PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

एउटा त्यो केस जसले बादलको निधारमा 'असफल'को धब्बा लगाइरह्यो



सविन ढकाल

एउटा त्यो केस जसले बादलको निधारमा 'असफल'को धब्बा लगाइरह्यो

काठमाडौं : 'भीआइपीका छोराको संलग्नता छ। त्यसैले यो घटनाको अपराधी पत्ता नलागेको हो।'

अपराध कर्ममा जो संलग्न भए पनि आम बुझाइ भने यही हो जसलाई चिर्न पूरै असफल भए रामबहादुर थापा (बादल)। राजनीति गर्नेहरूले पनि बुझेर होस् वा राजनीतिक फाइदाकै लागि, भीआइपीका छोरा भन्दै आरोप लगाइरहे।

एउटा सार्वजनिक कार्यक्रममा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले नै भनेका थिए, ‘सरकारका मान्छेहरू नै, सरकार चलाइराखेका मान्छेका छोराछोरी नै हत्या र बलात्कारमा संलग्न छन् भन्ने प्रस्ट हुन्छ।'

एउटा बलात्कार र हत्याको घटनालाई लिएर चारैतिर भीआइपी! भिआइपी! मात्र गुञ्जायमान भयो। सबैले औला अरुतिर होइन, देशको गृह प्रशासन सम्हालिरहेका गृहमन्त्री रामबहादुर थापा बादलतिर नै थियो। एउटा मिडियामा त गृहमन्त्रीको छोरा नै संलग्न भएको संदेश दिनेखालको समाचार सार्वजनिक भयो। तर, पछि समाचार हटाइयो - पुष्टि नभएपछि।

घटना अरू कुनै होइन १३ वर्षीय निर्मला पन्त बलात्कार र हत्या प्रकरण नै हो। तीन वर्ष पुग्नै लाग्यो तर निर्मला पन्तको हत्यारा को हो भन्ने अझै खुल्न सकेको छैन। नेपाल प्रहरीका दुई प्रहरी महानिरीक्षक (आइजी) फेरिए। निर्मला प्रकरण जस्ताको त्यस्तै छ।

गृह मन्त्रालयको जिम्मेवारी सम्हालेकाले निर्मला हत्याकाण्ड जतिसक्दो चाँडो सुल्ट्याउनु गृहमन्त्री थापाको जिम्मेवारी नै थियो। त्यसमाथि आफ्नै छोरोको नाम जोडिन थालेकाले त्यो अफवाह चिर्न भए पनि केही गरेर देखाउन सक्थे। निर्मलाको हत्या र बलात्कार कसले गरेको हो प्रष्ट पार्न सकेको भए भ्रमहरु सबै सकिन्थे। तर तीन वर्ष बित्यो अपराधी को? भन्ने खुल्न सकेन। निर्मलालाई न्याय दिने विषयमा कालो बादल मडारिरह्यो।

तीन वर्षभन्दा बढी गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्ने मौका पाउँदा पनि रामबहादुर थापाले निधारमा निर्मला प्रकरणको कलंकको टीका लगाउँदै बिदा हुनुपर्‍यो। निर्मला प्रकरण नेपालको अपराध इतिहासमा जहिलेसम्म कायम रहन्छ तबसम्म बादल एक असफल गृहमन्त्रीका रुपमा परिचित रहिरहने छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारमा माओवादी केन्द्रको कोटामा गृहमन्त्री भएका थिए थापा। त्यसपछि २०७५ जेठ ३ गते दुई पार्टी एकीकरण भयो। एकीकरणपछि कुनै मन्त्रालय हेरफेर भने भएन। उनले नै गृहको नेतृत्व गर्न पाइरहे। २०७७ पुस ५ गते प्रधानमन्त्री ओलीको संसद् विघटन गरेसँगै दुई दलबिचको एकतामा दरार देखियो। एमालेका नेता नै असन्तुष्ट भएर सडकमा ओर्लिए। तर, बादल भने प्रधानमन्त्रीकै साथमा रहिरहे - त्यही मन्त्रालय सम्हाल्ने गरी।

विघटनको विवाद अदालतसम्म पुग्यो। संसद् त भंग हुनबाट जोगियो। पार्टीको नाम सम्बन्धि एक अर्को मुद्दामा सर्वोच्च अदालतले दुई पार्टीको एकीकरणलाई टुटाइदियो। त्यसो हुँदा बादल भने माउ पार्टीमा फर्किन चाहेनन्। प्रधानमन्त्री ओलीलाई नै साथ दिइरहे, नेकपा एमालेमा उनको इन्ट्री भयो। माओवादी केन्द्रले बादललाई सांसद पदबाट हटाएर कारबाही गर्‍यो। यता प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिन सकेनन्। तर, बहुमतको राष्ट्रिय सरकार नबनेपछि फेरी ठूलो दलका हैसियतमा ओली नै प्रधानमन्त्री भए।

गृहमन्त्रीमा दोहोरिए उनै बादल। गैर सांसदलाई मन्त्री बनाएको भन्दै उनीसहित संसद नरहेका ७ जनाविरुद्ध अदालतमा मुद्दा पर्‍यो। सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले जेठ ६ गते बिहीवार मन्त्रीको हैसियतमा रहेर कुनै काम कारबाही नगर्न भन्दै बादललगायत अन्य सात मन्त्रीको पद खोसिदियो। बादलमाथि त्यसै दिन अर्को बज्रपात पनि भयो।

वाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा पराजित भए। यससँगै बादलका लागि अर्को निर्वाचनबाट जितेर नआउन्जेल मन्त्री पद 'अमिलो अंगुर' बन्न पुग्यो।

बादललाई गृहमन्त्रीको जिम्मेवारीमा पूर्ण विराम लागे पनि निर्मला घटना प्रकरण भने ज्युँदै छ। सरकारको नेतृत्व गर्नेलाई अझै पनि आम मानिसले प्रश्न गरिरहेका छन् – खोइ त निर्मलाको हत्यारा? सबैभन्दा जवाफदेही पात्र रामबहादुर थापा कुनै जवाफविना बाहिरिएका छन्।

निर्मला प्रकरणमा पूरै असफल रहे गृहमन्त्री बादल। यसै प्रकरणमा उनले दिएका केही अभिव्यक्तिले निर्मला केस सुल्झाउनभन्दा उल्झाउन योगदान गर्‍यो। निर्मलाको शव भेटिएको पर्सिपल्ट प्रतिनिधिसभामा काँग्रेसलगायत प्रतिपक्षी सांसदहरूले घटनाबारे गृह मन्त्रीले जानकारी गराउनु पर्ने माग गर्‍यो।

थापाले त्यसको पाँच दिनपछि संसदमा घटनाबारे जानकारी गराउँदै भने, 'आफन्तले दिएको जानकारीका आधारमा दुई जनालाई पक्रिसकेका छौं - २२ वर्षका जीवन घर्ती मगर र १७ वर्षका दीपक नेगी।'

हतारमा गृहमन्त्रीले प्रहरीको अनुसन्धानमा नै रहेका व्यक्तिको नाम लिइदिए। संसद्को रोष्ट्रमबाट उनले सामान्य अनुसन्धानको लागि नियन्त्रणमा लिएका मानिसलाई 'अपराधी' बनाइदिए। गृहमन्त्रीले किटानीका साथ लिएका नाममध्ये एक जना यौन रोगी र अर्का 'खुकुरी हानेर निर्मलालाई मारेको हुँ' भन्ने मानसिक सन्तुलन ठीक नभएका व्यक्ति रहेको खुल्यो। दुवै केही दिनमै शंका र अनुसन्धानकै घेराबाट बाहिरिए।

तर, गृहमन्त्रीको अभिव्यक्ति सुनेका जो कसैले पनि सोधे - पहिले समातिएका दुई जना मानिस खोइ? यता अनुसन्धानमा खटिएका प्रहरी पनि गृह मन्त्रीको भनाइलाई लिएर असन्तुष्ट थियो। त्यतिखेर माहौल नै अर्कै थियो। गृहमन्त्रीदेखि प्रहरी महानिरीक्षक समेत अनुसन्धान गर्ने प्रहरीलाई मात्र दोष थुपार्न तल्लिन थिए। गृह मन्त्री र प्रहरी प्रमुख आफू भन्दा तलका प्रहरी कर्मचारीमाथि दोष थोपरेर आफू पानीमाथिको ओभानो हुने खेलमा जुटिरहे। त्यसको असर अनुसन्धानमा पर्ने नै भयो। आम मानिसको बुझाइमा पनि प्रहरीले मिलेर अपराधीलाई बचाउन खोजेको स्थापित हुँदै गयो। नेतृत्वको नालायकीले सिंगो प्रहरी प्रशासन बदनाम बनिरह्यो।

