
पोखरा : पार्टी नीति विपरीत मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पक्षमा खुलेरै लागेका राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा कारबाहीमा परेका छन्। शनिवारको पार्टी केन्द्रीय कमिटी बैठकले थापालाई पार्टीको केन्द्रीय सदस्यबाट निलम्बन गरेको छ।
उनलाई बैठकले १ वर्षका लागि साधारण सदस्यबाटै निलम्बन गरेको छ। तर, प्रदेशको सांसदबाट भने हटाइएको छैन।
प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएर कांग्रेस नेतृत्वको नयाँ सरकार बनाउन थापाले असहमति जनाएका थिए। नयाँ सरकार गठनमा समर्थन गर्न पार्टीले ह्वीप नै जारी गरेको थियो। तर, सांसद थापाले हस्ताक्षर नै गरेनन्।
सांसद थापाले नयाँ सरकार गठनमा सहमती नजनाउँदै गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा पृथ्वीसुब्बा गुरुङ पुनः नियुक्त भएका थिए। बैशाख २९ गते प्रदेश सभाको ठूलो दलको नेताको हैसियतले गुरुङ पुनः मुख्यमन्त्री नियुक्त भएका हुन्। अहिले यही कारण देखाएर पार्टीले थापालाई कारबाही गरेको छ।
पार्टीबाट कारबाहीमा परेका सांसद थापाले सांसद पद मात्र किन राखियो भन्नेमा प्रश्न गरेका छन्। स्वार्थका लागि सांसद पद अड्काएर राखेको उनको आशंका छ।
‘अब अरु केही बाँकी नराखी यो पदमात्रै किन राखियो होला मैले बुझन सकेको छैन’, सांसद थापाले भने, ‘पार्टीमा सदस्य पनि छैन तर सांसद पद केका लागि अड्काउन राखिएको हो?’
शनिवार पार्टीले प्रेस वक्तव्य निकालेर सांसद थापालाई कारबाही गरेको जनाएका थियो। तर, अहिलेसम्म आधिकारिक जानकारीको पत्र नपाएको उनले जनाए।
विपक्षी गठबन्धनलाई समर्थन नगरी मुख्यमन्त्री गुरुङलाई समर्थन गरेका सांसद थापा पार्टीको कारबाही पश्चात् अन्य पार्टीमा प्रवेश गर्छन् कि आशंका छ। केही व्यक्तिले प्रचार गर्दै आफनो राजनितिक चरित्र हत्या गर्न खोजेको बताउँदै थापाले आफू अन्य पार्टीमा नजाने बताएका छन्।
कांग्रेस नेतृत्वको सरकार गठनमा हस्ताक्षर नगर्दा उनलाई विभिन्न आरोप लागेको थियो। उनले उक्त आरोप झुठो रहेको समेत बताएका छन्।
‘म आफ्नो विचार आस्थामा अडिग छु अन्त कतै लाग्ने भन्ने छैन, मैलै पैसा खाने त्यस्तो कामपनि गरेको छैन’, थापाले भने, ‘कतिले मन्त्री हुनेपनि भनेका छन् म केही सुविधा लिन्नँ।’