वीरगंज : राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक जारी गरेको खुशीयालीमा वीरगंजमा दीप प्रज्वलन गरिएको छ। जसपाको राजपा घटक नेता कार्यकर्ताहरुले वीरगंजमा दीप प्रज्वलन गरेका हुन्।
जसपाको नगर कमिटी वीरगंजको अगुवाईमा भएको कार्यक्रममा नागरिकता विधेयकले मधेसका ५ लाखभन्दा बढी मधेसीलाई नागरिकता प्रदान गर्ने बाटो खुलेकोले नेपाल सरकारको यो कदम स्वागत योग्य भएको जसपाका केन्द्रीय सदस्य सुरेन्द्र कुर्मीले बताए।
उनले भने, ‘कोरोना महामारीको बेला र राजनीतिक खिचातानीको समयमा केपी ओली नेतृत्वको सरकारले मधेसको घाउमा मलहम लगाउने काम गरेको छ, यो स्वागत योग्य छ।’
उनले नागरिकता विधेयकको लागि जसपाका नेताहरुले भूमिका निर्वाह गरेको भन्दै धन्यवाद व्यक्त गरे। लामो समयदेखि नागरिकता विधेयक जारी नहुँदा लाखौँ मधेसीहरु नागरिकतासँगै शिक्षा, स्वास्थ्य, रोजगारी तथा अन्य प्राथमिक सेवाबाट बञ्चित बनेका थिए।
कतिपयले अदालतमा मुद्दा पनि लडिरहेको अवस्था छ। विद्येयकबाट आमाको नामबाट जन्मसिद्ध नागरिकताधारीका छोराछोरीले नागरिकता प्राप्त गर्नेछन्। नगर कमिटी अध्यक्ष ओमप्रकाश सर्राफको अध्यक्षतामा भएको कार्यक्रममा जसपाका नेता कार्यकर्ताहरुको सहभागिता थियो।