PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

बारा बालक हत्या प्रकरण : अवैध सम्बन्ध बाहिर आउने डरले काकाद्वारा घाटी रेटी हत्या



राधेश्याम पटेल

बारा बालक हत्या प्रकरण : अवैध सम्बन्ध बाहिर आउने डरले काकाद्वारा घाटी रेटी हत्या

वीरगंज : बारामा दुई बालकको हत्या घटनाका मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रका अनुसार बाराको कलैया-७ रंगपुरका अब्दुल खफार अन्सारीका दुई छोरा ९ वर्षीय उस्मान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको हत्याको अभियोगमा छिमेकी पर्ने २५ वर्षीय फरमुल्लाह अन्सारीलाई पक्राउ गरिएको छ। फरमुल्ला गाउँघरको नाता पर्ने अब्दुलको भाइ पर्छन्।

जेठ ३ गते साँझ ७ बजेदेखि भतिज पर्ने उस्मान र अमिनलाई घरबाट फकाएर लगेको र कलैया उपमहानगरपालिका वडा नम्बर ११ स्थित मदर्सा सलफिया कन्जुलुमको निर्माणाधिन भवनको कोठामा राति धारिलो हतियारले घाटी रेटेर फरमुल्लाहले फालेको देखिएको प्रहरीले जनाएको छ। हत्या गरिएका बालकका बुवा अब्दुल विगत तीन वर्षदेखि वैदेशिक रोजगारीमा कतारमा रहँदै आएको र घरमा आमा, दुई छोरी र दुई छोरा गरी ५ जनाको परिवार बस्दै आएको थियो।

घटनाको दिन मृतकका आमा माइत गएको मौका छोपी फरमुल्लाहले भतिज पर्ने दुवैको हत्या गरेको प्रहरीले जनाएको छ। प्रेम सम्बन्ध उजागर हुने डरले अभियुक्तले बालकको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। अभियुक्त र हत्या गरिएका बालककी आमासँग केही वर्षदेखि प्रेम सम्बन्ध चल्दै आएकोमा केही महिनायता उनी फरमुल्लासँग टाढिँदै गएकी थिइन्।

छोरालाई छाडेर छोरी लिएर भारततिर गएर बसौं भनी फरमुल्लाहले भाउजु पर्ने बालकको आमालाई प्रस्ताव गर्दा छोरालाई छाडेर फरमुल्लासँग भाग्न अस्वीकार गरेकी थिइन्। साथै, आमा र काकाबिच मनमुटाव बढ्दै गएको सम्बन्ध पनि बालकले थाहा भएपछि ईदमा बुवा आउँदा काका पर्ने फरमुल्लाको सबै चर्तिकलाबारे बुवासँग भनिदिने बालकहरुले भनेका थिए।

आफ्नो प्रेम सम्बन्ध बाहिर आउने डरले अभियुक्तले बालकको हत्या गरेको अनुसन्धानबाट खुलेको बारा प्रहरीले जनाएको छ। बारा प्रहरीले घटना भएलगतै तालिम प्राप्त कुकुरबाट घटनास्थलको सुक्ष्म अवलोकन गरेको थियो भने जिल्ला र प्रदेश २ प्रहरी कार्यालयको दुई वटा टोली परिचालन गरी अनुसन्धान गरेको थियो। प्रहरीले ५० जनाभन्दा बढीसँग सोधपुछ गरी पोलिग्राफ टेस्टसमेत गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell