PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रदेश १ मा मुख्यमन्त्री, मन्त्री र उच्च सरकारी अधिकारीले कोभिसिल्ड लुकाएको कांग्रेसको आरोप



अनन्तराज न्यौपाने

प्रदेश १ मा मुख्यमन्त्री, मन्त्री र उच्च सरकारी अधिकारीले कोभिसिल्ड लुकाएको कांग्रेसको आरोप

विराटनगर : प्रदेश नम्बर १ को नेपाली कांग्रेस संसदीय दलले प्रदेश मुख्यमन्त्री, मन्त्री र माथिल्लो दर्जाका व्यक्तिले कोभिसिल्ड भ्याक्सिनको दोस्रो डोजका भायलहरू लुकाएको आरोप लगाएको छ। संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले आइतवार विज्ञप्ति प्रकाशित गर्दै मुख्यमन्त्री शेरधन राई र अन्य प्रदेश मन्त्री लगायतका व्यक्तिले भ्याक्सिन लुकाएको आरोप लगाएका हुन्।

प्रमुख सचेतक कार्कीले खोपलाई मुख्यमन्त्री, मन्त्री र उच्च सरकारी अधिकारीका खोपीबाट बाहिर निकालेर सर्वसाधारणलाई उपलब्ध गराउन विज्ञप्तिमार्फत् आग्रह गरेका छन्।

‘सरकारले अनुदान सहयोगमा पाएको कोभिसिल्ड भ्याक्सिन कसैको पनि पेवा र दाइजो होइन’, उनले भने, ‘तर प्रदेश १ का मुख्यमन्त्री र मन्त्रीहरूले भ्याक्सिनलाई निजी सम्पत्ति ठानेर आफ्ना नातागोता, परिचित र निकटका व्यक्तिहरूलाई उपलब्ध गराइरहेका छन्। सर्वसाधारण जनता भ्याक्सिन नपाएर छटपटाइरहेको छ। यो ब्रह्मलूटको हामी खुलेर विरोध गर्दछौँ।’

उनले मेची अस्पताल, कोशी अस्पताल, प्रदेश ल्याब र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्ता महत्त्वपूर्ण र जिम्मेवार निकायमा समेत पीसीआर परीक्षण बन्द गरिनु दुर्भाग्यपूर्ण भन्दै खेद व्यक्त गरे।

‘पछिल्ला केही दिनयता प्रदेशका प्रमुख अस्पताल र ल्याबमा पीसीआर परीक्षण बन्द गरिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय तहबाट संकलन भई आएका स्वाब नमुनाहरू ल्याबले लिन छाडेका छन्। प्रदेश सरकारले किटको व्यवस्था गर्न सकेको छैन। परीक्षणलाई गति दिनुपर्ने बेलामा परीक्षण नै नहुँदा नागरिकको स्वास्थ्यमाथि सरकारले नै खेलबाड गरिरहेको छ।’

उनले अस्पतालमा कोभिडका बिरामी भर्ना गर्दा महँगो शुल्क धरौटी राख्नुपर्ने बाध्यता दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे।

प्रमुख सचेतक कार्कीले प्रदेश सरकारले विराटनगरस्थित नेसनल ट्रेडिङको भवनमा गत वर्ष सञ्चालन गरेको ८० शय्याको कोभिड अस्पताल यस पटक सञ्चालनमा नल्याउनुमा कमिसनको खेलको राज भएको जिकिर गरे।

‘सरकारी अस्पताल बन्द गरेर बिरामीलाई निजी अस्पताल जान प्रेरित गर्ने प्रदेश सरकार कमिसनको लोभमा फसेको स्पष्ट भएको छ’, उनको भनाइ छ, ‘आम नागरिकले खोपको दोस्रो डोज लगाउने बेला सकिन लाग्दासमेत प्रदेशमा भण्डारण गरी राखिएको खोप दुरूपयोग गरिनु दुर्भाग्यपूर्ण छ।’

कार्कीले लकडाउनका बेला स्वास्थ्य परीक्षण, अस्पताल निर्माण, आइसोलेसनको व्यवस्था गर्ने, गरिब निमुखा र श्रमिक वर्गलाई राहतको व्यवस्था गर्नुपर्नेमा प्रदेश सरकार कानमा तेल हालेर सुतेको दावी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell