PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

वीरगंजमा थप ४ जना कोरोना संक्रमितको मृत्यु, नयाँ संक्रमितको संख्या घट्यो



पहिलोपोस्ट

वीरगंजमा थप ४ जना कोरोना संक्रमितको मृत्यु, नयाँ संक्रमितको संख्या घट्यो

वीरगंज : वीरगंजमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। जसमा पर्साका २, बाराका एक र सर्लाहीका एक जना रहेका छन्।

दुई जनाको नारायणी अस्पतालमा, १/१ जनाको नारायणी वयोधा र स्पर्श अस्प्तालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। मृत्यु हुनेमा ५० देखि ७५ वर्ष उमेर समुहका ३ पुरुष र एक महिला रहेकी छन्।

वीरगंज-९ का ६५ वर्षीय वृद्धको नारायणी वयोध अस्पतालमा शनिवार बिहान ६:२० वजे मृत्यु भएको थियो। २२ गते अस्पताल भर्ना भएका उनको २८ गते पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो।

त्यसैगरी, पर्साको पकहामैनपुर गाउँपालिका-४ का ५३ वर्षीय पुरुषको शनिवार २ वजे स्पर्श मल्टिस्पेशिलिटी अस्पताल गण्डक बहुअरीमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी विनय श्रीवास्तवले जानकारी दिए। ३० बैशाखमा अस्पताल भर्ना भएका उनको जेठ ५ गते पीसीआरबाट संक्रमण पुष्टि भएको थियो।

त्यस्तै, नारायणी अस्पतालामा सर्लाही र बाराका गरी दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाहीको चकरभट्टा-६ का ७५ वर्षीय वृद्ध रहेका छन्। उनको गएराति साढे ८ बजे मृत्यु भएको थियो। २५ गते अस्पाल भर्ना भएका वृद्धमा एन्टिजेनबाट सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो।

यस्तै, बाराको महागढिमाई-२ की ५० वर्षीया महिलाको शनिवार दिउँसो साढे दुई बजे नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कोभिड फोकल पर्सन डा सरोजरोशन दासले जानकारी दिए। उनका अनुसार २८ गते पीसीआर पोजेटिभ देखिएकी उनलाई सोही दिन अस्पताल भर्ना गरिएको थियो।

वीरगंजमा नयाँ संक्रमितको संख्या घट्यो

वीरगंजमा पछिल्लो समय नयाँ संक्रमित थपिने क्रममा कमी आउँदै गएको छ। नारायणी अस्पताल पीसीआर प्रयोगशालामा शनिवार गरिएको २८८ जनाको स्वाब नमुना परीक्षणबाट ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

जसमा पर्साका ३४, बाराका १६, रौतहटका ५ र सर्लाहीका ३ जना रहेका छन्। ६ देखि ७८ वर्ष उमेर समूहका ४३ पुरुष र १५ महिलामा कोरोना पुष्टि भएको हो।

शुक्रवार २८८ जनाको परिक्षण गर्दा सय जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने बिहीवार २८८ जनाको स्वाब परीक्षणबाट ५४ जना र बुधवार २८८ जनामा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। एक साताअघि ७० प्रतिशतको हाराहारीमा संक्रमण दर रहेकोमा अहिले २० देखि ३० प्रतिशतको हाराहारीमा नयाँ संक्रमित थपिएका छन्। तीन सातादेखि वीरगंजमा लगाइएको निषेधाज्ञाले संक्रमणको चेन ब्रेक भएको चिकित्सकहरुको निष्कर्ष छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell