वीरगंज : पर्साका एक जना चिकित्सकको कोरोना संक्रमणबाट काठमाडौँमा मृत्यु भएको छ। मृत्यु हुनेमा वीरगंज हेल्थ केयर अस्पताल गण्डक बहुअरीमा कार्यरत डा. मुराद हुसैन रहेका छन्।
वीरगंज १ छपकैया निवासी २९ वर्षीय डा.हुसैनको उपचारको क्रममा मेडिसिटी अस्पतालमा मृत्यु भएको वीरगंज हेल्थकेयरका सञ्चालक डा अबुलहैस अन्सारीले बताए। डा. हुसेन एक महिनाअघि मात्र आफ्नो एमएस (अर्थोपेडिक)को पढाई सकाई बङ्लादेशबाट फर्केर वीरगजमा कार्यरत थिए।
कोरोना सङ्क्रमितहरुको उपचारमा खटेका डा. हुसेनसँगै अस्पतालमा कार्यरत अन्य ५ जना चिकित्सकमा गत बैशाख २१ सङ्क्रमण पुष्टि भएको थियो।
संक्रमित भएर वीरगंज हेल्थकेयरमा उपचाररत डा. हुसेनलाई स्वास्थ्यमा सुधार नभएपछि जेठ १ गते थप उपचारका लागि काठमाडौं लगिएको थियो। उनले कोरोनाविरुद्धको खोपको एउटा मात्र डोज लगाएका थिए।
दुवै फोक्सोमा गम्भीर किसिमको निमोनिया देखिएको कारण उनलाई श्वासप्रश्वासमा समस्या आएर निधन भएको चिकित्सकले बताएका छन्।
