काठमाडौं : प्रतिनिधि सभा विघटनविरुद्ध विपक्षी दलहरु भोलिमात्र सर्वोच्च अदालतमा जाने भएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एमालेको माधव नेपाल पक्ष र राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई नियुक्त गर्नुपर्ने माग राख्दै सर्वोच्च जान लागेको हो।
आज रिट तयारी पुरा नभएकोले सर्वोच्च जान नभ्याएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्। ' भोलि सर्वोच्च जाने तयारी भएको छ। रिटको तयारी हुँदैछ। बेलकासम्म सकिन्छ। आजै जाने हाम्रो तयारी थियो। तीन बजिसकेको हुनाले हामी भोलिमात्र जान्छौ,' प्रचण्डले विपक्षी दलको बैठकपछि भने।
विपक्षी दलहरुले आन्तरिक तयारी सकाएपछि नयाँ बानेश्वरस्थित संसद भवनमा छलफलका लागि जुटेका थिए। बैठकमा तत्कालीन सांसदहरुलाई नागरकिता लगायतका सामग्री ल्याउनसमेत भनिएको प्रचण्डले बताए।
उनले १४९ जना तत्कालीन सांसद(जसले देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै हस्ताक्षर गरेका थिए) नै सशरीर उपस्थित भएर सर्वोच्च जाने तयारी गरेको दाबी गरेका छन्। देउवाको समर्थनमा हस्ताक्षर गरेका माधव नेपाल पक्षका सांसदहरु घट्ने भन्ने चर्चा छ नि? भनी सोधिएको प्रश्नको जवाफमा प्रचण्डको जवाफ थियो, 'बरु थपिएर आएका छन्। घटेको छैन।'
कांग्रेस महामन्त्री डा शशांक कोइरालाले पार्टी सभापति देउवाको नेतृत्वमा सरकार बन्ने गरी हस्ताक्षर संकलन भइसकेको बताए। 'देउवाको नेतृत्वमा सरकार बन्नुपर्छ,' सञ्चारकर्मीसँग उनले भने, 'शेरबहादुर देउवाको नेतृत्वमा नै हामी सर्वोच्च जाँदैछौ।'
महामन्त्री कोइरालाले ओलीको नेतृत्वमा निर्वाचन देशकै लागि दुर्भाग्य हुनेसमेत बताए। 'ओलीको नेतृत्वमा निर्वाचन देशकै लागि दुर्भाग्य हुनेछ। त्यसैले देउवाकै नेतृत्वमा चुनावी सरकार हाम्रो चाहना हो,' कोइरालाले भने।
सरकारको सिफारिसमा जेठ ७ गते राति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी निर्वाचन घोषणा गरेको छ। उक्त कदमको विरोध गर्दै विपक्षी दलहरु सर्वोच्च जान लागेका हुन्। त्यसैगरी कांग्रेस सभापति देउवाले प्रधानमन्त्री पदमा १४९ जनाको हस्ताक्षरसहित दाबी गर्दासमेत राष्ट्रपतिले अन्याय गरेको विपक्षी गठबन्धनो आरोप छ।
सोही कदमको विरोधमापाँच दलले राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध कानुनी र राजनीतिक लडाई लड्ने उद्घोष गरिसकेको छ।