निर्मला प्रकरणबाट पाठ सिकेको प्रहरीले पछिल्ला दिनमा गृह मन्त्रीलाई कति सम्म ब्रिफ गर्ने 'फिल्टर' गर्न थाल्यो। नत्र निर्मला प्रकरणजस्ता अरु घटनाहरु पनि गिजोलिने र कहिल्यै नसुल्टिने सम्भावना रहन्थ्यो।

संसदमा मात्र होइन, राज्य व्यवस्था समितिको बैठकमा थापाले दिएको अभिव्यक्ति अर्को 'तमासा' सिर्जना गर्ने खालको थियो। उनले प्रहरीले निर्मलाका बुबाको नक्कली औँठाछाप लिएको ‘खुलासा’ गरे त्यहाँ। सनाखतको मुचुल्कामा गराएको हस्ताक्षरको 'अर्थ' नबुझी प्रहरीमाथि दोष थोपार्दै उनले यस्तो अभिव्यक्ति दिएका थिए।

भएको के थियो भने जुन दिन निर्मलाको शव भेटिएको थियो, त्यति बेला निर्मलाका बुबा यज्ञराज पन्त कान्छी श्रीमतीका साथ भारतमा राधेराधेको धार्मिक कार्यक्रममा थिए। नेपालबाट फोन गरेपछि मात्र उनले घटनाबारे थाहा पाएका थिए। शव भेटिएको भोलिपल्ट अर्थात् साउन १२ गते यज्ञराज फर्किए। प्रहरीले उनलाई सनाखत मुचुल्कामा हस्ताक्षर गर्न लगाएको थियो जसको मिति भने अघिल्लो दिन अर्थात् साउन ११ गतेको थियो। सनाखत मुचुल्का भनेको घटनास्थलमा भेटिएका सामानहरू सम्बन्धित व्यक्तिकै हो कि होइन भनी गरिने सनाखत हो जुन जति बेला गर्दा पनि हुने विषय हो। त्यही कुरा गृह मन्त्रीले बुझेनन् र नबुझी विषयलाई उल्झाइदिए। उनका यस्ता अभिव्यक्तिले प्रहरीलाई थप बदनाम गराइरह्यो।

गृहमन्त्री रामबहादुर थापाले आफ्नो कार्यकालमा नै निर्मला पन्तको हत्यारा पक्राउ गर्न नचाहेका भने होइनन्। तर, सफल भएनन्। सुरुदेखि नै गल्तीमाथि गल्ती गर्दै आएकाले पनि निर्मला प्रकरणमा हत्यारा यही हो भनेर सार्वजनिक गर्ने हिम्मत कसैमा छैन।

हत्याराको नजिक पुगिसकेका छौँ भन्दै प्रहरीले प्रचारबाजी जतिसुकै गरे पनि अपराधी समात्न सक्ने कुनै नयाँ सबुत प्रमाण फेला परेको छैन। पहिलेका प्रहरीको अनुसन्धान गलत नभएको अदालतले ठम्याएर सफाइ दिनु र डीएनएबाट अपराधी पत्ता नलाग्ने निष्कर्षले विकल्प साँघुरियो। साँघुरिएको विकल्पमा सबैभन्दा बढी शंकाको घेरामा दिलीपसिंह विष्ट बाँकी रहे। तर, दिलीपलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने ग्राउन्ड प्रहरीले बनाउनै सकेन। बादलले यसमा पनि गतिलो निर्देशन दिन सकेनन्।

#WhoKilledNirmala शृङ्खला

निर्मला प्रकरण नसुल्टिँदै गृहमन्त्रालयबाट थापाको बहिर्गमनले उनको कार्यकाल असफल साबित गराएको छ। एउटै निर्मला प्रकरणले उनलाई सधैँ गिज्याइरहने छ।

गृहमन्त्री थापाको कार्यकालमा नै ३३ किलो सुन प्रकरण चर्चामा आयो। ३३ किलो सुन प्रकरणमा कति निर्दोष प्रहरी फसे वा फसाइयो, अर्को पाटो हो। तर, विदेशबाट नेपालमा हुने सुन तस्करीको अवस्था भने गृहमन्त्री थापाकै पालामा सतहमा आयो। त्यसो त उनले आफ्नै भाइलाई समेत अपराधबाट उन्मुक्ति दिएनन्। भाइलाई पक्राउ गरेर उनले फरक संदेश दिन खोजे। कांग्रेस सांसद अफहताव आलमलाई जेल पठाउने हिम्मत प्रशंसनीय रहे पनि निर्मला प्रकरणले उनी असफल ठहरिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell