काठमाडौं : आज प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि पत्रकार सम्मेलन गरे। बालुवाटारमा आयोजित पत्रकारसँगको भेटमा उनले अधिकांश समय पुरानै कुरा दोहर्याए। नयाँ केही थियो भने मिडिया विरुद्धको अभिव्यक्ति। साथै प्रमुख प्रतिपक्षी दलविरुद्धको बोली पनि नयाँ सुनियो।
आफ्नै दलका नेताहरु विरुद्ध लामो समयदेखि कडा अभिव्यक्ति दिँदै आएको भए पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र त्यसका सभापति शेरबहादुर देउवाविरुद्ध उनी बोलेका थिएनन्। यतिसम्म कि प्रमुख प्रतिपक्षी दलका नेतालाई नचिढ्याउन उनले समयावधी सकिए पनि शेरबहादुर देउवाकी सासुलाई जापानको राजदूतबाट फिर्ता गरेनन्, समय थपिरहे। कतिपय स्थानमा राम्रो काम गरिरहेकाहरुलाई गलहत्याउँदा पनि उनको पद लगातार थमौती रहिरह्यो। त्यतिमात्र होइन, कांग्रेस विरुद्ध लामो समय उनले अभिव्यक्ति दिएनन्।
तर, जब माधवकुमार नेपाल र पुष्पकमल दाहाल सहितको गठबन्धनले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्यो - उनी एकाएक फरक भए। राष्ट्रपति निवासको मध्यरात प्रकरणपछि देउवाले जारी गरेको विज्ञप्ति विरुद्ध हिजो कडा रुपमा उत्रिएका थिए ओली। आज त्यसमा थप आक्रोस उनको बोलीमा सुनिन्थ्यो। राष्ट्रपतिलाई सम्मान नगरेको भन्दै उनी कांग्रेसमात्र होइन, आज कान्तिपुर दैनिकमा प्रकाशित अविनको कार्टुनको विरुद्ध अभिव्यक्ति पनि दिन समय खर्चिए। राष्ट्रपतिलाई मर्यादित शब्द प्रयोग नगरेको भन्दै उनले कान्तिपुरलाई 'प्रेत संस्था' को सन्दर्भ उठाउँदै प्रवचन सुनाएका थिए।
'कानुनविद र संविधानविद र बौद्धिक समुदायलाई राष्ट्रपतिको स्वविकेक अधिकार प्रयोग गर्ने ठाउँ हुन्छ। कुनै उजुरी लाग्दैन,' राष्ट्रपतिको कदमको प्रतिरक्षा गर्दै उनले भने, 'यो राष्ट्रपतिको अधिकार पनि नमान्ने, मर्यादा पनि नमान्ने?'
त्यसपछि उनले कान्तिपुरतिर इंगित गर्दै मर्यादाको पाठ पढाए। 'आज एउटा प्रेत संस्थाको भीमकाय फोटो बनाएर त्यसको राष्ट्रपतिलाई खल्तीमा राखेर कति आनन्द आएको होला,' ओलीले भने, 'लोकतन्त्रको नाममा यस्तो घृणित कार्य गर्दा?'
उनी त्यतिमै रोकिएनन्। 'फोटो बनाउने र जनप्रतिनिधिमुलक गणतन्त्रको प्रतीकलाई सामन्ती संस्थाको खल्तीमा राख्ने काम, लोकतन्त्रले दिएको स्वतन्त्रताको हकको दुरुपयोग यो भन्दा बढी के हुन्छ?,' ओलीले प्रश्न गरे।
