PahiloPost

May 18, 2025 | ५ जेठ २०८२

देउवालाई समर्थन गर्दै सर्वोच्च जाने माधव नेपाल पक्षका नेतालाई कारवाही गर्ने एमालेको तयारी, ओलीले डाके स्थायी कमिटी



प्रकाश भण्डारी

देउवालाई समर्थन गर्दै सर्वोच्च जाने माधव नेपाल पक्षका नेतालाई कारवाही गर्ने एमालेको तयारी, ओलीले डाके स्थायी कमिटी

काठमाडौं : नेकपा एमालेको स्थायी कमिटी बैठक डाकिएको छ। सोमवार दिउँसो ४ बजे प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा बैठक डाकेका हुन्।

बैठकमा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुनेछ। त्यसैगरी माधव नेपाल पक्षसँग सोधिएको स्पष्टीकरणबारे पनि छलफल हुनेछ। एमाले स्थायी कमिटिको शनिवारको बैठकले माधव नेपाल, झलनाथ खनाल र भीम रावलसहित ११ जना सांसदसँग स्पष्टीकरण मागेको थियो।

तर कसैले पनि स्पष्टीकरण दिएका छैनन्। स्पष्टीकरणको समयसीमा आज बिहान सकिएको छ।

ती सदस्यहरुलाई कारबाही प्रक्रिया के हुन्छ भन्नेबारे एमालेले स्पष्ट पारिसकेको छैन। केहीबेर पछि विपक्षी गठबन्धन सर्वोच्च जाँदैछन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने मागसहित रिट निवेदन दिन उनीहरु सर्वोच्च पुग्न लागेका हुन्।

उक्त रिटमा माधव नेपाल पक्षको ककसको हस्ताक्षर हुन्छ सोही अनुसार एमालेले कारबाही प्रक्रिया अघि बढाउने एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। 'नेपाल समूहका नेतालाई सोधिएको स्पष्टीकरणबारे थप निर्णय हुन्छ। आज अहिलेसम्म जवाफ आएको छैन। अदालतमा सरकारविरुद्ध पर्ने रिटमा ककसले हस्ताक्षर गर्छ -  हेरेर हस्ताक्षर गर्नेलाई कारवाही हुन्छ,' सचिव तामाङले भने। त्यसैगरी सुदुरपश्चिम सरकारबारे समीक्षा हुने र यसबारे पनि केही निर्णय हुने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell