ओलम्पिकमा दुई पटकको पदक विजेत भारतीय कुस्तिवाज सुनिल कुमार पक्राउ परेका छन्। अर्का कुस्तीवाज सागर धनकरको हत्याका आरोपित उनलाई दिल्ली प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
‘जालान्धरको नजिकबाट उनलाई पक्राउ गरिएको छ। उनीसँगै हत्याका अर्का आरोपी अजय कुमारलाई पनि पक्राउ गरिएको छ,’ श्रोतलाई उदृत गर्दै टाइम्स अफ इण्डियाले लेखेको छ।
उक्त प्रकरणपछि फरार भएका उनले दिल्ली कोर्टमा अग्रिम जमानतको लागि अपिलसमेत गरेका थिए।
दिल्ली सेसन्स कोर्टले ओलम्पिकमा दुई पदक हात पारेका भारतीय कुस्ती खेलाडी सुशील कुमारको 'एन्टिसिपरी बेल' को निवेदन खारेज गरिदिएको थियो। २३ वर्षे अर्का कुस्ती खेलाडीको हत्याको आरोप लागेका उनलाई अदालतले पक्राउ हुनुपूर्व अग्रिम जमानत दिन अस्वीकार गरेको हो।
कुमारले भने आफूमाथि लागेको आरोप ‘निराधार, मिथ्या र निरर्थक’ भएको दाबी गरेका छन्।
अदालतले उनीमाथि लागेको आरोप गम्भीर भएको र प्रमाणहरु पनि बलिया भएकाले जमानत दिन अस्वीकार गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
‘यसमा प्रत्यक्षदर्शीहरुको बयान पनि रहेको छ। त्यसैले यो स्तरमा अदालत प्रि एरेस्ट बेल दिन इच्छुक छैन। त्यसैले यो निवेदनलाई खारेज गरिएको छ,’ कोर्टको आदेशमा भनिएको छ।
सोमवार सुशील कुमार फरार भएको भन्दै दिल्ली पुलिसले उनीमाथि १ लाखको पुरस्कारसमेत राखेको थियो।
दिल्ली पुलिसले माडल टाउनस्थित छत्रसाल स्टेडियममा पहलवान सागर धनगढको हत्या प्रकरणका मुख्य आरोपी सुशील कुमारमाथि सोमवार १ लाख पुरस्कार राखेको थियो। त्यस्तै उनका सहयोगी अजयमाथि ५० हजारको पुरस्कार राखिएको थियो। यो प्रकरणमा सुशीलसहित ९ जना फरार भएको बताइएको छ।
दुई हप्ता अगाडि जुनियर नेसनल रेस्लिङ च्याम्पियन सागर रानाको हत्या भएको थियो। मे ४ मा केही घाइते रेस्लरहरु अस्पताल भर्ना भएका थिए जसमा १ जनाको निधन भएको थियो। र, यो प्रकरण सतहमा आएको थियो। मे ५ मा सुशीलले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आफू र आफ्नो रेस्लरहरु त्यसमा सहभागी नभएको दाबी गरेका थिए।
उनी भारतबाट ओलम्पिकमा कुस्तीमा दुईवटा पदक जित्ने एकमात्र खेलाडी हुन्। उनले २००८ मा सम्पन्न बेइजिङ ओलम्पिकमा कास्य पदक र २०१२ मा सम्पन्न लण्डन ओलम्पिकमा रजत पदक जितेका थिए।
