काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनपछि आफूमाथि उठेका सवालको जवाफ दिएका छन्।
आइतवार सरकारी निवास बालुवाटारमा सीमित पत्रकारहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार आह्वान, प्रधानमन्त्री पदमा दाबीको वैधानिकता, राष्ट्रपतिको अधिकार, विघटनको बाध्यता, विघटनविरुद्ध भएका प्रचार प्रसार लगायतका प्रश्नमाथि स्पष्टीकरण दिएका हुन्।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकोविरुद्ध अदालत जाने भनेको विपक्षी मोर्चा, नागरिक समाजमाथि पनि उनले आक्रोश पोखे। ओलीले संचारमाध्यमले 'भ्रमको खेती गरेर' मिसन पत्रकारिता गरेको आरोप समेत लगाए। साथै, कोभिड १९ नियन्त्रणमा सरकारले उपलब्धी हासिल गरिरहेको, संक्रमितको ग्राफ घटिरहेको, अक्सिजन, स्वास्थ्य सामग्रीको अभाव नरहेको पनि दाबी गरे।
बालुवाटारमा झण्डै ३ घण्टा बोलेका ओलीको स्पष्टीकरणको यस्तो छ सार:
'कोभिड १९ नियन्त्रणमा आउँदैछ'
महामारीमा पूर्वतयारी नहुनु स्वभाविक हो। त्यसैले त महामारी हो। मौजुदा सामग्री र सामर्थ्य वा औषधि अपर्याप्त हुनु स्वभाविक हो। महामारीको बेला अपर्याप्तता हुन्छ। बाहिर विकसित देशमा पनि भयो। बेड, अक्सिजन, भेन्टिलेटर नभएर अस्पतालअघि नै पाल टाँगेर बसे। घरमै तातो पानी खाएर बस भने। शव व्यवस्थापनमा विकसित देशलाई पनि समस्या भयो। मानिस मर्नु अघि नै खाल्डो खनिराख्नुपर्ने अवस्थामा विश्व भयो। यसको असर हाम्रोमा मौजुदा सामर्थ्य भन्दा बाहिर रहनु अस्वभाविक होइन। हामीले म्यानेज गर्यौं। लकडाउन गर्यौं। मास्क, लकडाउन, हात धुन सिकाउने काम कडाईका साथ गर्यौ। पहिलो चरणमा धेरै विकराल रुपमा फैलिन पाएन।
राजनीतिक, धार्मिक सांस्कृतिक देशभित्र र बाहिरका खुला सीमानाका, अब कोभिड गइसक्यो, केही समस्या छैन भन्ने जनभावनाले दोस्रो लहर फैलियो। छिमेकी देशमा माथि ग्राफ गयो भने हाम्रोमा पनि जान्छ। तल गयो भने तल जान्छ। भारतमा निर्भर छ हामो कोभिड।
झण्डा हालेर घर फिर्ता पठाउने, आफ्नै बस बुकिङ गरेर नेताले पठाउने, कसले रोक्दो रहेछ हेरौंला भन्ने। मानवीय जीवन पहिलो हो भन्ने हाम्रो भावनालाई टक्कर दिन खोज्ने प्रवृत्तिका बिच दोस्रो लहर देखा पर्यो। हामी यसको पनि सामना गरिरहेका छौं। ठूलो मात्रामा अक्सिजन, सिलिन्डर, ट्यांकरको व्यवस्थापन गर्यौं। अब सिलिन्डरको समस्या समाधान भयो। अब अक्सिजनको समस्या लगभग समाधान भयो। भेन्टिलेटरको समस्या छैन। विदेशबाट ल्याइरहेका छौं। प्लेनमा हालेर एउटैको ५० हजार तिरेर ल्याइरहेका छौं जनताको ज्यान जोगाउनका लागि।
अब स्थिति ओरालो लागेको छ। ग्राफ ओरालो लागेको छ। भ्याक्सिन आफै बनाउने कुरातिर लाग्न धेरै समय लाग्थ्यो। हाम्रो अनुसन्धान, साधन स्रोतको क्षमता, अनुभवको कमीले तत्काल गर्न सकेनौं। तर भारतसँगै लगाउन सुरु गर्यौं। भारतपछि पहिलो हामी नै हो। अन्यत्र पुगेकै थिएन।
भारतबाट १० लाख डोज भ्याक्सिन आउन सक्यो। विभिन्न कारणले १० लाख आएन। चीनबाट ८ लाख आयो। बाहिर हल्ला चलाएजस्तो होइन। केही त मिसन पत्रकारिताको प्रयास हो। तिनीहरुले उपलब्धी नदेख्ने, उपलब्धी चर्चा नगर्ने, कमजोरी कहाँ छ, अन्तर्मनका मार्मिक कहानी, बनावटी कहानी बनाउने। मार्मिक स्थितिमा आफ्नो स्वार्थमा प्रयोग गर्ने, यो प्रवृति बोकेका व्यक्ति र तत्वहरु छन्। अरु स्वास्थ्य समाग्री मास्क ग्लोब्स पीपीई स्वास्थ्य सामग्री अक्सिजन औषधि भेन्टिलेटर आवश्यकताअनुसार भ्याउने स्थितिसम्म पुगिरहेका छौं।
ध्यान खोपमा
अब हाम्रो ध्यान रोग सर्न नपाओस्। सरिहाल्यो भने उपयुक्त उपचार र सर्नै नपाओस भन्नका लागि सकेसम्म छिटो खोपको प्रबन्ध हो। यसका लागि भारत, चीन, अमेरिका, बेलायत लगायत विभिन्न देशहरुसँग कुराकानी गरिरहेका छौं। भ्याक्सिन ल्याउने प्रक्रिया जारी छ। संयुक्त राष्ट्रसंघ र विश्व बैंकसँगै हाम्रा विकासका साझेदारहरु, अन्तर्राष्ट्रिय संघसंस्थासँग कुरा गरिरहेका छौं। सरकारले सम्पूर्ण प्रयास गरेको छ। निजी क्षेत्रले पनि यसमा सहकार्य गरेको छ। सबैलाई नआत्तिन, यस परिस्थितिको सामना गर्ने दिशामा सरकारका प्रयासहरु अघि बढेको जानकारी गराउन चाहन्छु।
कांग्रेस प्रचण्ड पथमा
केही साथीहरुको संविधान सिध्याउन, संवैधानिक र शान्तिपूर्ण बाटोका विरुद्ध गराइएको हिंसाबाट सत्ता कब्जा गर्न नसकेपछि तरिका फेरियो। शान्तिपूर्ण ढंगले प्रक्रियामा आउन बाध्य भएपछि फेरि कब्जा गर्न आएको बुझ्न सकिन्छ। त्यो नीति बुझ्न कठिन छैन। लोकतन्त्र सिध्याउनकै लागि लाग्नुभएको हो। लोकतान्त्रिक प्रणालीका विरुद्ध बलजफ्ती शासन सत्ता कब्जा गर्ने तानाशाह चलाउने सफल नभएपछि पैतलामा आउनुभयो। तरिका बदल्नुभयो। तर लोकतान्त्रिक शक्ति जनताको मतबाट शासन प्राप्त गर्ने वा सरकार बनाउने लोकतान्त्रिक बाटो हुनुपर्छ अगाडि बढ्नुपर्छ भन्ने छोडेर उहाँहरुले आफूलाई लोकतान्त्रिक भन्ने पार्टीलाई प्रचण्ड पथको पछाडि लगाए। कब्जाको बाटो। काम गर्न नदिने, सधै विरोध गर्ने, गाली गलौज गर्ने। गत वर्षदेखि यो प्रयास अत्यन्त बढ्यो। एकथरी त्यस्तो हुनु त ठिकै थियो।
तर, आफूलाई प्रजातान्त्रिक भन्ने नेपाली कांग्रेसका प्रमुख सचेतक कि सचेतक रहेकाले केपी ओलीले गराएको चुनावमा कांग्रेसमा सहभागी हुँदैन भन्ने सुने। कसले गरेको चुनाव मान्ने? कसले गरेकोमा भाग लिने। भाग लिन नेपाली कांग्रेसलाई टिको लाइदिने कि? अहिले प्रधानमन्त्री सबभन्दा बढि पपुलर भोट पाएको सबभन्दा बढि सिट भएको पार्टी नेताले प्रधानमन्त्रीले गराएको चुनावमा किन नजाने? चुनावमा नजाने कुन डेमेक्रेसीको भित्र पर्छ? कुन प्रजातान्त्रिक विधि पद्धतीभित्र पर्छ? नेपाली कांग्रेस उत्तेजना र आवेगमा प्रचण्ड पथ थापेर हिँड्यो। आफैं चुनाव गराउनुस् न। चुनाव जितेर सरकार बनाउनुस् न।
लोकतन्त्र भनेको के हो?
मेरो सरकार लोकतान्त्रिक भएन रे। के गर्दा लोकतन्त्र हुन्छ। सडकबाट हुन्छ? लोकतान्त्रिक जनमतको सम्मानबाट हुन्छ। कामबाट हुन्छ। होला प्रधानमन्त्री बन्ने मन थियो होला। कीर्ते गरेर अर्को पार्टी फुटाएर अरु पार्टीभित्र जानाजान बागी विद्रोही सिर्जना गर्नु एउटा पार्टीमात्र होइन एमालेको एउटा तप्कालाई उचालेर छलेर गरेका छन्। दलहरुभित्र अन्तरविग्रह लोकतन्त्र, दलीय व्यवस्थालाई मजबुत बनाउने लोकतन्त्र अनुशासित प्रणाली हो, अराजकता होइन। हामीले कसैले पनि लोकतन्त्र क्षणिक स्वार्थका लागि अनुशासनहिनता अराजकता दलीय अनुशासन र प्रणाली पद्धती कानुन प्रणाली विपरीतका दाउपेच, विकाउ प्रवृति गर्नु हुँदैन। लोकतन्त्रलाई मान्छौं भने यस्ता अवाञ्छित अभ्यासहरु त्याग्नुपर्दछ।
नेकपा एमालेका विरुद्धमा हस्ताक्षर गरेर जाने व्यक्तिहरुलाई उच्च समान र मर्यादा गरेको छ। यो खालको शैलीले लोकतन्त्र कहाँ पुग्छ? जसपाबाट ३२ जना भएका सांसदलाई १२ जनालाई हस्ताक्षर गराएर पार्टी अनुशासन तोडाएर विभिन्न हतकण्डा अपनाएर हामी कहाँ पुग्छौं?
नागरिक समाजका मुर्धन्य विद्धवानहरुले यस्तै कुरालाई बढावा दिने हो? यहीँ हो लोकतन्त्र? यस्ता अनुचित कुराविरुद्ध चुइक्क किन बोल्न सक्नुहुन्न्? दलीय व्यवस्थामा दलीय शासन लागु हुनुपर्छ। त्यहीँ दलभित्र बसेर अर्कोलाई समर्थन गर्नु उचित छैन। यस्ता स्ता कब्जा गर्ने, आफूले भनेजस्तो भएन प्रतिगमन भयो, कुँ भयो भन्ने? के बर्माजस्तै भएको नेपालमा? संविधानअनुसार अगाडि बढ्दा कु हुन्छ? लोकतान्त्रिक अभ्यास गर्दा कु हुन्छ?
सांसदको गणितमा खेल्ने?
जब संसदको मौजुदा उपयुक्त रहन सकेन देशको आवश्यकतालाई पुरा गर्न सकेन र संसदको गणितमा ठूलो ग्याप भयो, फोहरी खेलको माध्य भयो। ओल्ला घरको नरे पल्ला घर सरे। पल्ला घरको नरे ओल्ला घर सरेजस्तो यताको सांसद उता गएको छ। आफ्नै दलको प्रधानमन्त्री हटाउँदै अर्को बनाउन हिँडेको छ। पवित्र गौदान न नहोला? नि:शुल्क परोपकार होला कि? त्यसको पछाडि केही होला?
अहिलेको प्रतिनिधिसभा भर्खरै विघटन भयो। तबसम्मको गणित कतिसम्म अशक्त भइसक्यो, कतिसम्म भद्गोल भन्ने कुरा हालैका गतिविधिले देखायो। दलको नेताको हैसियतले मसँग १२१ सीट र जसपाको महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोको हस्ताक्षरमा ३२ सहित १५३ जनाको हस्ताक्षर लिएर राष्ट्रपतिकहाँ गएँ। संसद विघटन नहोस् सरकार चलोस भनेर गएँ। तर मैले यो सोचेको थिएन कि यति छिटै परिवर्तन होला राजनीति भनेर। ७६ (२) को समय दिँदा अरुले पार लगाउन सकेन। त्यसपछि मैले धारा ७६(५) को सरकार बनाउन अनुरोध गरेको थिए मार्ग प्रशस्त गरे।
२१ घण्टा समय प्रशस्त रहेछ
उनीहरुलाई समय छोटो भयो रे। समय छोटो थिएन भन्ने त दुबै पक्षको दाबी पेशले देखायो। पहिले नै तयार रहेछन्। सांसदहरु तिनै हुन्छन्। आलोचना गर्नु बेग्लै कुरा। तर समय प्रशस्त रहेछ भन्ने दाबीबाटै देखियो। केहीले सुरुमा अनुपस्थित हुने, भोट नदिने, सरकारलाई समर्थन नपुग्न दिने गद्दारी काम गरे होलान। त्यसो अनुशासनहिन काम हो।
दलीय व्यवस्थामा स्वीकार्य हुँदैन। मैले १२१ र जसपाले ३२ सीटसहित १५३ सीट दाबी गरे। त्यसलाई असफल पार्न वैकल्पिक सरकार बन्न नदिन उहाँहरुले फर्जी हस्ताक्षरसहितको लोकतन्त्रको अभ्यासविपरीत दुषित अभ्यास, दुषित कागज राष्ट्रपतिकहाँ पुर्याए। जसले अन्योल भयो। मेरो हस्ताक्षरमा उल्लेख भएका नाम उता गए। बाहिर पनि मैले हस्ताक्षर गरेको छैन भनेर वक्तव्यबाजी आए। ७६ (५) मा सदस्यले दाबी गर्न सक्छ तर दलीय बहुमतका आधारमा हो।
दलीय व्यवस्था नाघेर व्यक्ति नाच नाच्ने व्यवस्था होइन। पर्सनल डान्स होइन। दलीय व्यवस्थामा उहाँहरुले कन्फ्युजन खडा गर्दा राष्ट्रपतिले मेरो पनि भरपर्दो ठान्नु भएन। ७६ (५) अनुसार बन्न नसकेपछि अब अरु कुनै विकल्प छैन। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी चुनाव घोषणा गर्ने हो। संवैधानिक व्यवस्था यो हो। कहाँनेर कु भयो? बुद्धिजीवीहरु न्वारनदेखि बल लगाएर अपव्याख्यामा उत्रिनु गज्जब छ। संवैधानिक व्यवस्थाको अपव्याख्या गरेर संविधानप्रति विश्वास नराखेर जानु उपयुक्त हुँदैन।
मोर्चा कस्ने कार्यले न्याय प्रभावित हुनुहुँदैन
प्रतिनिधिसभा विघटनविरुद्ध फेरि मुद्दा हाल्छौं रे। मोर्चा कसेर मुद्दामा जाने रे। सच्चाईका लागि एउटाले मुद्दा हाले त्यहीँ हो। धेरैले हाले पनि त्यहीँ हो। मोर्चा सके पनि त्यहीँ हो। हतियार र बलको लडाईमा मोर्चा कस्नुको अर्थ हुन्छ ?
