PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

नक्कली स्यानिटाइजर उत्पादन गर्ने उद्योगमा प्रहरीको छापा, हाल्नै नहुने केमिकल राखेर भइरहेको थियो उत्पादन



पहिलोपोस्ट

नक्कली स्यानिटाइजर उत्पादन गर्ने उद्योगमा प्रहरीको छापा, हाल्नै नहुने केमिकल राखेर भइरहेको थियो उत्पादन
प्रतीकात्मक फोटो

काठमाडौँ : नक्कली स्यानिटाइजर उत्पादन गर्ने एक उद्योगमा आज प्रहरीले छापा मारेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले बालाजु औद्योगिक क्षेत्रभित्र रहेको स्यानिटाइजर बनाउने उद्योगमा छापा मारेको हो। उत्सव डिष्ट्रिलरीका नाममा दर्ता भएको उद्योगले स्यानिटाइजरमा हाल्न नमिल्ने पदार्थ हालेर उत्पादन गर्दै आएको खुलेको छ।

'स्यानिटाइजरमा मिथाइल प्रयोग गर्न पाइँदैन। तर, यहाँ उत्पादित स्यानिटाइजरमा ५० प्रतिशतभन्दा बढी मिथाइल प्रयोग गरेको पाइयो,' अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने।

उक्त कम्पनी कपिलवस्तु घर भएका कमल अग्रवालको नाममा दर्ता भएको छ। उनीहरुक उत्पादन त्रुटिपूर्ण रहेको थाहा पाएलगत्तै प्रहरीले कमल अग्रवाल र राकेश अग्रवाललाई नियन्त्रणमा लिएको छ। उनीहरूले उद्योगभित्र नै स्यानिटाइजर बनाएर प्याकिङ गर्ने गरेको देखिएको छ। सेनिटाइजरको बट्टामा भने अन्य आवश्यक पर्ने केमिकलको सूचीमात्र देखाएर मानिसलाई झुक्काउने गरेको देखिएको छ।

अग्रवालले निषेधाज्ञा सुरु भएदेखि स्यानिटाइजर उत्पादन गर्न सुरु गरेको प्रहरीमा प्रारम्भीक बयान दिएका छन्। उनीहरूले १६ जना मानिस राखेर दैनिक १ हजार भन्दा बढी लिटर स्यानिटाइजर उत्पादन गर्न गरेको खुलेको छ।

प्रहरीले उद्योगले उत्पादन गर्ने स्यानिटाइजरमा शंका लागेपछि जेठ २ गते प्रयोगशालमा परीक्षण गराएको थियो। परीक्षण गर्दा आवश्यक पर्ने केमिकल नहालेर उत्पादन गरेको देखिएको प्रहरीको दाबी गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell