PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

उपेन्द्रको स्पष्टीकरणलाई महन्थको चुनौती



पहिलोपोस्ट

उपेन्द्रको स्पष्टीकरणलाई महन्थको चुनौती

काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले उपेन्द्र-बाबुराम समूहको केन्द्रीय कार्यकारिणी समिति बैठकलाई अवैध घोषणा गरेका छन्।

अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराई समूहको आइतवार बसेको कार्यकारी समिति बैठकले अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिगामी कदमलाई साथ दिनेहरूमाथि छानबिन गर्ने निर्णय पनि गरेको थियो।

उपेन्द्र समूहले स्पष्टीकरण सोध्ने निर्णय गरेका बेला महन्थले उक्त बैठक नै अवैधानिक भएको भन्दै निर्वाचन आयोगमा जानकारी गराएर चुनौती दिएका छन्।

आइतवार विज्ञप्ति जारी गरेर अध्यक्ष ठाकुरले बालकुमारीमा जेठ ८ र ९ गते तय भएको बैठक बढ्दो कोभिड महामारी र निषेधाज्ञाको असहजताका कारण स्थगित भएको जानकारी सम्पूर्ण कार्यकारिणी समिति सदस्यहरुलाई गराइसकेको अवस्था तथाकथित गोप्य स्थानमा गरिएको भनिएको बैठकप्रति गम्भीर ध्यानार्कषण जनाएका छन्।

बैठक स्थगित गरिएको स्थितिमा बसेको कार्यकारिणी समितिको भनिएको बैठक र त्यस्तो कथित बैठकबाट गरिने सबै निर्णयहरु अमान्य हुने व्यहोरा ठाकुरले निर्वाचन आयोगलाई जानकारी गराएका हुन्।

जसपामा ठाकुर पक्ष एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओली निकट छ भने उपेन्द्र-बाबुराम समूह विपक्षी मोर्चामा सामेल छ। सत्ता र विपक्षीका कारण जसपा फेरि विभाजनको संघारमा पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell