यूलाई यस विषयमा पत्र लेखिसकेको छु। र जवाफको पर्खाइमा छु। मैले मुस्लिम च्यारिटीहरुलाई तत्काल नेपाललाई सहयोग उपलब्ध गराउन परिचालन गरेको छु।
उपमन्त्री लर्ड तारिक अहमद अफ विमव्लेडन- मैले मेरा महान् मित्रको पत्र प्राप्त गरेको छु। मैले त्यसको जवाफ दिने छु। लिस्ट मलाई जानकारी छ। र म डायस्पोरासँग संवादको विषयमा यसअघि नै भनिसकेको छु। म मेरा महान् मित्रसँग सम्पर्कमा रहनेछु र बैठक गरी हामी प्रत्यक्ष आवश्यकतालाई सम्बोधन गर्नेछौँ।
बारोनेस मिचर- म नेपाललगायत अन्य विकासशील देशहरुलाई खोप उपलब्ध गराएकोमा बेलायत सरकारलाई समर्थन र सराहना गर्दछु। के मन्त्रीज्यूले सदनलाई यो भन्न सक्नुहुन्छ कि हामीलाई हाम्रो बेलायतका कमजोर तथा वृद्ध समुदायलाई यो शरदमा बुस्टर ज्याबस् आवश्यक पर्नेछ? यदि त्यस्तो हो भने देशकै कमजोरलाई बुस्टरभन्दा माथि विकासशीलले देशहरुलाई प्राथमिकतामा राखिनेछ?
उपमन्त्री लर्ड तारिक अहमद अफ विमव्लेडन- हामी विकासशील देशहरूसँग उनीहरू आवश्यकता पूरा गर्न सक्षम छौँ भन्ने विश्वास दिलाउन काम गरिरहेका छौँ।
लर्ड फोल्कस अफ कमनोक- के मन्त्रीज्यूले बुझ्नु भएको छ, नेपालका प्रधानमन्त्रीले महसुस गरेकी उनले गलत गरे, राजीनामा दिए? यसले यो संकेत गर्दैन र त्यहाँका प्रधानमन्त्री यहाँका प्रधानमन्त्रीभन्दा सम्मानित छन्?
उपमन्त्री लर्ड तारिक अहमद अफ विमव्लेडन- हाम्रा प्रधानमन्त्रीलाई मैले चिनेको छु। मैले हाम्रा प्रधानमन्त्रीसँग जब उहाँ परराष्ट्र सचिव हुनुहुन्थ्यो त्यति बेला काम गरेको थिए। मैले हाम्रा प्रधानमन्त्रीको एउटा पक्ष देखेको छु सम्भवतः अन्य लर्डहरुले देख्नु भएको छैन। उहाँ यस्तो प्रधानमन्त्री हो जो आफैँ कोभिड-१९ सँग जुधेर आउनु भयो र कार्यालयमा फर्किनुभयो। महान् लर्डले मुन्टो हल्लाउनु भयो, तर यो महत्त्वपूर्ण हो-हामीले यो देख्यौँ। हामीले यसलाई सुन्यौँ र यसमा काम गर्यौँ। पहिलो प्राथमिकता, पहिलो कुरा, केवल बेलायतमा मात्र नभई विश्वभरि नै कोभिड-१९ लाई चुनौती दिन उहाँले नेतृत्व गर्नुभयो। उहाँ कोभ्याक्स सुविधा स्थापना गर्न सहायक हो जसबाट विश्वभरका ९२ विकासशील देशहरुले लाभ लिएका छन्। यो तथ्य हो। मैले प्रधानमन्त्रीलाई व्यक्तिगत रूपमा चिनेको छु र उहाँले यो ऐजेन्डामा अग्ररूपमा नेतृत्व गर्नुभएको छ।
नेपालबारे भएको सवाल जवाफ हेर्न यहाँ क्लिक गर्नुहोस्