काठमाडौँ : अभिनेत्री तथा फिल्म निर्माता, निर्देशक रेखा थापाले अहिले देशमा भइरहेको राजनीति अवस्थाप्रति आक्रोश व्यक्त गरेकी छिन्। देशभर बढी रहेको कोरोना भाइरसको संक्रमण र उपचार अभावले अस्पतालमा छटपटाइरहेका बिरामीको अवस्थालाई मध्यनजर गर्दै देशको राजनीतिक व्यवस्थाप्रति प्रश्न गरेकी छिन्।
नायिका थापाले फेसबुकमा स्ट्याटस लेख्दै महामारीको बिचमा राजनीतिक स्वार्थको रोटी सेक्ने लाजमर्दो दौडधुप चलेको बताएकी छिन्।
उनले लेखेकी छिन,'मानव जाति र महामारी बिचको लडाइँमा आ-आफ्नो राजनीतिक स्वार्थका रोटी सेक्ने लाजमर्दो दौडधुप पनि चलेकै छ। नागरिकको जीवन रक्षा गर्नको लागि सबै दलले भोट र विश्वास त पाएकै छन् (आकार फरक होला)। प्रधानमन्त्री फेरिएर कोरोना भाग्ने होइन होला र अर्को सरकार वा चुनाव भएर पनि जमिनी यथार्थ फेरिँदैन।'
उनले राजनीतिक दल तथा सांसदहरुलाई समेत प्रश्न गरेकी छिन्। पदको पछाडि होइन आफूले पाएको मत र मतदाता बचाउने जिम्मेवारीमा अगाडि उभिनुपर्ने होइन भन्दै नेता तथा सांसदलाई प्रश्न समेत गरेकी छिन् उनले।
नायिका रेखा थापाले लेखेकी छिन्, 'यस्तो बेलामा पदको पछाडि होइन आफूले पाएको मत र मतदाता बचाउने जिम्मेवारीमा अगाडि उभिनु पर्ने होइन र? लाखौँ मान्छेले मत दिएका माननीय अनि पार्टीहरू गुनासो र गाली गर्ने चौतारो हुन्? लास हरुले पनि हृदय नछुने पापी व्यवस्थामा अब राजनीति झन् घृणित हुने देखिन्छ।'
उनले अहिलेको अस्पताल र स्वास्थ्य प्रणाली कमजोर बनाउन को को जिम्मेवार भन्दै प्रश्न समेत गरेकी छिन्। त्यस्तै, जनताको धैर्यताको सीमाना तोड्ने बेला आएन र भन्दै जनतालाई समेत प्रश्न गरेकी हुन्।
उनले लेखेकी छिन्, 'यिनै अनुहार सिंहदरबार छिरेको कति वर्ष भयो? जनताको रक्षाको लागि यिनीहरूले आफ्नो आफ्नो पालामा के के गरेका थिए? अस्पताल र स्वास्थ्य प्रणाली यस्तो बनाउन को को जिम्मेवार छन्? हिसाब व्यक्ति र व्यवस्था दुइटैको हुनुपर्छ। जनताले आफ्नो धैर्यताको सीमा तोड्ने बेला आएन र?'