न्यायमा मोर्चाको कुनै अर्थ हुँदैन। मोर्चा कस्ने कार्यले न्याय प्रभावित हुँदैन। हुनुहुँदैन। ठोस आधार ठहर गर्ने काम राष्ट्रपतिले नै गर्ने हो। कानुनविद् र संविधानविद् र बौद्धिक समुदायलाई थाहै होला राष्ट्रपतिको स्वविवेक अधिकार प्रयोग गर्ने ठाउँ हुन्छ। उहाँलाई कुनै उजुरी लाग्दैन। यो राष्ट्रपतिको अधिकार पनि नमान्ने, मर्यादा पनि नमान्ने? कोभिड १९ बाट जनतालाई उन्मुक्ति दिने कोसिसमा छु। म कोभिडका विरुद्ध लडौं कि डेढ सय मुद्दा फिराद लेखेर बसौं। जनताका कुरा गर्नेहरुलाई नै जनता र लोकतन्त्रको चिन्ता छैन। त्यस्तो नगरौं भन्ने अनुरोध छ।
कार्टुनमा आपत्ति
आज एउटा प्रेत संस्थाको भिमकाय फोटो बनाएर त्यसको खल्तीमा राष्ट्रपतिलाई खल्तीमा राखेर कति आनन्द आएको होला लोकतन्त्रको नाममा यस्तो गृणित कार्य गर्दा? राजतन्त्र भनेको प्रेत संस्था हो। फोटो बनाउने र जनप्रतिनिधि गणतन्त्रको प्रतिकलाई सामन्ती संस्थाको खल्तीमा राख्ने सम्मको लोकतन्त्रले दिएको स्वतन्त्रताको हकको दुरुपयोग यो भन्दा बढी के हुन्छ? यसरी राजनीतिलाई गलत दिशातिर मोड्ने काम कसैले नगरौं। देशभक्त लोकतान्त्रिक शक्तिलाई आग्रह गर्छु कि क्षणिक आनन्द लिने, स्वार्थ शक्तिका पछाडि लाग्नेको इतिहासले मूंल्याकन गर्नेछ।
लोकतन्त्र आएपछि जागिर गुमाएका शिक्षकहरु अहिले पनि बेहाल छन्। लोकतान्त्रिक अभ्यासलाई इमान्दारीका साथ अगाडि बढाउ न। कुनै अस्पताललाई चाहेको होस वा नहोस सामग्री किनेको छ। अनावश्यक सामग्री किनिदिने जकशक्ति छैन खेर गएको छ। राष्ट्रको ढुकुटी उडाइदिने, सरकारमाथि बर्सिने। मुख मिठ्याउने र जिब्रो चटाउने नगरौं न।
कोभिडमा जनतालाई निराश नबनाऔ
यो अवस्थामा रोजगारी नगुमोस्, मुल्यवृद्धि कालोबजारी नहोस भन्नेमा मेरो ध्यान छ। उद्योगहरु चलाएर दुरी कायम गरेर सामाजिक जनजीवनलाई पनि सहज ढंगले चलाउनेतिर मेरो सरकारको ध्यान गइरहेको छ। जनतालाई गुमराहमा पर्न नदिऔ। गौरव बोकेको देशको शिर निहुराउने अवस्था नगरौं। जनतालाई निराश बनाउने काम भइरहेको छ व्यवस्थाप्रति नै निराशा बनाउने काम भइरहेको छ। यस देशलाई अनैतिकहरुको अखडा बनाउन खोजेको हो? निराश जनताले देश बनाउँदैन। देश बनाउन जनतामा हौसला हुनुपर्छ। आजको कठिनाई सामना गर्छौं। भविष्य सुन्दर सपना देख्छौं। भविष्य अन्धकार देख्यो भने मौजुदा कठिनाईमा पनि बाच्न सकिँदैन। देश विकासका लागि खतरनाक हुन्छ। सुखी नेपाली समृद्ध नेपाल बनाउने महान गन्तव्य छ। हामी अगाडि बढ्दै छौं। सचेत संगठित र सक्रियताका साथ प्रयास गरिरहेका छौं।
७० कटेका नेताले अस्थिरता मच्चाए
अहिले अस्वस्थता मचाउने को छन् ? ४ पटक प्रधानमन्त्री भएका, पार्टी सभापति भएका, ७० उमेर कटेकाहरु, अब केही नभएका मान्छेहरु अस्थव्यवस्ता मच्याएका छन्। युवा बालबालिकाको भविष्य भन्दा आफ्नो अहम स्वार्थका लागि लडिरहेका छन्। १५ वर्ष पार्टी लिडर भएका प्रधानमन्त्री भएकामा आफ्नै अहम छ। मैले के पाउँछु? यो किन छ भन्दा तिनै चार जनाको स्वार्थ, अतिरिक्त भोक, चित्त नबुझिने, नअघाउने प्रवृत्ति, महत्वकांक्षाले देश बिग्रिँदैछ।
नयाँ पिढीलाई युवालाई देश र जनताप्रति शक्तिलाई केही मान्छेका लहडबाजीका लागि देशलाई बर्बाद नगरौं। अरु कुनै सोच उद्देश्य छैन पाइसकेकहरुको। सत्ता स्वार्थमात्रै हो। लोकतान्त्रिक र संवैधानिक बाटोबाट जसले पनि आउँछ। तर अस्वस्थ दुषित बाटोबाट लिन खोजेर अस्वस्थता गर्ने यस्ता पंक्तिबाट युवा सजक हुनुपर्छ। काँधमा अभिभारा बोकेर अगाडि बढ्न तयार हुनुस्। देश बिगार्न नदिनुस्। लोकतन्त्रको पक्षमा सजग बनाउ भाड्न होइन।
मार्गप्रशस्त
मार्गप्रशस्त भनेको बाटो खोलिदिएको हो। राजीनामा भन्ने प्रावधान नै छैन। विश्वासको मतमा गएको भए बजेटमा ढिलाई हुन्थ्यो। त्यहीँ भएर ७६(५) मा सिधै गए।
राष्ट्रिय सहमतिको सरकार
मन्त्रिपरिषदमा अहिले हेरफेर हुँदैन। ७ मन्त्रालयको कुरा होइन। दलहरुको हैसियतअनुसार संख्याअनुसार राष्ट्रिय सरकार बनाउन सकिन्छ। चुनावी सरकार बनाउन सकिन्छ। तानातान र मैले नेतृत्व गरेकोमा मात्रै, म प्रधानमन्त्री भएमात्रै चुनाव हुन दिन्छु भन्नेले हुँदैन। प्रधानमन्त्री कसरी बन्छ संविधान हेर्न आग्रह गर्छु।
असंवैधानिक बाटो हिँड्ने कुरामा कुनै सम्झौता गर्न सकिँदैन। त्यस्ता प्रवृत्तिसँग झुक्न सकिँदैन। संविधानसम्मत ढंगले राष्ट्रिय सरकार बनाउ। चुनाव गरौं। लोकतान्त्रिक प्रणाली र आचारणबाहिर गएर चुनाव जित्ने कुरा हुँदैन। विल्कुल शान्तिपूर्ण वातावरण स्वतन्त्र निष्पक्ष राष्ट्रिय अन्तर्राष्ट्रिय परीवेक्षक सामेल गरेर गइनेछ। सीसी क्यामेरा जडान गरिनेछ। ड्रोनबाट गतिविधि खिचिनेछ। सबै शक्ति संस्था संलग्न हुनेछ। म स्पष्ट गर्न चाहन्छु चुनौतीका साथ भन्छु निष्पक्षका मामिलामा यो सरकारले गराएको चुनाव उत्कृष्ट ठहरिनेछ। एउटा चुनाव जित्नु नजित्नु भन्दा लोकतन्त्र बाँच्नुपर्छ।
म कति बाच्छु तर लोकतन्त्र बाच्नु पर्छ। मेरो पार्टी म न जितुला तर लोकतन्त्रले जित्नु पर्छ। मन्त्रीहरु को को भन्ने कुरामा ठूलो कुरा होइन। लोकतन्त्र मजबुत बनाउने ठूलो कुरा। हामी चुनावतिर जाँदैछौ भने राष्ट्रिय सरकार बनाउन सकिन्छ। असंवैधानिक होइन संवैधानिक रुपमा मात्रै बनाउन म तयार छु।
